चाडबाड र थकान बिदा

राजनीति लेख

नेपालीले मान्ने गरेका ठुला ठुला चाडहरु यस वर्षलाई सकिए । दशैं, तिहार र छठ प्रायः सवै नेपालीको साझा चाडवाड भएकोछ । लामो सरकारी विदा हुन्छ ।यहि बेलामाकर्मचारीलाई चाडवाड खर्च समेत उपलव्ध हुन्छ । शुभकामना आदान प्रदानको तामझाम पनि व्यापकै हुन्छ ।सरकारी तथा गैरसकारी सवै क्षेत्रबाट महत्व दिएको पाइन्छ । यी चाडहरु हिन्दुको भन्ने गरिएता पनि सवै धर्म मान्नेहरुले अनुशरण गरेको पाइन्छ । यी चाडहरु सामाजिक सद्भावलाई मलजल नैं गरिरहेको देखिन्छ । तथापी विगतका खास विशेषताहरु हराउन थालेका छन् । काम गर्ने सहि समयमा लामो विदा, काम नगर्ने,अल्छी गर्ने र अनावश्यक रकम असुल्ने वाहाना पनि भएको छ ।

पैसा असुल्ने वाहाना
कर्मचारीकालागि राज्यले एक महिनाको थपतलब चाडबाड खर्च भनि दिन्छ । यो चलन गैरसरकारी क्षेत्रका पनि सरेको छ । सरकारी निकायहरुमा रहेका केही नियत भएका कर्मचारीलाई पैसा जोहो गर्ने वाहाना पनि भएको छ । व्यवसायीहरुले पनि अनेक वाहानामा पैसा असुल्छन् नैं । चरिकोटबाट काठमाडौं आउँदा दोलखाको कुनै गाउँबाट काठमाडौं आएको बसमा चढ्ने मौका मिल्यो । बसको छतमा टन्न सामान थियो । तिहारको पूर्वसन्ध्या थियो । सायद फूल र फलफुल लगायतका बोराहरु थिए होलान् । बसबाला भन्दै थियो ‘एउटा झोलाको पैसा लाग्दैन अरु बोराको पैसा तिर्नु पर्दछ ।’ २ ठाउँमा ट्राफिक प्रहरीले गाडी रोक्यो, दोलखा र सिन्धुपाल्चोकमा । दोलखामा २० मिनेट जति रोकियो । के के गरि हिसाव किताव मिलाए । बस अघि वढ्यो । डाँडापाखरको आसपासमा त धेरै समय गाडी रोकियो । ३ वटा जती बसले उछिने । चालकसमेत ओर्लेर के के सल्लाह मिलाए । बल्लबल्ल बस चल्यो । त्यस बसको हिसाव किताव गर्नेलाई सोधें, तपाइहरुसँग कागज थिएन ? कागज त थियो तर छतमा सामान भएकोले वाहाना झिके भन्ने उत्तर दिए । के गरी मिलाउनु भयो त भन्ने प्रश्नमा चाडबाड खर्च दिएको बताए ।

सामुहिकताहरायो
धार्मिक महत्व आफ्नो ठाउँमा भए पनि दशैं तिहार भनेको पारिवारिक मिलन हुने सन्दर्भ पनि हो । यदी दशैैंमनिदैनथ्यो भने कतिपयले आफ्नो सन्तान र आफन्त चिन्ने चिनाउने मौका पनि पाउने थिएनन् होला । आफन्तमा टिका लगाउन परिवार सबै लाइन लागेर जाने दृश्य नैं मोहक देखिन्छ ।

पहिल पहिला घटस्थापनाको दिन अर्थात जमरा राखे देखि मनमा हर्ष वढ्थ्यो । घर रंगरोगन गर्न प्याउलीको पात सोर्न जाने, पकाउने, झ्याल ढोकामा लगाउने चलन थियो । त्यो कुरा अब एकादेशको कथा भैसकेको छ । दशैं र तिहारको पूर्व सन्ध्यामा सामुहिक रुपमा बाटोघाटो सरसफाई गर्ने चलन थियो । हरेक गाउँबाट लर्को लागेर कमेरो र रातोमाटो लिन जान्थ्ये । त्यो कता हरायो हरायो । रोटे र लिङ्गे पिङ्ग पनि सामुहिक पहलमा हालिन्थ्यो । पिङ्गको लठारो बाट्नकालागि वन तिर गई बाबियो जोहो गरिन्थ्यो । चिउरा कुट्ने काम हरेक घरमा पालैपालो हुन्थ्यो । यी सवै सामुहिक सहकार्यको पर्यायवाची रहेछ । अहिले त्यो सामुहिकता भन्ने हरायो । पैसाले सवैकुरा थचक्कै थिच्यो । पु¥यो ।

बाहाना वनाइयो चाड
पछिल्लो समयमा मौलिकता ओझेलमा परिरहेको छ ।दशैं र तिहार नाममा काम नगर्ने बाहाना बनिरहेको छ । दशैं तिहार अशोज र कार्तिक महिना पर्दछ । यो कामकाजी महिना हो । यो समयमा न गर्मि हुन्छ न त जाडो नैं । आकाश खुल्ला र सफाहुन्छ । यो समयमा धेरै सिर्जनात्मक काम गर्न सकिने महिनाहरु हुन् तर कम्तीमा पनि १ महिना दशैं र तिहारका नाममा बसेर नैं बिताउँछौं । बर्ष दिन भरीको कमाई यहि चाडमा खर्च गर्दछौं ।अर्थात दशैं तिहारमा खर्च गर्न भनेर नैं बर्षभरी कमाउने जस्तो भएको छ ।

दशैं आउनु १५ दिन अघि देखि नैं कुनै नयाँ काम गर्ने जाँगर लाग्दैन । दशैं पछि गरौंला भनि थाति राख्ने गर्दछौं । अनी दशैैंको लगत्तै पनि लामो विदाबाट आएको हुन्छ केही दिन वानी पार्नमा नैं समय जान्छ । एक डेढ हप्ता पछि त तिहार सुरु भैहाल्छ । तिहार पछि काम गरौंला भन्ने बाहाना दिमाखमा आइहाल्छ ।

दशै र तिहार भनेका प्याकेज हो
दशैं र तिहार धुमधामका साथ मनाउने दिन वढे तर नाम भने खुम्चियो । दशैंलाई ‘विजयादशमी’ मात्र भन्न थालियो । दशमी भनेको त टिका लगाउने सुरु गर्ने दिन मात्र हो । दशैंभनेको घटस्थापना देखि सुरु भैं पुर्णिमासम्मको एक प्याकेज हो । त्यसै गरी तिहारलाई ‘दिपावली’ भन्ने गरियो । त्यो भनेको पनि यम पञ्चमको एक दिन मात्र हो । हाम्रो तिहार भनेको त काग पूजा देखि भाइटिकासम्मको हो ।
अदालत चाँही १५ दिन विदा किन होला ?

केही वर्ष अघिसम्म दशैंमा फूलपातीको दिन देखि पुर्णिमासम्म सरकारी विदा चलन थियो । त्यो बेलामा सवारी साधानहरु थिएनन् त्यसैले आफन्तको टिका लगाउन, भेटघाट गर्न, आशिर्वाद लगाउन धेरै दिन आवश्यक पर्दथ्यो होला । अहिलको अवस्था त्यस्तो छैन । सवै तिर गाडी सुविधा भैसक्यो । टिकाको दिनको भोलीपल्टसम्म विदा दिनु भनेको पहिला पहिलाको पूर्णिमासम्म दिने बिदा बरावर हुनसक्छ । अहिले भौतिक सुविधाहरु धेरै वढेको छ । त्यसैले सरकारी विदा यति धेरै दिन जरुरी छैन । अदालत घटस्थापना देखि पुर्णिमाको दिनसम्म विदा दिने चलन छ । मुद्दाको चाप परेको छ भनिन्छ तर किन यति लामो विदा गरेको होला ?
यस्ता चाडवाडलाई नियमित कर्मसँग जोड्न आवश्यक छ । सम्पन्नले त धुमधामसँग मनाउँदा रमाईलो नैं होला तर दिनभर काम गरेर बेलुका हातमुख जोर्ने वर्गकालागि यस्ता चाडवाड अभिसाप भएको पनि पाइएको छ । यस्ता चाडबाडलाई यति धेरै महत्व दिनु हुँदैन । यस तर्फ विचार गर्नु पर्ने देखिन्छ ।

थकान विदा थपियो
संविधान दिवसको भोली पल्ट एक स्थानीय तहले कर्मचारी र जनप्रतिनिधिहरुलाई थकाइ लागेकोले विदा दियो । त्यसलाई ‘थकान विदा’ भन्ने नामाकारण सहित सामाजिक सञ्जालमा भाइरल नैं भयो । अहिले तिहारको टिकाको भोलिपल्ट पनि त्यस्तै विदा थपिएको छ । ४,५ वर्ष अघिसम्म भाईटिकाको भोली पल्ट विदा दिने चलन थिएन । अहिले छ । यस पटकको दशैंमा कार्तिक ४ गते देखि ९ गतेसम्म लगातार विदा भयो अनी १० गते सुक्रबार के कार्यालय खुल्यो होला र ? आफैले थकान विदा मनाइयो होला ।

१० गते शनिवार विदा हुने नैं भयो । ८ दिन कार्यालय चलेनन् । कार्तिक २५ गते शनिवार भयो । कार्तिक २६ लक्ष्मी पुजा, २७ मा गाई पूजा, २८ गोरु पूजा अनी २९ गते भाइटिका विदा हुनेनैं भयो । विगतमा लक्ष्मी पूजा र गाई तिहार एकै दिन हुन्थ्यो । यसपाला २ दिन भयो । भाईटिकाको भोलीपल्ट थकान विदा पनि सरकारले उपहार दियो । अनी त्यसको भोलीपल्ट मंसीर १ सुक्रवार थियो । हालत उही भैहाल्यो, आधा दिन कार्यालय के जानु भन्ने नैं भयो होला । मंसीर २ शनिवार, ३ गते छठ पूजा विदा हुने नैं भयो । त्यसै गरी मधेश प्रदेशमा त ४ गते पनि थकान विदा भयो । सरकारी कार्यालयमा विदा माथि विदा ।

अन्त्यमा,दशैं र तिहार भनेको चाडहरुको प्याकेज हो । दशमी र दिपावलीमा मात्रनबदलौं । अनी सकि नसकि असाध्यै महत्वको रुपमा यी चाडहरुलाई नहेरौं । लामो सरकारी विदाको कारणले पनि राज्यले हिन्दु केन्द्रीत चाडवाडलाई असाध्यै धेरै महत्व दिएको भान परेको छ । अनी यहि कारण काम आलटाल गर्ने वाहाना पनि भएको छ ।समिक्षा गरौं । त्यसैले यी चाडहरुलाई नियमित र सहजरुपमा मनाइनु पर्दछ । साउने संक्राती र माघी जस्तै महत्व दिंदा कसैलाई पनि घाटा हुँदैन । यस पटक त अरु वर्षको तुलनामा शनिवार समेतका कारणले दशैं र तिहार दुवैमा धेरै दिन सरकारी विदा परेको थियो । यसले पक्कै पनि मुलुकलाई समृद्धि वनाउन योगदान गर्दैन । अदालतमा दशैंको नाममा १५ दिन विदा दिने प्रचलनलाई पनि समिक्षा गरौं । यति लामो विदा अहिलेको सन्दर्भमा सुहाउने विषय पक्कै होइन । धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *