लगानीमैत्री अर्थतन्त्रको विकास किन हुन सकेन ?

अर्थ/वाणिज्य समाचार

जब अर्थतन्त्रका विविध क्षेत्रहरुमा लगानी हुन सक्दैन, तब राज्यले राजश्व आम्दानी पनि गर्न सक्दैन । अर्थतन्त्र चलायमान हुनका लागि लगानी र प्रतिफलको प्रतिक्रिया भइरहनुपर्दछ । लगानी हुन नसकेमा उद्योग, कलकारखाना तथा उद्यमहरु चलायमान हुन सक्दैनन् । यी आर्थिक क्षेत्रहरु चलायमान हुन नसकेको खण्डमा सरकारले राजश्व सिर्जना गर्न सक्दैन । रोजगारीको अभाव हुन्छ । यसले बजारमा श्रमशक्तिको अभाव सिर्जना गर्दछ । उत्पादन हुन नसकेको खण्डमा आयातले प्रश्रय पाउँछ ।

आयातले प्रश्रय पाउँदा मुलुकमा महंगी बढ्दै जाने हुन्छ । फलस्वरुप मुलुकको अर्थतन्त्र कमजोर हुन जान्छ । मुलुकको अर्थतन्त्र कमजोर बनाउनुमा धेरै कुराले प्रत्यक्ष प्रभाव पारेको हुन्छ । त्यसमध्ये सबैभन्दा पुँजीगत अभाव हो । चाहे त्यो सरकारको लगानी होस् या निजी क्षेत्रको, उत्पादनमुलक क्षेत्रमा लगानी हुनैपर्छ । जब उत्पादनमुलक क्षेत्रमा लगानी हुन्छ, तब मात्रै सरकारले राम्रो राजश्व आम्दानी गर्न सक्छ । यसै राजश्वमार्फत सरकारले पुँजीगत लगानी बढाएर यस्ता उत्पादनलाई बजार परिचालन गराउनका निम्ति भौतिक पूर्वाधारहरुमा खर्च गर्न सक्छ । अर्थतन्त्रमा लगानी, पुँजी परिचालन, उत्पादनजस्ता विविध आर्थिक पक्षको एउटा चक्र रहेको हुन्छ ।

हरेक पक्षले एक अर्काेलाई आधार बनाएको हुन्छ । यो आधारलाई जति मजबुत बनाउन सकियो अर्थतन्त्र त्यति नै राम्रो हुँदै जान्छ । तर कुनै एउटा आधारमा समस्या सिर्जना भयो भने अन्य आर्थिक पक्षहरु पनि कमजोर हुँदै जान्छन् । नेपालका सन्दर्भममा विगतमा यस्तै समस्याकै कारण अहिलेको गम्भिर अर्थतन्त्रको सिर्जना हुन पुग्यो । विगतको केही वर्ष पहिलेदेखि नै सुरु भएको समस्याकारण दीर्घकालीन रुपमा आएर अहिलेको गम्भीर अर्थतन्त्र सिर्जना भएको हो । भविष्यमा अर्थतन्त्र सुधार गर्ने हो भने पनि अहिले नै यस्ता समस्याहरु निराकरण गरेर आर्थिक पक्षहरुको चक्रलाई सुधार गर्दै लैजान आजैबाट पहल गर्नुपर्ने हुन्छ ।

नेपालको भौगोलिक अवस्थाका कारण पनि नेपाल आर्थिक चपेटामा पर्ने गर्दछ । भौगोलिक अवस्थाका कारण प्राकृतिक विपत्तिहरुले चुनौती सिर्जना गरिरहेको हुन्छ । यसरी प्राकृतिक विपत्तिका कारण ठूलो धनजनको नाश हुने र सरकारी राजश्वबाट विपत्ति न्यूनीकरण र राहत प्रदानमा खर्च हुने भएकाले पनि लगानीका लागि पुँजी अभाव भइरहेको देख्न सकिन्छ । तर प्राकृतिक विपत्तिका बाहेकको अवस्थामा सरकारको कमजोरी कै कारण मुलुक पछाडि परेको देख्न सकिन्छ । सरकारले उपयुक्त नीति र योजना बनाएर काम गर्न सकेको पाइँदैन ।

सरकारमै रहेका मन्त्री र कर्मचारी वृत्तले आफ्नो सीमित फाइदा बाहेक नहेर्दा अहिले यस्तो आर्थिक दुरावस्था सिर्जना भएको हो । मुलुकमा लगानी छैन, सरकारको राजश्व जम्बो जनप्रतिनिधिसहितको प्रशासनिक खर्च धान्नमै सकिएको छ । मुलुकका लागि भार बनेको प्रदेश सरकार पाल्नुपर्ने अवस्था छ । ठूलो खर्चसँगै महंगी सिर्जना गरेर जनतासँग कर उठाएर लुटतन्त्र मच्चाइएको छ । जनता भागेर जाने ठाउँ छैन । महंगीको मारले जनता थिचिएका छन् । खर्च बढ्दै जाने र आम्दानी घट्दै जाने खराब आर्थिक अवस्था बन्दै गएको छ । यस्तो अवस्था सिर्जना हुनुमा मुलुककै राजनीतिक दलहरुको स्वार्थ रहेको छ ।

आफ्ना कार्यकर्ता र आफन्त भर्ती गर्न सिर्जना गरिएको अव्यवहारिक जम्बो संघीयताले मुलुकको अर्थतन्त्र कमजोर बनाएको सबैलाई विदितै छ । यस्तो अवस्था हुँदा पनि सरकारले अर्थतन्त्रको सुधारमा भन्दा पनि आफ्ना र निकटका फाइदाका लागि मतलब नगरिदिँदा जनता मारमा परेका छन् । अब पनि यो अवस्थाबाट उकासिन पहल गरिएन भने निकट भविष्यमा नै अर्थतन्त्र कोल्याप्स भई मुलक टाट पल्टिने अवस्था स्पष्ट देखिएको छ ।

मुलुकमा लगानी भित्र्याएर वा विदेशमा रहेका नेपालीलाई नेपालमा लगानी गर्ने वातावरण सिर्जना गरेर तत्कालका लागि सरकारले बाटो खुला गरिदिनुपर्छ । आर्थिक क्षेत्रको एउटा पक्षलाई पनि सुधार गर्दै लैजान सकियो भने सबै पक्षहरु दीर्घकालीन रुपमा माथि उठ्दै जानेछन् । सरकारले भ्रष्ट प्रवृत्तिलाई त्यागेर पारदर्शी रुपमा मुलुकको अर्थतन्त्र सुधार गर्नका लागि पहलकदमी गर्न जरुरी छ । सरकारसँग पुँजी नभएको खण्डमा विदेशमा रहेका नेपाली वा वैदेशिक लगानी वा नेपालमै रहेकाहरुलाई सहजीकरण गर्दै जस्तो सुकै अवस्था भएपनि लगानी गर्नका लागि प्रोत्साहन गर्नैपर्छ । नेपाल आर्थिक सम्भाव्यताले धनी मुलुक हो ।

नेपालमा लगानीका धेरै क्षेत्रहरु छन् । तर, त्यसको परिचालन, कार्यान्वयन र सहजीकरण हुन नसक्दा नेपाल पछि पर्दै गएको हो । नेपालमा लगानीका जलविद्युत, पर्यटन, सूचना प्रविधिलगायतका विविध क्षेत्रहरु रहेका छन् । यस्ता क्षेत्रमा लगानी गरेर विदेश निर्यात गर्ने वा मुलुकमै परिचालन गरेर अर्थतन्त्रलाई सुधार गर्न सकिन्छ । अहिले आयातले नेपालको बजार कब्जामा पारेको छ । नेपालमै उत्पादनमुलक तथा अन्य विविध क्षेत्रमा लगानी हुन सक्यो भने आयातलाई न्यूनीकरण गर्दै महंगी घटाउन, रोजगारी बढाउन र समग्रमा सरकारका निम्ति राजश्व आम्दानी पनि हुन जान्छ ।

विश्वको सापेक्षमा नेपालको बजार निकै सस्तो बजार हो । यो सस्तो बजारको उपभोग गर्नका लागि सरकारले सहजीकरण र प्रत्याभूति गराउन जरुरी छ । लगानीमैत्री वातावरण बनाउन सकियो भने अर्थतन्त्रलाई केही अवधिमै अगाडि बढाउन सकिन्छ । लगानी बढाउन सकियो भने रोजगारी सिर्जना, विविध सम्भाव्य क्षेत्रको उपभोग, आर्थिक आम्दानी गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ ।

अब सरकारले लगानीमैत्री वातावरण सिर्जना गर्दै वैदेशिक तथा आन्तरिक लगानीलाई खुला गर्नुपर्दछ । यसका लागि सरकारले लगानीको प्रत्याभूति गर्न जरुरी छ । सरकारमा रहेका र कर्मचारीले भ्रष्ट प्रवृत्ति त्यागेर लगानी गरेर आर्थिक क्षेत्रमा काम गर्न चाहनेहरुका लागि बाटो खुला गर्न जरुरी देखिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *