नेपाल बैंकको कार्यकारी अधिकृत बन्न १९ जनाको भिडन्त

अर्थ/वाणिज्य कर्पोरेट समाचार

काठमाडौं । नेपाल बैंकका कायम मुकायम सीईओ समता पन्त, चिफ क्रेडिट अफिसर लक्ष्मण पौडेल र जोखिम व्यवस्थापन विभाग प्रमुख सुन्दर पन्थी सहित १९ जनाले नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्न आवेदन दिएका छन ।

त्यसैगरि नेपाल बैंककै दुई जना पूर्वकर्मचारी तिलकराज पाण्डे र राजुनाथ खनालले पनि सीईओका लागि आवेदन दिएका हुन् । पाण्डे बैंकका पूर्व चिफ म्यानेजर हुन् भने खनाल पूर्व डेपुटी सीईओ हुन् ।

नेपाल बैंकको सीईओ बन्न राष्ट्रिय वाणिज्य बैंकका डेपुटी सीईओ देवेशप्रसाद लोहनी र कृषि विकास बैंकका डेपुटी जनरल मेनेजर प्रताप सुवेदीले पनि आवेदन दिएका छन् ।

सीईओको प्रतिस्पर्धामा चार्टर्ड एकाउन्टेन्ट सीए कृष्णप्रसाद आचार्य पनि छन् । आचार्य नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)का पूर्वअध्यक्ष हुन ।

यस्तै सीईओका लागि अशोककुमार पौडेल, विभुप्रसाद अर्याल, रामदेव यादव, छपिराज पन्त, विष्णुदेव यादव, प्रमोदबाबु तिवारी, रमेशप्रसाद जोशी, शंकर केसी, सुरेन्द्रभूषण श्रेष्ठ, दीर्घबहादुर अर्याल र ध्रुवचन्द्र गौतमले पनि आवेदन दिएका छन् । आवेदन दिएका १९ जनाबाट छनौट समितिले सर्ट लिस्ट बनाएर अन्तर्वार्ताका लागि बोलाउनेछ । नेपाल बैंकको सीइओ बन्न एक महिला सहित १९ को दरखास्त परेसंगै सबै जना शक्ति केन्द्र धाउने काम भईरहेको छ ।

आवेदन दिएकाहरुले पेस गरेको व्यावसायिक कार्ययोजना योजना हेरेर ६० प्रतिशतभन्दा बढी अंक प्राप्त गर्ने पाँच जनाले अन्तर्वार्तामा सहभागी हुने अवसर पाउनेछन् । पाँच जनाको व्यावसायिक योजना हेरेर क्षमतावान तीन जना मध्येबाट एक जनालाई आगामी कार्यकालका लागि सीईओमा नियुक्त गर्न सञ्चालक समितिमा पेस हुनेछ ।

उक्त पदमा आवेदन दिनका लागि आवेदकले व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक , अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर गरेको हुनुपर्ने उल्लेख थियो । सम्बन्धित क्षेत्रका दश वर्षको कार्य अनुभव भएकाहरुले आवेदन दिन सक्ने प्रकाशित सूचनामा उल्लेख थियो । प्रतिस्पर्धी मध्ये नेपाल बैंकमा कायम मुकायम सीईओ चलाइरहेकी समता पन्त अब्बल मानिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *