अर्थ मन्त्रालयमा सहसचिवहरुको रजगज

राजनीति समाचार

काठमाडौं । कर्मचारीतन्त्रभित्र विगत लामो समयदेखि मालदार अड्डामा जानको लागि न्वारनदेखिको बल निकालेर लाग्ने गर्दछन् । प्रायःजसो कर्मचारीहरु गृह मन्त्रालय र अर्थ मन्त्रालयको महत्वपूर्ण शाखामा बस्न रुचाउँछन् । गृह मन्त्रालयमा बस्ने कर्मचारी अध्यागमन विभाग र अध्यागमन कार्यालय एयरपोर्टमा रमाउने गर्दछन् ।

त्यसैगरी अर्थ मन्त्रालयको बजेट शाखामा कार्यरत सहसचिव उत्तर खत्री रहेका छन् । सहसचिव खत्रीले भौतिक मन्त्रालय अन्तर्गत विकासे अड्डाका कर्मचारी, जलस्रोत सिंचाइ मन्त्रालयका कर्मचारी, सहरी विकास मन्त्रालयका विभिन्न आयोजना र विभाग अन्तर्गतका कर्मचारीहरु बजेट माग गर्न जाँदा कमिसन माग्ने गरेको स्रोत बताउँछ ।

उनीहरु माग गरेको रकम निकासा गर्दा आफूलाई के कति कमिसन आउँछ भनेर ठाडै प्रश्न गर्न थालेका छन् । त्यस्ता आयोजनाका कर्मचरीहरुले सहसचिव खत्रीले नभने तापनि अधिकाशं कार्यालय प्रमुख र आयोजना प्रमुखहरुले केही भाग शान्ति बजेट महाशाखाका सहसचिव उत्तर खत्रीलाई दिने गरेका छन् । यदि त्यस्ता आयोजना, कार्यालय, विभागका कर्मचारीले बजेट माग्न जाँदा कमिसन नदिएको खण्डमा बजेट पनि निकासा नगरिदिने गरेको गुनासो केही कर्मचारीहरुले गर्न थालेका छन् ।

अर्थमन्त्रालय जस्तो महत्वपूर्ण ठाउँमा बसेका उच्चपदस्थ कर्मचारी सोझै कमिसन माग्नु भनेको कर्मचारीहरु कतिसम्म गिर्छन् भन्ने त्यसै छर्लङ्ग हुन्छ । त्यस्तै अन्य शाखामा बस्ने कर्मचारीहरुको पनि कमाउधन्दा त्योभन्दा चर्को छ । अधिकाशं राजस्व कार्यालय, भन्सार कार्यालय, आन्तरिक राजस्व कार्यालयका कर्मचारीहरुले अर्थ मन्त्रालयका सचिव र सहसचिवलाई खामबन्दी महिनावारी नजराना टक्र्याउने गर्दछन् । एकातिर महिनावारी टक्र्याउने गरेका छन् भने अर्काेतिर व्यापारी घरानाबाट महिनावारी असुल्ने पनि गर्दछन् ।

अर्थ मन्त्रालयका कर्मचारीहरु सकभर अन्य सरकारी कार्यालयमा सरुवा भएर जान मन पराउँदैनन् । अर्थ मन्त्रालयका कर्मचारी सरुवा भएर अन्यत्र जाने भनेको भन्सार कार्यालय, कर कार्यालय, आन्तरिक राजस्व कार्यालय, ठुला करदाता कार्यालय, राजस्व अनुसन्धान विभाग हुन् । अन्य सरकारी कार्यालयका कर्मचारीहरु पनि माथि उल्लेखित कार्यालयहरुमा सरुवा भएर जान रुचाउँछन् ।

यस्ता मालदार अड्डामा सरुवा भएमा कर्मचारीको तलब स्वतः बच्ने, खर्च भत्ता, ओभरटाइम र कमिसनले चल्ने भएपछि प्रायःजसो कर्मचारीहरु यस्ता ठाउँमा जान रुचाउने गर्दछन् । कर्मचारीहरुको घर चलाउने र फजुल गर्ने रकम भत्ता, ओभरटाइम, कमसिनबाट पुग्ने भएपछि तलब चोखा बच्ने गर्दछ । त्यसमाथि ठूला व्यापारीहरुले राजश्व छली गर्ने ठाउँमा चलखेल गर्न पाएको खण्डमा ती कर्मचारीहरुको कमाई झन् डरलाग्दो हुन्छ । यस्तै नियत अहिलेका अधिकांश कर्मचारीहरुको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *