नेपाल प्रहरीभित्र गृहमन्त्रीका पीएको हालीमुहाली

राजनीति समाचार

काठमाडौं । नेपाल प्रहरीभित्र विगत लामो समयदेखि लुगा, खाद्यान्न र अन्य खरिदमा ठूलो घोटाला हुने गरेको थियो । तत्कालीन आईजीपी धिरजप्रताप सिंहले घोटाला गरेको जुत्ता खरिद काण्ड पनि अख्तियारमा थन्किएको जस्तै घोटाला अहिलेसम्म पनि कायमै छ । हालका आइजीपी वसन्त कुँवरले प्रहरी संगठनभित्र हुने घोटालाका गतिविधिहरु रोक्न सकेका छैनन् ।

उल्टै मालदार शाखाहरुमा आफ्ना विश्वासपात्र खटाएर कमिसन खान लिप्त भएका छन् । यस्तो क्रियाकलापले नेपाल प्रहरी भित्र यतिबेला आइजीपी वसन्त कुँवर हुन् कि होइनन् भन्ने चर्चा नै चल्ने गरेको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी संगठनलाई जतिसुकै चुस्तदुरुस्त बनाउँछु भने तापनि त्यो व्यवहारमा लागु हुन सकेको छैन । गृहमन्त्रीकी सहयोगी सुशान्त कर्मचार्यले प्रहरी संगठनहरुलाई नै तहसनहस बनाएकी छिन् । कर्मचार्यले मात्रै नभएर गृहमन्त्रीका भतिजा अर्का पीए सुशनकाजी श्रेष्ठले पनि गृहमन्त्रालयभित्र ठूलो चलखेल गर्ने गरेका छन् । नेपाल प्रहरीमा डीएसपी बढुवा गर्नुपर्नेमा डीआईजी सरुवा गरेर रमिता देखाएको छ ।

डीएसपी बढुवा रोकिएपछि डीएसपीबाट एसपी हुनेहरुको पनि बढुवा रोकिएको छ । यतिबेला नेपाल प्रहरीभित्र ७ जना एसपी पद रिक्त रहेको छ । डीएसपीबाट एसपी बढुवा हुने लाइनमा प्रदीपबहादुर क्षेत्री, अंगुर जिसी, झकेन्द्र खतिवडा, यादव ढकाल, श्याम ओली, नारायण रञ्जित, निरन्जन दत्त भट्ट, राजन लिम्बु, सन्तोष तामाङ, एकनारायण कोइराला, विनोद घिमिरे (क) बीच प्रतिस्पर्धा चलेको छ । त्यति मात्रै होइन पछिल्ला व्याजीका डीएसपी ठाकुरप्रसाद पोखरेल, सुमित खड्कालगायतले गर्दा एसपी बढुवामा वाधा पुगेको छ ।

नेपाल प्रहरीभित्र सोर्सफोर्स र भनसुन गरेर बढुवा हुने प्रचलन विगत कालखण्डदेखि हुँदै आएको छ । सोर्सफोर्स र भनसुनले मात्रै नभएको खण्डमा ठूलो धनराशीको चलखेल हुने गरेको थुप्रै उदाहरणहरु छन् । यस्ता खेलले सिनियर, इमानदार र दक्ष व्यक्तिहरु सधैं ओझेलमा पर्ने गरेका छन् । पैसा र भनसुनमा बढुवा हुने प्रथा चलेपछि जुनियर र अयोग्यहरुको प्रहरीभित्र चलखेल बढ्ने गरेको छ । सुरक्षा निकाय जस्तो सम्वेदनशील क्षेत्रमा पनि पैसा र भनसुनमा सरुवा, बढुवा हुने प्रचलनले प्रहरी संगठनप्रति नै विश्वास गुम्दै गएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *