‘साटो’ भन्नाले हामीले फिर्ता गर्ने गरी लगेको भन्ने वुझ्ने गर्दछौं । झट्ट सुन्दा सामानसँग साटासाट जस्तो लाग्दछ । तर यो शब्दावली बिहेवारीसँग सम्वन्धीत छ । केही दशक अघिसम्म केटीहरुको साटो गर्ने चलन थियो । कसैको छोरी चेली कुनै केटालाई दियो भने केटा तर्फकाले कुनै केटी विवहाकोलागि व्यवस्था गरिदिनु पर्दथ्यो । त्यसैलाई ‘साटो’ भनिन्थ्यो । यस्तै साटोको परिवेशमा रहेर विवहा गर्न वाध्य भएको एक जोडीको चर्चा गर्दैछौं । यस जोडीको विवहा गर्दा केटी ६ र केटा ७ उमेरका रहेका थिए ।
पुरानो श्रृखलामा जोडिएको कहानी
यस स्तम्भको केही अंक अघि २०८० कार्तिक १५ गते ‘सन्तानकी धनी मनकी खानी च्याप्जु आमा’ शिर्षकमा एक सामाग्री प्रकाशन भएको थियो । उहाँ च्याप्जु आमाका २०० भन्दा वढि सन्तान भएको दृष्टान्त उल्लेख थियो । ती आमाको तेस्रो सन्तान छोरीको सन्दर्भलाई लिएर आजको श्रृखलामा उल्लेख गर्ने कोशिस गरिएको छ । च्याप्जु आमा १५ वर्ष हुँदा जेठो छोरो जन्मेको थियो । त्यसै गरी १७ वर्ष दोस्रो सन्तान छोरी अनी १९ बर्ष हुँदा २०१२ सालमा तेस्रो सन्तान पनि छोरी जन्मीएको रहेछ ।
ती तेस्री छोरीको नाम लक्ष्मी राखिएछ । जब लक्ष्मी ५ वर्षको जती हुनु भएको थियो । उहाँको वुबाले तेस्री श्रीमती ल्याउनु भएछ । जस्को परिवारबाट श्रीमती ल्याउनु भयो, त्यस घर परिवारसँग संझौता भएछ, एक केटीको व्यवस्था गरिदिने भनेर । अनी आफ्नी छोरी लक्ष्मीलाई एक टुहुरो कोइराला थरको केटालाई दिने र त्यो केटाको दिदीलाई आफुले ल्याएको केटीको घरपरिवारकालाई दिने सहमती भएछ । केटी साटासाट अर्थात ‘साटो’ ।
लक्ष्मी जन्मेको १ बर्ष अघि नैं अहिलेको शैलुङ्ग गाउँपालिका वडा नं. ४ मागा विर्ता भन्ने स्थानमा मायानाथ कोइरालाको जन्म भएको रहेछ । जन्मेको ५ बर्ष भित्रै बाबुआमा वितेछन् । मायानाथ र उहाँको एक दिदी टुहुरा भए । नाम्थाजोरमा रहेका मामाहरुले उतै लगेर हेरविचार गरिरहेका रहेछन् ।
बच्चाबच्चीको बिबहा
‘साटो’ को सहमती अनुसार लक्ष्मी र मायानाथ कोइरालाको विवहा हुने भएछ, माघ ७ गते । त्यो बेलामा उहाँहरुको उमेर ६ र ७ बर्ष पुगेको रहेछ । विवहा पनि कुम्ले रे । त्यो भनेको वेहुलीको घर नजिकै आउने र साटकसुटक गर्ने विहेलाई कुम्ले भनिंदो रहेछ । तथापी बेहुलो सहितको जन्ती माटीमा बास बसेर वेहुली भएको घर पञ्चेबाजा बजाएर लगेको थियो रे । माघ ७ गते उहाँहरुको विवहा अनी ८ गते बेहुलीको काकाको पनि विवहा रहेछ । त्यही भएर ७ गतेको विहेका जन्ती भोली पल्ट अर्थात माघ ८ गते विहान त्यही भतेर खाएर बेहुला र वेहुली नलिइ जन्तीहरु फर्किएरे । कसतो अचम्म, दुलाहा दुलही विनाको जन्ती । त्यो बेलामा गोडा धुएको पैसा पनि ४५ रुपैया भएछ । त्यो बेलामा त्यती रकम ठुलै हो ।
मायानाथ र लक्ष्मीको विवहा त भयो तर अर्को सर्त थियो, बेहुलो मायानाथको दिदीको विहे गरिदिने । त्यो बिवहा चाँही माघको १५ गते नैं भएछ । हामीलाई यो साटोको जञ्जाल वुझ्नै कठिनै पर्दछ । ७ गते लक्ष्मी र मायानाथ विवहा, ८ गते लक्ष्मीको काकाको विवहा अन्माएको अनी १५ गते अर्को विवहा वुझेर साध्यनैं छैन ।
२०११ सालमा जन्मिएका मायानाथ कोइराला मामाघर तिर नैं धेरै बर्ष बस्नु भएछ । त्यतैबाट विहावारी भएको थियो । ७ वर्ष हुँदा विवहा भए पनि श्रीमती विना नैं १४ वर्षको उमेरसम्म मावली तिरै बस्नु भयो । १४ वर्ष हुँदा केही काम गर्नु प¥यो भनि आफ्ना दिदी भिनाजु भएको स्थान सर्लाहीको मलंगवा तिर लाग्नु भएछ । दोलखाबाट हिडेंको पहिलो दिन रामेछापको गाईखुरामा बास वस्नु भएछ । दोस्रो रात सिन्धुलीको खुर्कोटमा अनी तेस्रो रात चाँही सिन्धुलीगढि नजिकैको निगाले भन्ने स्थानमा बास परेछ । महोत्तरीको खयरमारामा पुग्दा गोडामा खिल परेर हिड्न नसक्ने अवस्थामा पुग्नु भएछ । नजिकै लक्षुमनिया भन्ने ठाउँमा भिनाजुको जागिर भएकोले त्यही वस्नु भएछ । अनी अर्को दिन काठ वोक्ने गोरुगाढा चढि मलंगवा पुगेको अनुभव र सास्ती अनौठो अनुभुती संगाल्नु भएको रहेछ ।
एक सालोलाई पढाउनु पर्दछ भनी भीनाजुले स्कुल भर्ना गराइदिनु भएछ । पढ्न जाँगर लागेन रे अनी स्कुल समयमा पोखरीमा खेल्ने माछा मार्ने तिर जाँगेर चलेछ । त्यो बेलामा राजघाट भन्ने ठाउँमा वन फाँडेर खेती योग्य जमिन वनाउने लहर चलेको रहेछ । अल्लारे कोइराला पनि त्यतै मिसिनु भएछ अनी ४ विगाहा जती जङ्गल पनि फाँड्नु भएछ । पढ्ने र तराईको खेती दुवै कुरामा मन अडिएनछ अनी लाग्नु भएछ फेरी दोलखा तिरको उकालो ।
विवहा त सानैमा भयो । तर त्यो भनेको के हो मेसो नैं थिएन । लक्ष्मी माइतमा नैं बसिरहनु भएको थियो । घरमा जान र बस्न मन भएनछ । एक दुई पटक घर भएको स्थान मागा नगएको पनि होइन तर मन अडिएनछ । अनी लाग्नु भएछ, काठमाडौं तिर । ललितपुरको सातदोबाटो नजिकै रहेको एक बोर्डिङ्ग स्कुलमा भान्सेको काम पाउनु भएछ, महिनाको रु १५ पाउने गरी । दैनिक १४० जनालाई खाना पकाएर खुवाउनु पर्ने जागिर थियो । घर नजाने कहिले माइत कहिले जागिर खान काठमाडौं जाने आफुलाई वेवास्ता गरेकोमा तन्नेरी मायानाथलाई झोक चलेछ । सम्वन्ध तोड्ने वा घर जानु पर्ने भनि अड्डा अदालतको ढोका ढक्ढक्याउनु भएछ । तर फेरी मिलापत्र भएर दुवै जना मिलि घरजम गर्ने सल्लाह भएछ । दुवै जनाको बसोबास काठमाडौं तिर हुने टुङ्गो भयो । लक्ष्मीको पहिला देखि नैं जागिर थियो । मायानाथ पनि काठमाडौं आएर यती ट्राभल नाम गरेको कम्पनीमा मासिक रु. १ सय ५ आउने जागिर खान थाल्नु भयो । त्यस पछि भने मायानाथ र लक्ष्मी श्रीमान् श्रीमती भएको महसुस भयो रे । त्यो बेलामा उमेर १९ र २० भएको थियो ।
सुरुका दिन थिए काठमाडौंमा, संघर्ष त हुने नैं भयो । दुवैजनाले दिलो ज्यान लगाएर काममा क्रियाशिल हुनु भयो । मेहनत गर्दै जाँदा अलि अलि पैसा पनि जम्मा भयो । कोटेश्वरको बालकुमारी नजिकैं ४ आना जग्गा किन्नु भएछ, २०४० साल तिर । त्यती बेला रु २२ हजार ५ सय मूल्य परेछ । यती बेलासम्म ३ वटा छोराहरु पनि जन्मी सकेका थिए । जिम्मेवारी वढ्दै थियो ।
२०४२ साल तिर कोटेश्वरमा एक होटल पनि चलाउनु भएछ । होटलको कुरा आउनासाथ उहाँहरुको अनुहारमा चमक आयो । राम्रो पैसा कमाउन सफल भएको मौका रहेछ क्यार । मोहोर कप चिया, मोहरै गोटा पर्ने सेल कति वेच्नु भयो कति । शुद्ध दुध एक गिलासलाई रु एक पर्दथ्यो रे । विक्रि राम्रो हुन थाल्यो । दुधको माग वढ्न थाल्यो, अनी नलिञ्चोकबाट दैनिक ४ पाथी भैंसीको विशुद्ध दुध मगाउने गरेको थियो रे । त्यो दुधको तरबाट घिउ बनाउने अनी दुध नैं बेचेर मनग्गे आम्दानी भएछ । यहि मौकामा केही पैसा जोहो भयो र किनेकै घडेरीमा घर वनाउन सफल हुनु भएछ । मायानाथ ५५ बर्षको हुँदा जागिर पनि छाड्नु भयो । महिनामा रु १ सय ५ पाउने गरी खाएको जागिर छाड्ने बेलामा ३५ हजारसम्म पुगेको रहेछ ।
अहिले उहाँको माहिला छोराको सपरिवार यूरोपमा छन्, जेठी बुहारी पोल्याण्डमा । २०४० सालमा कोटेश्वरको बालकुमारीमा २२ हजार ५ सयमा किनेको जग्गामा त्यो बेलामा बनाएको घर भत्क्याएर केही वर्ष अघि मात्र ५ तले घर बनेको छ । त्यो घर व्यबसायीलाई भाडामा दिएर अहिले आफु इमाडोलमा बस्नु हुन्छ । २ छोरा र नाती नातिनीको साथमा बसोबास गरिरहनु भएको छ । जेठो छोरो सरकारी जागिरमा अनी कान्छो छोरा व्यवसायी छन् । सानाको दुःख संझदै अहिले जीवन सहज छ । तर पनि मनका आंकाक्षा अझै बाँकी नैं छन् । उहाँहरु दुवैको दिर्घ र स्वस्थ्य जीवनको कामना । (तामाकोशीसन्देशबाट)