रक्षामन्त्री मुकदर्शक, सेनाभित्र विकृतिको चाङ

राजनीति समाचार

काठमाडौं । गठबन्धन सरकारबाट रक्षामन्त्री बनेका पूर्णबहादुर खड्काले राम्रोसँग रक्षामन्त्रालय सम्हाल्न नसकेको आरोप लागिरहेको छ । हुन पनि रक्षामन्त्री खड्काले सेनाभित्रको भ्रष्टाचार र अनियमितता रोक्न सकेका छैनन् । उता फस्ट्र्याकको काममा आफू अनुकूलको कम्पनीलाई ठेक्का दिएबापत आएको कमिसन रक्षामन्त्रालय र उच्च तहका सेनाहरुले बाँडीचुँडी खाएको आरोप पनि लाग्न थालेको छ ।

रक्षामन्त्रालय खड्काले सम्हालिरहँदा सेनाभित्रको विकृति र विसंगतिहरुलाई पनि हटाउन नसकेको आरोप उनीमाथि लाग्दै आएको छ । त्यसको पुष्टि नेपाली सेनाका रथी ताराध्वज पाण्डेको राजनीनामाले गरेको छ । त्यस्तै अर्का रथी अशोकराज सिग्देलविरुद्ध पनि अख्तियारमा उजुरी परेको छ । तर, नेपाली सेनाले सिग्देललाई भावी प्रधानसेनापति बनाउन खोजिरहँदा उनीमाथि पनि उजुरी परिरहेको छ ।

उक्त उजुरीको छानविन कहिले टुंगिने हो भन्ने एकिन छैन । नेपाली सेनाका उपरथी नारायण सिलवाललाई अबकास हुने बेलामा विशेष बढुवा गरेर रथी बनाइएको छ । अर्थमन्त्रालयबाट स्वीकृति नलिईकन सिलवाललाई रथीमा बढुवा गरिएको थियो । त्यो गर्नु भनेको आर्थिक चलखेल नै हो । त्यस्तै केही महिना अगाडि सेनाका कुमारबाबु थापालाई सेनाभित्र विवाद हुँदाहुँदै उपरथी बनाइएको थियो ।

उता दुई पटक कोर्ट मार्सलमा परेर नसियत भोगेका सन्तोष बल्लभ पौडेल आफू बढुवा हुनको लागि विभिन्न शक्ति केन्द्रमा धाइरहेको बताइन्छ । त्यसकारणले पनि रक्षामन्त्री खड्काले सेनाभित्र हुने गरेको विकृति, विसंगति हटाउन नसकेको प्रमाणित हुन्छ । नेपाली सेनाले रक्षामन्त्रालयमा विभिन्न कामको लागि पठाएको फाइलहरु स्वीकृति नगरेर उल्टै भूकम्पको बहाना बनाएर मन्त्रालयमा अनुपस्थित हुने गरेको बताइन्छ ।

यस्तै अवस्था रक्षा मन्त्रालयमा रहिरहने हो भने आउँदा दिनमा नेपाली सेनाभित्र हुने गरेका विकृति, विसंगति, भ्रष्टाचार, शैक्षिक योग्यता, जन्ममिति जस्ता विषयको विवाद झन् चुलिँदै जाने देखिन्छ । त्योसँगै विदेश भ्रमणमा जाँदा हुने खर्च र नेपाली सेनालाई शान्ति सेनामा पठाउँदा लिएको कमिसनको समाचार पनि नआउला भन्न सकिँदैन । तर, रक्षामन्त्री खड्काले सेनाभित्रको विकृति र विसंगतिका विषयमा ध्यान नदिने हो भने रक्षामन्त्रालय झन् बद्नाम हुँदै जाने देखिन्छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *