मन्त्रिमण्डल फेरबदलको सम्भावना बढ्दै

राजनीति समाचार

काठमाडौं । गठबन्धन सरकार बनेको वर्षदिन पुग्न लागिसकेको छ । तर, सरकारमा रहेका मन्त्रीहरु फेरबदल गर्ने भनेर राजनीतिकवृत्तमा हल्ला गरिए तापनि अहिलेसम्म मन्त्रिमण्डल फेरबदल भएको छैन । सबैभन्दा पहिला गृहमन्त्री फेर्नुपर्ने आवाज राजनीतिकवृत्तमा उठे तापनि अहिलेसम्म फेरिएका छैनन् । अझै पनि सरकारमा रहेका मन्त्रीहरु फेरबदल गर्ने हल्ला चलिरहेको छ । केही साताभित्र मन्त्रिमण्डल हेरफेर हुने आँकलन पनि गरिँदै छ ।

फेरिने मन्त्रीहरुमा माओवादी केन्द्रबाट गृहमन्त्री बनेका नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट भौतिक, पूर्वाधार तथा यातायात मन्त्री बनेका प्रकाश ज्वाला, माओवादी केन्द्रबाट सूचना तथा सञ्चार प्रविधि मन्त्री बनेकी रेखा शर्मा, नेपाली कांग्रेसबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेका रमेश रिजाल, कांग्रेसबाटै स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका मोहनबहादुर बस्नेत, एकीकृत समाजवादीबाट कृषि तथा पशुपन्छी विकास मन्त्री बनेका बेदुराम भुसाललगायतको नाम चर्चा थियो । तर, राजनीतिक दलहरुको आन्तरिक मनमुटाबका कारण फरकफरक धारणा आउँदा मन्त्रिमण्डल फेरबदल हुन सकेको छैन ।

ती मन्त्रीहरु पनि विभिन्न कारणले विवादमा तानिँदै गएका छन् । तर, प्रधानमन्त्री प्रचण्ड जलवायु परिवर्तसम्बन्धी सम्मेलन (कोप–२८) मा भाग लिन आज दुबई जाँदै छन् । सो सम्मेलनमा जलवायु परिवर्तनले नेपाललाई पु¥याएको असरबारे कुरा उठाउने प्रधानमन्त्री प्रचण्डको भनाइ छ । सो सम्मेलनबाट प्रधानमन्त्री प्रचण्ड नेपाल फर्किपछि राजनीतिकवृत्तमा छलफल गरी मन्त्रिमण्डल हेरफेर गर्ने सम्भावना पनि रहेको छ । त्योसँगै दूर्गा प्रसाईंले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध नारावाजी गरी हिन्दू राष्ट्र स्थापना र राजतन्त्र फर्काउने आन्दोलन गरिरहँदा एमाले बाहेक अन्य राजनीतिक दलहरुले खासै विरोध गरेका छैनन् ।

यदि साच्चीकै हिन्दू राष्ट्रसहित राजतन्त्र स्थापना गर्ने आन्दोलन प्रसाईंले गरेका हुन् भने यो आन्दोलन लम्बिने छ । होइन भने उक्त आन्दोलन त्यसै सामुसुम हुने र राजनीतिले एउटा निकासा पाउने पनि आँकलन गरिएको छ । तर, मेडिकल व्यवसायी दूर्गा प्रसाईंको आन्दोलनलाई छिमेकी मुलुक भारतले भित्री रुपमा हिन्दू धर्म र राजतन्त्रको बारेमा आवाज उठाउन प्रयोग गरेको आरोप लागिरहेको छ । दूर्गा प्रसाईंले पनि आन्दोलनको स्वरुप र नारा बदलिरहेका छन् ।

प्रसाईंले आन्दोलनको स्वरुप, नारा र एजेन्डा फेर्दै गएपछि उनका समर्थक पनि घट्दै गएको अनुमान गरिएको छ । प्रसाईं कहिले बैंक तथा बित्तिय संस्था विरुद्ध नारा लगाउँछन्, कहिले राजनीतिक व्यवस्था विरुद्ध नारा लगाउँछन् त कहिले व्यक्तिपिच्छे गालीगलौज गर्दै हिड्छन् । त्यसलाई टेकेर सामाजिक सञ्जालमा पक्ष, विपक्ष धारणाहरु आइरहेका छन् । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *