काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरको दौडमा रहेका नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टले राजीनामा दिएका छन् ।
दलीय भागबण्डामा प्रधानमन्त्री केपी शर्मा ओलीले गभर्नर पद कांग्रेसलाई दिन तयार भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यकारी निर्देशक भट्टलाई गभर्नर बनाउन अगाडी सारेपछि उनले शुक्रबार कामु गभर्नर निलम ढुंगानालाई राजीनामा दिएका हुन् ।
भट्टले राजीनामा दिएपछि उनको राजीनामा स्वीकृत भए नभएको भने जानकारी प्राप्त भएको छैन । हाल राष्ट्र बैंकमा कार्यकारी निर्देशक रहेका डा.गुणाकर भट्ट जुनियर भएको प्रश्न भने उठेको छ । वरीयताका हिसाबले भट्ट राष्ट्र बैंकमा दुई डेपुटी गभर्नर र दुई कार्यकारी निर्देशकपछि पाचौं नम्बरमा छन् । अमेरिकाबाट अर्थशास्त्रमा पिएचडी गरेका भट्ट काँग्रेस निकट हुन् ।
यसअघि गभर्नरको दौडमा रहेका रवीन्द्र पाण्डे र राजेन्द्रकिशोर क्षेत्री उमेर हदसम्बन्धी व्यवस्थालाई लिएर दायर भएको रिटमा सर्वोच्चबाट आएको आदेशपछि उनीहरु दुवै जना गभर्नरको दौडबाट बाहिरिएका थिए ।
भट्टको राजीनामाले सरकारले गभर्नर नियुक्ति सिफारिस गर्न उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा पूर्वगभर्नर विजय भट्टराई र अर्थविद् विश्व पौडेल सम्मिलित समितिको बैठक समेत छिटै बस्ने बताइएको छ ।