एनसेल र नेपाल टेलिकममा बिचौलियाको बिगविगी

अर्थ/वाणिज्य राजनीति समाचार

काठमाडौं । दूरसञ्चार र सरकारबीच टेरामक्स प्रणाली लागु गर्ने विषयलाई लिएर वाकयुद्ध चलिरहँदा एनसेल कम्पनीले पनि ‘होस्टेमाथि हैसे’ गर्दै टेरामक्स लागु नगर्नको लागि न्वारनदेखिको बल निकालेर लागेको छ । एनसेल कम्पनीले टेरामक्स लागु गर्न नदिन विभिन्न शक्तिकेन्द्रदेखि उच्च निकायका पदाधिकारीहरुलाई प्रयोग गरिरहेको छ । त्यसकारण सरकार र दूरसञ्चार प्राधिकरणबीच समन्वयकारी भूमिका हुन सकेको छैन ।

त्यस्तै उता नेपाल टेलिकम भित्रको भ्रष्टाचारलाई लिएर तत्कालीन प्रवन्ध निर्देशक सुनिल पौडेललाई गत असोज १५ गते अख्तियार दूरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेपछि पौडेल निलम्बनमा परेका थिए । अहिले पौडेलको ठाउँमा संगीता पहाडीलाई निमित्त प्रवन्धनिर्देशकको जिम्मेवारी दिइएको छ । तर, नेपाल टेलिकमभित्र अहिले सो पदपूर्तिको लागि विज्ञापन पनि आह्वान गरिएको छैन ।

सञ्चारमन्त्री रेखा शर्मा संगीता पहाडीलाई नै प्रवन्ध निर्देशक बनाउने मनसाय देखाए तापनि सरकारले त्यसप्रति ध्यान दिएको छैन । नेपाल टेलिकमभित्र संगीता पहाडीभन्दा जेष्ठतामा मिनु प्रधान, राधाकृष्ण ढुंगेल, विनिता डंगोल अगाडि छन् । यदि प्रवन्धनिर्देशक नेपाल टेलिकम भित्रैबाट बनाउने हो भने रोलक्रमको आधारमा माथि उल्लेखित तीनजना मध्येबाट एक हुने छन् । तर, नेपाल टेलिकमको प्रवन्धनिर्देशक बन्नलाई भूपेन्द्र भण्डारी न्वारनदेखिको बल निकालेर लागिपरेका छन् । भण्डारी अहिले सञ्चार मन्त्रालयमा प्राविधिक सल्लाहकार रहेका छन् । भण्डारी विचौलिया उपेन्द्र महत्तोको दाहिने हात मानिन्छन् ।

महत्तोले पनि भण्डारीलाई टेलिकमको प्रवन्धनिर्देशक बनाउनको लागि राजनीतिक दलहरुसँग सामदामसहित लभिङ्ग गरिरहेको बताइन्छ । यदि भण्डारी टेलिकमको प्रवन्धनिर्देशक बनेको खण्डमा विचौलिया महत्तोसहित केही राजनीतिक दलका नेता र माफियाहरुले राम्रै फाइदा लिने देखिन्छ । नेपाल टेलिकमभित्रको विकृति र विसंगति र भ्रष्टाचार झन् मौलाउँदै जाने छ । यदि भण्डारीलाई प्रवन्धनिर्देशक बनाउने हो भने नेपाल टेलिकम अहिलेकोभन्दा झन् धरासायी बन्ने कर्मचारीहरुको आँकलन छ ।

कुनैबेला राज्यलाई सबैभन्दा धेरै कर तिर्ने र नाफा कमाएको कम्पनी भनेर नेपाल टेलिकमलाई लिइन्थ्यो । तर, राजनीतिक दलको भर्तीकेन्द्र र कर्मचारीहरुको भ्रष्ट चरित्रले गर्दा टेलिकम दिनप्रतिदिन ओरालो लाग्दै गएको आरोप लाग्दै आएको हो । तत्कालीन प्रवन्ध निर्देशकहरु प्रायजसो भ्रष्टाचारमा मुछिएका छन् । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *