ललितपुर नापीमा कर्मचारीको दादागिरी, सचिव रमिते

राजनीति समाचार

काठमाडौं । इमान्दार छविका रुपमा चिनिएका सचिव गोकर्णमणि दुवाडी भूमिब्यवस्था मन्त्रालयमा पुगेपछि बदनामी कमाउँदै छन् । मन्त्री रञ्जिता श्रेष्ठले वकिल स्वकीयलाई अगाडि सारेर आर्थिक रुपमा बदमासी गर्दै आएको आरोप लाग्दै आएको छ भने केही बर्ष पछि नै अवकाश लागेर घर जाने तरखरमा रहेका सचिव दुवाडीले भाञ्जालाई अगाडि सारेर कमाउधन्दा चलाइरहेको आरोप लाग्ने गरेको छ ।

यस्को पछिल्लो उदाहरण हो भक्तपुर नापी कार्यालयका हाकिम डा प्रदिप सापकोटाको थमौती र मालपोत कार्यालय कास्कीको प्रमुखमा सरुवा भएका उपसचिव चिरञ्जीवी पौडेललाई एक हप्तामै हटाउनु । मालपोत कार्यालय कास्कीका प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीलाई मालपोत कार्यालय बाग्लुङमा काज गरी पौडेललाई कास्की मालपोतमा सरुवा गरिएको थियो ।

तर त्यसको एक हप्ता बित्न नपाउँदै पोखराका भूमाफियामार्फत लाभ लिएर रामचन्द्र अधिकारीलाई नै मालपोत कार्यालय कास्कीको प्रमुखमा फर्काइएको छ । यसरी निजामती सेवा ऐन नियमावलीको धज्जी उडाउँदै भूमि ब्यवस्था मन्त्रीका आसेपासेहरुले मोटो रकम असुली गैरकानूनी सरुवा काज गरी कर्मचारी आतंक मच्चाएको र मन्त्रालय डुङ्डुङ्ती गन्हाएको गुनासो भूमिब्यवस्थाका कर्मचारीको छ । मन्त्रालयका कर्मचारीहरुले भूमि मन्त्रालय यति विध्न कहिल्यै बदनामी नभएको टिप्पणी गर्ने गरेका छन् ।

उता करोडौं अकूत आर्जन गरेको अभियोगमा अख्तियारमा मुद्धा खेपिरहेका हाकिम उमेशकुमार साहले ललितपुर मालपोतमै थमौती पाएसँगै त्यहाँ अनियमितता झनै झाङ्गिएको कर्मचारीहरु बताउँछन् । निजामती किताबखानाबाट प्राप्त पिआइएस अनुसार १८ बर्षदेखि नापीमा चक्कर लगाइरहेको भेटिएको छ । कर्मचारी संकेत नम्बर १८३७१५ नम्बर रहेका उमेश ८ नम्बर नापी गोश्वारा कार्यालय कास्कीबाट सेवा प्रवेश गरेको देखिन्छ ।

निजामती किताबखानाबाट प्राप्त अभिलेख अनुसार ६२ साल साउन २३ गतेबाट सरकारी सेवामा पाइला राखेको देखिन्छ । यस पछिका १८ बर्ष उनी नापी र मालपोत कार्यालय छाडेर बाहिर जानु परेको छैन । उनै साह उपसचिवका रुपमा नापी कार्यालय ललितपुरका प्रमुखको कुर्सीमा थिए । मन्त्रालयले उनलाई सरुवा गरेर धनुषा नापी कार्यालयको प्रमुखमा रुपमा खटाएको देखिन्छ ।

मन्त्रालयले गत असोज ९ गते उनको सरुवा गरेर धनुषा पठायो भने सो ठाउँमा भूमि प्रशिक्षण केन्द्रका प्रमुख नापी अधिकृत रमेशकुमार ज्ञवालीलाई पठाएको थियो तर ज्ञवाली सो कार्यालयमा हाजिर हुनै पाएनन् । उमेशकुमार साहले भने मन्त्रालयले गरेको सरुवाविरुद्ध उच्च अदालतमा रिट हाली अन्तरिम आदेश फुत्काउन सफल भए ।

उनै साहले साहले सरकारी जग्गा लाभ लिएर व्यक्तिको नाममा दर्ता गरेको उजुरी अख्तियारमा पुगेको छ । तामाकोशी सन्देशलाई प्राप्त उजुरी प्रमाण अनुसार साहले ललितपुरको नख्खु खोला करिडोरमा पर्ने नगर १३ सिट नम्बर १०२–१२६४–०३ कि.न. ३४७८ को सरकारी जग्गा घुस लिई ब्यक्तिको नाममा हालसाविक(अद्यावधिक) गरेका छन् ।

यस्का अलवा साविक भैंसेपाटी गा.वि.स. वडा नं. ६ ‘क’ कि.न.४६९ को सरकारी जग्गा हाल नयाँ नापीमा कार्यविनायक नगरपालिका वडा नं. ४ कि.न.१३५४ नेपाल सरकारको नाममा हुनुपर्नेमा नापी कार्यालयका प्रमुखसाहले आर्थिक लाभ लिई ब्यक्तिको नाममा हालसाविक गरी सरकारी जग्गा हिनामिना गरेको अख्तियारमा दर्ता भएको उजुरीमा उल्लेख छ ।

साहले नेपाल–भारत सीमानामा नापनक्साको काम गर्दा गाडी, इन्धन, चेनमेन(लेबर) को फर्जी बिल बनाएको, अछाम, अर्घाखाँची नापीमा काम गर्दा चेनमेन(लेब) तथा सामान बिल फर्जी गरेको, फिल्डमै गएर नक्सा नाप्नुपर्नेमा फिल्डमा नगई पुरानो (साविक) नक्सालाई ट्रेस गरी फर्जी बिल भर्पाई बनाई दसौं लाख रुपैयाँ अनियमितता गरेको बिषयमा समेत छानबिन गर्न अख्तियारमा दायर गरेको उजुरीमा माग गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *