नेपालमा सामुदायिक वनले गति लिन लागेको वि.सं. २०४० को दशकको अन्त्य तिरबाट हो । २०४५ साल असार ३ गते काभ्रेपलाञ्चोक जिल्लाको पाण्डे सामुदायिक वन नेपालको पहिलो सामुदायिक वन हस्तान्तरण भएको हो । त्यस यता वन हस्तान्तरणले गति लियो । यो गती २०५० को दशक भरि नैं रह्यो । त्यतीखेरको सामुदायिक वनको क्रियाशिलता आधारभुत तहको वनजन्य आवश्यकता परिपुर्तीकालागि थियो । अहिले उपभोक्ताको आवश्यकता फेरिएको छ । वनको हैसियत पनि फरक भयो । तर हाम्रो तौरतरिकाहरु खासै बदलिएनन् । संरक्षण गर्ने भन्दा माथि उठ्न सकिएन । अहिले केही सामुदायिक वनहरु फेरी जुर्मुराउँदै छन् । सामुहिक छलफलमा जुटिरहेका छन् ।
सुरुवाती बेलामा सामुदायिक वन
वनमा आगो लाग्थ्यो दौडेर उपभोक्ता पुग्दथ्ये । निर्णय वेगर दाउरा काटे पनि खुकुरी, घाँस काटे हँसिया खोस्न उपभोक्ताहरु नैं कसिन्थ्ये । वन हेर्न घरधुरी पालो लाग्दथ्यो । पालोमा वन गस्ती नगए अनी वैठक र साधारणसभामा नपुगे जरिवाना लाग्दथ्यो । सिठ्ठी पालो, लौरे पालो भन्ने त्यो बेलाको वन संरक्षणमा चलनचल्तीको शव्दावली थिए । झाडी सफाई गर्न हरेक परिवारबाट कम्तीमा १ जना उपस्थीत हुन्थ्ये । सामुहिक रुपमा काटेर एकै ठाउँमा थुपारिन्थ्यो ।
अनी गाउँ घरमा खसीको मासु भाग लगाएजस्तै गरी नरमकरम मिलाएर दाउरा भाग लगाइन्थ्यो । घरधुरी परिवारको भागको दाउरा बोक्नेको दौडा दौडी चल्थ्यो । कस्को भागमा अलि गतिलो दाउरा प¥यो भनी चियो चर्चो हुने गर्दथ्यो । घाँस पनि निश्चित महिनामा मात्र खुल्ला गरिन्थ्यो । त्यो वेलामा डोका सहितको उपभोक्ताको लर्को हुन्थ्यो । साधारण सभामा गणपुरक संख्या नपुग्ला भन्ने चिन्ता नैं हुँदैनथ्यो । अनी समितिमा वस्न पनि हानाथाप नैं हुन्थ्यो । सरकारी वा राज्यका निकायहरु गाउँमा नहुँदा पनि जनप्रतिनिधिमूलक पद्धतीमा चलिरहेको अभियान थियो सामुदायि वन । गाउँमा अरु विषयमा मनमुटाव भएमा पनि सामुदायिक वनको नेतृत्वले सहजिकरण गरिदिन्थ्यो । हो, त्यस्तो अभियान थियो सामुदायिक वन ।
तत्कालिन वन कार्यालयहरुले हरेक वर्ष सामुदायिक वनहरुको नेटवर्किङ्ग गोष्ठी गर्दथ्ये । समूहहरु आपसको कार्यक्रमवारेमा जानकारी आदान प्रदान हुन्थ्यो । उपलव्धी र परेका कठिनाइको सम्वन्धमा सामुहिक छलफल गरी उपाय खोजिन्थ्यो । सामुदायिक वनलाई सहयोग गर्ने परियोजना पनि थिए । सामुदायिक वनलाई सहयोग गर्ने कर्मचारीलाई उच्च शिक्षा देखि देश विदेश भ्रमणको अवसर हुन्थ्यो । यो अबसर सामुदायिक वनका अगुवाले पनि पाउथ्ये ।
अहिलेको सामुदायिक वन
अहिले धेरै सामुदायिक वनको अवस्था ओइलाएको छ । सुस्ताएको छ । पटक पटक साधारण सभा बोलाउँदा पनि कहिल्यै गणपुरक संख्या पुग्दैन । झाडी सफाइ, लौरो तथा सिठ्ठी पालो भन्ने शव्दावली नैं केही मिनेट घोत्लेर अथ्र्याएर संझनु पर्ने भैसक्यो । वनमा उपभोक्ताहरु जान छाडे । दाउरा घाँस चाहिएन । अनी किन जानु वन ? वन नगई जीवन चल्न थाल्यो । वन प्रतिको निर्भरता भएन । हामी नैं हो पहिला वन प्रतिको निर्भरता कम गर्नु प¥यो वन विनास भयो भनेर चिन्ता गर्ने । अहिले वन र मानिस जोडिएनन् भन्ने चिन्ता गर्नु पर्ने दिन आयो । सामुदायिक वनमा परियोजना भनेको के हो विर्सन थालीसकियो ।
यस्तै अवस्थामा दोलखा भीमेश्वर नगरपालिका वडा नं. ८ मा रहेको बोत्ले सेतीदेवी सामुदायिक वनको पनि रहेको छ । २०५२ सालमा सामुदायिक वन वनाउने भन्ने विषयमा छलफल भएको थियो । त्यही छलफलको पृष्ठभूमिमा सामुदायिक वन उपभोक्ता समूह गठन भयो । वन जोगाउन लौरे पालो लगाए । पालो जान नसकेमा खेताला लगाए कि त सो बरावरको जरिवाना तिरे । २२८ घरपरिवारका उपभोक्ताहरु मिलेर विधान बनाए । वन प्राविधिकको सहयोगमा १८१ हेक्टर राष्ट्रिय वन व्यवस्थापन गर्छौ भनि वन कार्ययोजना तयार पारे । विधान र वन कार्ययोजना दुवै दस्तावेज समूहको भेला अर्थात साधारण सभाले पास गरे । वन कार्यालयमा वुझाए । तत्कालिन जिल्ला वन कार्यालयमा विधान दर्ता भयो । वन कार्ययोजना पनि सोही कार्यालयवाट स्वीकृत भयो । विधान र वन कार्ययोजना रुपी दुईवटा कानूनी दस्तावेज समूहले पाएको बर्ष २०५६ साल रहेछ ।
बोत्ले सेतीदेवीको अनुभव
सामुदायिक वन गठन भएको एक दशकसम्म माथि भनिए जस्तै उपभोक्ताहरुको चासो गजब थियो । किनकी उपभोक्ताको जीवन वनसँग जोडिएको थियो । विस्तारै दाउरा हैन ग्याँसको प्रयोग वढ्न थाल्यो । गोरुको प्रयोग गर्ने खेतवारी वाझैं भए वा मिनी ट्रिलरको प्रयोग हुन थाल्यो । गाईवस्तु पाल्न छाडे । खेतीपातीलाई चाहिने मल पनि रासायनीकमा जोड दिन थाले वरु कुखुराको सुली किन्न सजिलो हुन थाल्यो । घाँस लिन वन जानु परेन । वन प्रतिको लगाव घट्यो । सामुदायिक वन अब जङ्गल हुन थाल्यो । उपभोक्ताहरु मान्छे मात्र हुन थाले । अर्थात वनमा काम हुन छाड्यो, आफै हुर्कन वढ्न थाल्यो ।
प्रकृती आफै स्थीर रहँदो रहेनछ । उ नियमित क्रियाशिल हुँदो रहेछ । त्यसरी क्रियाशिल हुँदा मान्छेलाई कसतो चाहिन्छ चासोको विषय भएन । प्रकृतिलाई जस्तो चाहिन्थ्यो त्यस्तै वनायो । झाडी भयो, मान्छेलाई काम लागेन । कतिपय वन्यजन्तुलाई काम लागेन । वन्यजन्तु वस्ती तिर छिर्न थाले । वनमा मानविय क्रियाकलाप नहुँदाको परिणाम हो ।
बोत्ले सेतीदेवी सामुदायिक वन क्रियाशिल नभएको पक्कै होइन तर उपभोक्ताको चाहाना अनुसार सामुदायिक वनको सेवा नहुँदा निस्कृयता भएको जस्तो देखिएको मात्र हो । यस समूहको आफ्नै कार्यालय छ । जुन पहाड तिरका धेरै सामुदायिक वनसँग भेट्न मुस्कीलै पर्दछ । हरेक बर्ष लेखापरिक्षण प्रतिवेदन तयार हुन्छ । प्रगती प्रतिवेदन पनि तयार हुन्छ । साधारण सभामा सुनाइन्छ । वन कार्यालयमा पेश पनि गरिन्छ । हरेक बर्ष साधारण सभा वस्छ । ११ जना रहेको कार्यसमिति छ । विधानमा लेखिए अनुसार नैं कार्यसमितिको वैठक वर्षको ११ वटा वस्छ, बसेको छ । असार महिनामा खेतीपातीको चर्को समय भएकोले त्यो महिना नवस्ने भनिएको रहेछ । अहिले ११ जनाको समितिमा ४ जना महिला रहेका छन् । पदाधिकारीहरु मध्ये उपाध्यक्ष, सहसचिव र कोषाध्यक्ष महिला हुनुहुन्छ । अबको साधारण सभामा कानून अनुसार आधा महिलाको प्रतिनिधित्व समितिमा रहने योजना पनि वनाउनु भएको छ ।
यो सामुदायिक वन नेतृत्व हस्तान्तरणको सन्दर्भमा उदाहरणीय देखिएको छ । हालसम्म यस समूहले एक जना महिला सहित ८ जना अध्यक्ष पाइसकेको छ । भीम वहादुर तमाङ्ग, मकर वहादुर थापा, धन वहादुर तमाङ्ग, शान्ती केसी, कुमार बस्नेत, तारा वहादुर तमाङ्ग, केशब थापाले पूर्व अध्यक्षको पदवी हासिल गरिसक्नु भयो । वहालवाला अध्यक्ष भने जीवन तामाङ्ग हुनुहुन्छ । उपाध्यक्ष उमा बस्नेत, सचिव केशब तमाङ्ग, सहसचिव अनिशा तामाङ्ग, कोषाध्यक्ष मनकुमारी तामाङ्ग हुनुहुन्छ । समूह चलेकै भए पनि उहाँहरु आफैलाई चित्त वुझिरहेको रहेनछ ।
बोत्ले सेतीदेवीको गन्तव्य
अव सामुदायिक वन कता जाने के के काम गर्ने निधो गर्न भनि कार्य समिति, समूहका अगुवा सहितको २ दिने छलफल कार्यक्रम राख्नु भयो । त्यस छलफलमा सामुदायिक वनको पृष्ठभूमि देखि अहिलेको अवस्थासम्मको लेखाजोखा गर्नु भयो । अहिले अवस्थाका आधारमा एक दशकमा कस्तो वनाउने भनेर छलफल गर्नु भयो । छलफलबाट एक साझा सोच तयार गर्नु भएको छ । ‘सुदृढ समूह मार्फत वनको दिगो व्यवस्थापन, काष्ठ तथा गैरकाष्ठ उद्यमबाट आर्थिक उपार्जन’ भन्ने सपना देख्नु भएको छ । सो सपना प्राप्तीकालागि ठोस योजना तयार भएको छ । ती योजना कार्यान्वयनकालागी जिम्मेवारी समेत वाँडफाँड भएको छ ।
बोत्ले सेतीदेवी सामुदायिक वन विविध कारणले सुस्ताएको जस्तो देखिए पनि अब सामुहिक अठोटका साथ जुर्मुराएको छ । सामुहिक निर्णय व्यक्तिगत जिम्मेवारीको अवधारणा सहित योजनाहरु तयार भएका छन् । समूह व्यवस्थापन तर्फ साधारणसभा एवं समितिको वैठक नियमित गर्ने, समावेशी समिति साधारणसभाबाट चयन गर्ने, सामुदायिक भवन निर्माण गरी कार्यालय नियमित गर्ने, नियमित लेखा परिक्षण गर्ने गराउने, लेखापरिक्षण र बार्षिक प्रतिवेदन वन कार्यालय र स्थानीय सरकारमा पेश गर्ने जस्ता क्रियाकलापहरु राखिएका छन् । उद्यम विकासकालागि केही खाका अवधारणा तयार भएको छ ।
चौरी तथा पशुपालन गर्न उपभोक्तालाई उप्रेरित गर्ने, समूहमा छनौट भएका विपन्नहरुलाई तरकारी खेतीमा सहयोग गर्ने, कार्ययोजना वमोजिम जडिवुटी संकलन, प्रशोधन र वजारीकरण गर्ने, लोक्ता अर्गेली र मछिनो प्रशोधन तथा विक्रि गर्ने कार्यको योजनाको मस्यौदा तयार भएको छ । वनको दिगो व्यवस्थापनकालागि झाडी सफाई, अग्नी रेखा निर्माण, उपयोगी प्रजातीको वृक्षारोपण, ठुला रुखहरु पत्लाउने, पानीको मूहान संरक्षण र पानी उपयोग गर्नेहरुसँग वातावरणीय सेवा भुक्तानीकालागि समन्वय गर्ने जस्ता योजना राखिएका छन् । त्यसै पर्यटन विकासकालागि काम गर्ने, जैविकविविधता संरक्षणका कार्यहरु गर्ने ठोस योजनाहरु वनाई त्यसको अगुवाईको जिम्मेवारी समेत तोकिएको छ ।
सामुहिक छलफलवाट वनाएको योजना टोलगत रुपमा छलफल गरी समितिले मस्यौदा दस्तावेज साधारण सभामा पेश गर्ने कार्यतालिका बनेको छ । साधारण सभाको निर्णय अनुसार यी योजनालाई कार्यान्वयन गर्ने अठोट व्यक्त भएको छ ।
अन्त्यमा, बोत्ले सेतीदेवी सुरु हुँदा धेरै उपभोक्ताहरुको चासो थियो । समूह क्रियाशिल थियो । त्यो बेलामा वनमा उपभोक्ता निर्भरताको विकल्प थिएन । त्यसको विकल्प आएकाले वन प्रतिको निर्भरता असाध्यै घट्यो । तर संस्थागत नियमित कामहरु भैरहेका नैं थिए । तथापी उपभोक्ताको चासो नघटेको पनि होइन । अब यो समूहले नयाँ गन्तव्य निर्धारण गरी केही नयाँ काम गर्ने योजना सारेको छ । यसले उपभोक्ता र वन विचको सम्वन्धलाई फेरी जोड्ने छ । अब यो सामुदायिक वन पुनः जुर्मुराएको छ । यो उत्साह कायम रहन सकोस्, बोत्ले सेतीदेवी सामुदायिक वनलाई शुभकामना ।