दोलखाको भीमेश्वर नगरपालिका वडा नं. ७, ८ र ९ का बासिन्दाहरु अधिकांशको व्यवसाय कृषि नैं हो । यी वडाहरुमा लामोसाँगु जिरी सडक आसपासमा तरकारी खेती प्रसस्तै देख्न सकिन्छ । त्यहाँका एक परिवारको जग्गा जमिन कति होला ? १० वा २० रोपनी होला । त्यो जग्गामा खेती किसानी गरेर छोरा छोरी पठाउने, चाडबाड मान्ने, स्वास्थ्य उपचार गर्ने लगायतका जिविकाका सवै प्रकृयाहरु चलाएका छन् । यसको मतलब त्यो जमिनलाई उत्पादनशिल बनाएका छन् । तर तीनैं परिवार सदस्य भएको सामुदायिक वनहरु उत्पादनमूलक हुन सकेका छैनन् । किन होला ? सामुदायिक वनमा स्रोत छ तर सम्पत्ति वनाउन सकिएको छैन । स्रोतमा मानविय शक्ति प्रयोग भैं सम्पत्ति हुन सकेन । यसबारेमा केही चर्चा गर्न कोशिस गरिएको छ ।
सामुदायिक वनको स्वमूल्यांकन र दूरदृष्टि
साउथएसिया एन्सीच्युट अफ एडभान्स इस्टडिजले दोलखाका केही सामुदायिक वनहरुमा नियमित संवाद गरिरहेको छ । संवादले सामुदायिक वन र उपभोक्ताहरुको वदलिंदो परिवेश अनुसार आपसमा विश्लेषण, छलफल र सो अनुसार नयाँ कार्यक्रमहरु तर्जुमा गर्न नसकेको निष्कर्श उपभोक्ताका अगुवाहरुले निकाले । यस क्रममा दोलखाका सामुदायिक वनहरुको छाता संस्था फेकोफनको छलफल तथा वन उद्यमीहरुको संवाद समेत भयो । केही सामुदायिक वनहरुले विगतलाई संझदै अहिलेको अवस्थाको विश्लेषण गर्ने र नयाँ गन्तव्य निर्धारण गरिरहेका छन् । सो गन्तव्य प्राप्तीकालागि कार्यमूलक योजना वनाउन लागिरहेकाछन् ।
यसै सिलसिलामा भीमेश्वर नगरपालिका वडा नं. ८ मा रहेको ढाँडे सिंहदेवी सामुदायिक वन उपभोक्ता समूहले दूरदृष्टिमा आधारित योजना तर्जुमा कार्यशाला आयोजना गरेको थियो । सो २ दिने कार्यशालामा सामुदायिक वनका समिति, अगुवा, पूर्व पदाधिकारी तथा वनका वारेमा जानकारहरुको सहभागीता थियो ।
सामुदायिक वन हुनु अघि उजाड हुनै लागेको वन क्षेत्र थियो । सामुदायिक वन गठन भयो । विधान र वन कार्यायोजना निर्माण परिमार्जन समेत भयो । उपभोक्ता सामुहिक रुपमा जुटे । मानविय पहल गरेर हरियाली वनाए त्यो पनि स्रोत मात्रै भयो । सहि उपयोग हुन सकेन । यस सामुदायिक वन क्षेत्र भित्र मछिनो, चिराइतो, ढालिङ्गो, लोक्ता, अर्गिली, पाखनवेद, एक्ले बाँको, ठुलोओख्तो, लौठ सल्ला, अल्लो, खश्रु, विभिन्न जातको काठ लगायतका प्रचुर स्रोतहरुको रहेको पाइयो । ती स्रोत मात्रै भइरहे ।
सामुदायिक वनका अगुवाहरुले वन र समुदायको अवस्था चिरफार गरे । विगतलाई संझँदै अहिलेको अवस्था लेखाजोखा गरे । अनी १० वर्ष पछि समुदाय र वनको अवस्था आंकलन गरी दूरदृष्टि तयार गरे । सो प्राप्तीकालागि सामुहिक निर्णय व्यक्तिगत जिम्मेवारी तोकि कार्ययोजना निर्माण गरेका छन् । त्यो योजना टोलतहमा छलफल गर्दै साधारण सभाबाट पारित गरि लागु गर्ने अठोट जनाएका छन् ।
सामुहिक स्वामित्व नीजि व्यवस्थापन
विगतको अवस्था संझदै अहिलेको अवस्था लेखाजोखा गर्ने क्रममा उजाड हुन लागेको वन क्षेत्रलाई हरियाली बनाउनु गौरब लाग्दो पक्ष भन्ने औल्याए तर त्यो हरियालीलाई आर्थिक समृद्धिसँग जोड नसक्नुले सामुदायिक वन अभियान प्रति नैं प्रश्न चिन्ह खडा भएको बताए । विगतमा वन र उपभोक्ताको दैनिकी जोडिएको थियो तर अहिले त्यो अबस्था नरहेको औंल्याए । यस सामुदायिक वनमा ३७२ घरधुरी रहेका छन् । सामुदायिक वनको क्षेत्रफल ३४२ हेक्टर रहेको छ । सामुदायिक वनमा आवद्ध रहेको घरधुरी परिवारलाई वाँडफाँट गरी व्यवस्थापन गर्ने जिम्मा लगाउने हो भने प्रति परिवार झण्डै एक हेक्टर पर्ने देखियो । नीजि १० रोपनीले ५ जनाको परिवार पाल्ने शिक्षा दिक्षा, स्वास्थ्य उपचार सबै खर्च धान्ने गरेको छ । तर त्यो भन्दा वढि क्षेत्र भएको सामुदायिक वनबाट किन उपलव्धी हुन नसकेको चर्चा भयो ।
यस वनमा काठको अलावा जडिवुटीको अथाहा भण्डार रहेको छ । यसलाई दिगो संकलन, प्रशोधन तथा वजारीकरणमा ध्यान गएकै छैन । यता तिर राष्ट्रिय स्तरको वहस संवाद गरी नीति तथा कार्यक्रम तर्जुमा गरी ईच्छाशक्ति सहित कार्यान्यवन गर्न जरुरी छ । यसकालागि सामुहिक वा सामुदायिक स्वामित्व तर नीजि व्यवस्थापनमा जान जरुरी देखियो । स्रोत जोगाउन वा वढाउन समुदाय सफल देखियो तर वजारमुखी सदुपयोगमा प्रभावकारी देखिएन । त्यसैले सामुदायिक स्वामित्व नीजि व्यवस्थापन तर्फ पनि संवाद गरि केही प्रयोगात्मक अभ्यास पो गर्ने हो की ?
ढाँडे सिंहदेवी सामुदायिक वनले विपन्नमुखी कार्यक्रमको कोसिस पनि नगरेको होइन । सवै भन्दा कमजोर रहेका विपन्नलाई २० परिवारलाई प्रति परिवार ७ हजारका दरले बाख्रा पालन गर्न दिएको थियो । त्यस्तै ९ परिवारलाई कुखुरा पालनकोलागि प्रति परिवार ६ हजारको दरले विना व्याजमा रकम लगानी नगरेको पनि होइन । त्यसको प्रतिफल सकरात्मक नभएको अनुभुती सामुदायिक वनका अगुवाहरुको रहेको पाइयो ।
सामुदायिक वनमा सहभागीताको पृष्ठभूमि हेर्दा सुरु सुरुमा सवै घर परिवारबाट उत्साहजनक सहभागीता हुने गर्दथ्यो तर अहिले गणपुरक संख्या नपुगेर २ पटक साधारण सभा सार्नु परेको अवस्था रहेछ । किन यस्तो भयो ? भन्ने प्रश्नमा फेरी पनि कुरा उहि दोहोरियो । उपभोक्ताको दैनिकीसँग सामुदायिक वनको स्रोत जोडिएन । विगतमा दाउरा घाँसलाई सामुदायिक वन नभै हुन्नथ्यो । अहिले घर घरमा पेट्रोलियम ग्याँसको सिलिण्डर छ । घाँस र काठकालागि पनि वन जानु पर्ने अवस्था देखिएन ।
समितिको वैठकलाई प्रभावकारी बनाउन अनेक कोसिस गरेको देखियो । वन गस्ती र वैठकमा सहभागी हुँदा प्रति दिन रु एक सय दिने व्यवस्था गरिएको छ । समिति समावेशी चाँही छ । तर कम्तीमा आधा महिला हुनु पर्ने व्यवस्था कार्यान्वयन हुन सकेको छैन । उपाध्यक्ष र सचिव दुवै पदमा महिलाको प्रतिनिधित्व देखिन्छ । अध्यक्ष रत्न वहादुर तमाङ्ग, उपाध्यक्ष निमा तमाङ्ग, सचिव देवी कार्की, सहसचिव मान वहादुर तमाङ्ग, कोषाध्यक्ष बागवान तमाङ्ग भएको १२ सदस्यीय समिति क्रियाशिल रहेको छ ।
ढाँडे सिंहदेवी सामुदायिक वन साधान र स्रोतबाट धनी देखियो तर व्यवस्थापनमा कमजोर भेटियो । स्रोत छ सम्पत्ति बन्न सकेन । स्रोत माथि मानविय श्रम र प्रविधि जोड्दा मात्र सम्पत्ति हुनजान्छ । त्यता तिर सामुदायिक वन अभियानको पटक्कै ध्यान जान सकेन । वा अनुभव भएन । सहजिकरण गरिदिनेको पनि खाँचो नैं देखियो । यहि परिवेशमा रहेर यो सामुदायिक वनले १० बर्षे परिकल्पना तयार गरेको छ । ‘संस्थागत विकास सहितको वनको दिगो व्यवस्थापन, उद्यमशिलतामा ढाँडे सिंहदेवीको विशिष्ट पहिचान’ दूरदृष्टि तयार गरेको छ । त्यो प्राप्तीकालागि ४ वटा विषयगत क्षेत्र निर्धारण गरी क्रियाकलाप निर्धारण भएका छन् । दिगो वन व्यवस्थापन, उद्यम विकास तथा जिविकोपार्जन, सामुदायिक विकास र संस्थागत विकासलाई मूख्य क्षेत्र मानेको छ ।
सामुदायिक वनको स्रोतको सदुपयोग गर्न उद्यम विकासको विकल्प देखिन्न । यसकालागि उद्यमीहरुलाई अनुकुल वातावरण तयार गरिनु पर्दछ । सामुदायिक वनमा आवद्ध सवै घरपरिवारको साझा सोच र निर्णयका साथ उपभोक्ता चाहाना र वनको दिगो व्यवस्थापनको मर्मलाई कायम राख्दै समूह भित्रका उद्यमीहरुलाई प्रोत्साहन गर्नु पर्दछ । वन क्षेत्रको अधिकतम् सदुपयोगकालागि सामुहिक स्वामित्व र व्यक्तिगत व्यवस्थापन पन तर्फ लाग्न पर्ने कुरामा सवैको एकमत देखिएको छ । तर यसको अगुवाई र कार्यान्वयनमूलक कसरी गर्न सकिन्छ अझै थप संवादको खाँचो देखिन्छ ।
रामायणको हनुमान र उपभोक्ता उस्तै भए
सामुदायिक वनका उपभोक्ताहरुसँग तागत छ तर विर्सेका छन् । कुनै बेला हनुमानले आफ्नो तागत विर्सेका थिए । सितालाई खोज्न जाँदा समुन्द्र तर्न सकिन्न भनी वसेका थिए । जटायुले हनुमानसँग लुकेको तागत संझाइ दिएका थिए । जसको प्रतिफल स्वरुप समुन्द्र तर्न सकेका थिए । त्यस्तै सामुदायिक वनका उपभोक्ताले सामान्य संरचनाले गर्न नसक्ने काम गरेर देखाएका छन् । उजाड भएको वन क्षेत्रलाई हरियाली वनाए । सामुदायिक वन अभियानका कारणले वन क्षेत्र ६ प्रतिशत वढाए तर त्यो सामार्थ अहिले विर्सेको जस्तो भैरहेको छ । वन स्रोतको सदुपयोग गर्न सकेनन् । अर्थात स्रोत वढ्यो तर स्रोतलाई दिगो व्यवस्थापन गरी सम्पत्तिमा रुपान्तरण गर्न सकिएन ।
उपभोक्ताको आर्थिक समृद्धिमा टेवा पुग्न सकेन । अनी उपभोक्ता र समुदाय विचको दूरी वढेको छ । त्यो दूरी कम गर्न उपभोक्ताहरुलाई वनमा आकर्षण गराउने कार्यक्रमहरु सञ्चालन गर्न जरुरी छ । ढाँडे सिंहदेवी सामुदायिक वनले नयाँ गन्तव्य सहितको योजना निर्माण गरेको छ । सामुहिक निर्णय र व्यक्तिगत जिम्मेवारी सोच सहितको योजना कार्यान्वयन हुन सकोस् । अथाह स्रोतलाई उपभोक्ताहरुको सम्पत्ति बन्न सकोस् । शुभकामना ।