विकास निर्माण भनेको कुरो पिछडिएको क्षेत्र र जनताको उत्थानमा केन्द्रित हुनुपर्छ । यहि मुद्दालाई जोडदार रुपमा उठाएर माओवादीले नेपाली जनताको मन जितेका थिए । पिछडिएको वर्गलाई सरकारी नोकरीमा आरक्षणको व्यवस्था पनि सोही उद्देश्य पाप्तिको लागि गरिएको हो । नेपालमा दलहरुले शासन सत्ता सम्हालेको पनि लगभग ३५ बर्ष पुरा भईसक्दा पनि नेपालको सन्तुलित बिकास हुनसकेको छैन । यो अवधिमा बिकास निर्माण झनै सहर केन्द्रित भएको छ ।
सहरका पुराना पुर्वाधारका संरचनाहरुलाई भत्काउने र पुर्नबनाउने अभियानले नेपाल भरी नै तिब्रता पाएकोछ । नेपालको आर्थिक विकासको लागि अहिलेको अवस्थामा जरुरत नदेखिएका पूर्वाधारका संरचनाहरु धेरै बनेका छन् । बिकास निर्माणका कामहरुलाई राष्ट्रको आवश्यकता र उत्पादन सित जोडेर नबनाएको हुँदा राष्ट्रिय ऋणको रुपमा प्राप्त महत्वपूर्ण लगानी खेर गएका छन् ।
यसरी पहिले नै बनिसकेका पूर्वाधार संरचनाहरुलाई भत्काउने र बनाउने गर्दा एकातिर महत्वपूर्ण लगानी खेर जाने गरेको छ भने अर्कोतिर निर्माण समाग्रीहरुको पनि धेरै दुरुपयोग भएकाछन । खासगरी सडक सञ्जाललाई चौडा पारी बनाउने अभियानले जोड पक्रेपछि नेपालमा यस्तो हालत उत्पन्न भएको हो । नेपालको भूगोल नहेरी चौडा पारिएका सडकहरु पहिरोको चपेटामा परेका छन् । सडक चौडा गर्ने कामलाई ठेकेदारले तोकिएको समयमा पुरा नगर्ने हुँदा नेपाली जनता वातावारणको प्रदुषणबाट पीडित हुनको साथै आवत जावतमा ठुलो कठिनाईको सामना गर्दैछन । देशको राजधानीलाई जोड्ने सडकहरु चौडा गर्ने क्रममा नेपाली जनताले धेरै नै सास्ती भोगीरहेका छन । यस्तो असन्तुलित बिकास निर्माणका उदाहरणहरु नेपालमा धेरै छन् ।
महेन्द्र राजमार्गको नरायाणघाट बुटवल खण्डको चौडा गर्ने काम यतिबेला चर्चाको बिषय बनेको छ । ठेकेदारले समयमा उक्त काम पुरा गर्न नसक्दा आवत जावतमा धेरै ठुलो कठिनाई उत्पन्न भईरहेको छ । यसै बिषयमा केन्द्रित भएर युवा नेताहरुले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले उक्त सडकमा पैदल यात्रा गरी राष्ट्रको ध्यान आकर्षण गरेको छ । तत्काल आवश्यक नभएको यस्ता पूर्वाधारहरुको निर्माणले नेपालमा आर्थिक संकट बढाएको छ भने उपयोगहिन हुँदा राष्ट्रिय आम्दानी बढाउनमा कुनै योगदान भएको छैन । नेपाल भर जताततै अन्तर्राष्ट्रिय र राष्ट्रिय विमानस्थलहरु बनेको भएतापनि त्यो सबै उपयोगहिन भएर बसेकाले राष्ट्रलाई सुको आम्दानी भएको छैन ।
सार्वजनिक ऋण मात्रै बढाउने बिकास निर्माणका परियोजनाहरुले नेपाल राष्ट्रलाई टाट पल्टाउने मार्गमा तिब्रगतिले अगाडि बढाएको छ । राष्ट्रिय ऋणको रुपमा प्राप्त लगानी खर्च गरी बनाएका परियोजनाहरुबाट एकपैसा आम्दानी नभएपछि उक्त राष्ट्रिय ऋणहरुको साँवा व्याज भुक्तानी गर्न कै लागि पनि नेपाल राष्ट्रले थप बिदेशीको ऋण लिनुपर्ने बाध्यतामा नेपाल राष्ट्र अहिले प्रवेश गरीसकेको अवस्था छ । राष्ट्रको आवश्यकता र बाध्यतालाई दलका ठुला नेताहरुले महसुस गर्न सकीरहेका छैनन् ।
यस्तो हालत नेपालमा कायम रहेकै बेलामा धरानका मेयरले धरानमा नै छुट्टै विमानस्थाल बनाउनु पर्ने माग अगाडि सारेकाछन । त्यसको लागि उहाँले राजनीतिक दबाब बढाउने काम पनि थालीसकेको चर्चा सुनिएको छ । धरान बिराटनगरबाट ५० किलोमिटरको दुरी भित्रै अवस्थित सहर हो । बिराटनगर विमानस्थलबाटै उक्त भेगका जनताहरु हाललाई आउने जाने गर्दै आएकाछन । उक्त सहर राम्रो सडक सञ्जालबाट राजधानी काठमान्डौ लगायत नेपालका अन्य सहरहरु सित जोडिएको छ ।
यस्तो अवस्थामा छुट्टै विमानस्थाल बनाउन नसकिएपनि धरान सहरको बिकास निर्माणलाई कुनै फरक पार्दैन । त्यसकारण यस्तो फाल्तु खर्च गर्न तत्काल जरुरत छैन । राष्ट्रको समग्र खर्चलाई घरेलु खर्चको परिपेक्षमा प्रवेश गरी निहाल्न र सोही अनुसार दलका नेताहरु पनि चल्नु पर्ने अहिले नेपाल राष्ट्रको टड्कारो अवस्था रहेकोछ । यसै प्रसंगमा चर्चा चल्दा ओली सरकारको पालामा अनावश्यक रुपमा बनाएका टावरहरुमा भएको राष्ट्रिय खर्चलाई पनि फाल्तु लगानी भन्नै पर्ने हुन्छ ।
उक्त सरकारले सोही समयमा रेल मार्ग र जल मार्ग निर्माण बिकासको निमिक्त भए गरेको प्रयासहरुलाई पनि राष्ट्रको आवश्यकता र आर्थिक उन्नतीको हिसाबले फाल्तु नै थियो र छ भन्न करै लाग्छ । यस्तै राष्ट्रको आवश्यकतालाई नहेरी तत्कालिन ओली सरकारले फाल्तु खर्च गरेको हुँदा उक्त अवधिमा नेपालको सार्वजनिक ऋण १० खर्वले बढेको थियो । त्यसपछि बनेका नेपाल सरकारले पनि सोही सरकारले देखाएको बाटोमा नै हिडेर प्रतिबर्ष ३ खर्बको हाराहारीमा राष्ट्रिय ऋण बढाउँदै २४ खर्ब नघाएका छन ।
अनावश्यक बिकास निर्माण कार्यहरु रोकिएका छैनन् र त्यसरी राष्ट्रको फाल्तु खर्च बढ्दै गएकाले मुलुक चरम आर्थिक संकटमा परी टाट पल्टिने मार्गमा नै लगातार अगाडि बढीरहेको नै छ । अहिले नेपालमा जति पनि बिकास निर्माणहरु भएकाछन वा गरिएकाछन त्यो सबैलाई संहाल्नु पर्ने बेला आएको छ ।
नयाँ बिकास निर्माणका गतिविधिहरुलाई स्थगित गरी पुरानालाई संहालेर नेपालको समृद्धि सित जोड्नु पर्छ । पुराना बिकास निर्माणहरुमा समान्य काटछाट गरी उत्पादन सित जोड्ने प्रयास थाल्नु पर्छ । नेपालमा अझ पनि बिकास निर्माणको हिसाबले पिछडिएका भेगहरु प्रसस्तै छन । त्यस्ता ठाउँहरुमा अझ पनि केही नेपाली जनता बसोबास गर्दै रहेकाछन । त्यस्ता पिछडिएको क्षेत्रहरुमा बसोबास गर्ने नेपाली जनताहरु लामो समय देखि पीडित नै छन । नेपालमा भएको परिवर्तनबाट उहाँहरुले अझ पनि फाईदा लिन सकेका छैनन् । त्यस्ता ठाउँहरुमा बसोबास गर्ने नेपाली जनताको लागि राष्ट्रको मुलधार सित जोड्ने बिकास निर्माणको खाँचो अहिले सम्म टड्कारै छ ।
माओवादीले चलाएको जनयुद्ध ताका गाउँका युवाहरु जबरजस्ती माओवादी लडाकुमा भर्ती हुनबाट बच्नको लागि काठमान्डौ सहरमा पसेका थिए । नेपालमा माओवादी कै शासन आए पछि नेपाली युवायुवतीहरु नेपाल नै छाडेर अन्य बिदेशी मुलुकहरु तिर भागेका छन । माओवादी नेताहरु कै छोराछोरीहरु पनि अवसरको खोजीमा पश्चिमी युरोपियन मुलुकहरु लगायत अमेरिका, क्यानडा तिर जाने क्रम बढेकोबढेकै छन । गरिब र अल्प बिकसित देशका मानिसहरु सम्पन्न र बिकसित देशहरुमा बसाई सर्ने मानिसहरुको स्वभाव नै हो । यता नेपालमा आफ्नो भविष्य केही नदेखेपछि नेपालीहरु पश्चिमी सम्पन्न र बिकसित मुलुकहरुमा जाने क्रम निरन्तर बढेर गएको छ ।
नेपाली जनताले पनि आफ्नो सन्तानको सुन्दर भविष्य नेपालमा नदेखेपछि आफ्नो सन्तानलाई बिदेशमा गएर आफ्नो सुन्दर भविष्य बनाउन प्रोत्साहित गरीरहेका छन । नेपालमा कम्युनिष्ट पार्टीले नेतृत्व गरेको सरकारहरु धेरै पटक बनेको भएतापनि नेपालको आर्थिक नीतिलाई परिवर्तन गरी समाजवादी अर्थनीति लागु गर्न सकेको छैन । नव सुधारवादी स्वतंत्र बजार अर्थतंत्रलाई पनि कम्युनिष्ट सरकारले स्वतंत्र रुपले चल्न दिएका छैनन् । त्यसकारण अर्थनीतिको आधारमा कम्युनिष्टहरुको नेतृत्वमा बनेको नेपाल सरकारको चाल न हाँसको छ न चिलको नै छ । हुलका हुल युवायुवतीहरु वैदेशिक रोजगारी खोज्दै नेपाल छाडेर जान थाले पछि गाउँघर मात्र होइन नेपालका सहरहरु पनि प्रभावित भएकाछन । स्कुल, कलेज र विश्वविद्यालयहरुमा पढ्ने बिद्यार्थीको संख्या घटेकाछन भने सहरका पसल कौल सटरहरु भाडामा लाग्न छाडेका छन् । यस्तै क्रम बढ्दै जाने हो भने नेपालमा अहिले भए गरिएको बिकास निर्माणहरु वेतुक र वेमतलवका हुनेछन ।
राष्ट्रको आवश्यकता एकातिर छ भने बिदेशीको सिफारिसमा दलहरुले नेपालमा बनाएको बिकास निर्माणहरु उपयोगहिन छन । यस्ता बिकासले नेपाली युवायुवतीहरु बिदेश पलायन हुनबाट रोक्न सक्दैन भने बिदेशमा गएकाहरुलाई पनि नेपालमा अब राम्रो भयो स्वदेश फर्कौ भनी उत्प्रेरित गर्न सक्दैन । नेपाल राष्ट्रलाई सम्पन्न बनाएर रोजगारीको अवसर बढाउने खाले बिकास निर्माणले मात्रै बिदेशिएका नेपाली युवायुवतीहरुलाई नेपालमा फर्किएर केही गरी देखाऔं भन्ने हौसला प्रदान गर्नेछ ।
त्यसकारण नेपाल सरकारले आनावश्यक पूर्वाधार संरचनाहरुको निर्माण गर्ने कार्यहरुलाई रोकी राष्ट्रको आवश्यकता अनुसार अगाडि बढ्नु पर्छ । फजुलका परियोजनाहरु कमिसन खाने लोभमा परी बनाउँदै जाँदा नेपालमा झन आर्थिक संकट बढ्ने र देश टाट पल्टिने जोखिमले युवायुवतीहरुलाई बिदेश पलायन हुन प्रेरित गर्नेछ । सबै भन्दा राम्रो अहिले हुँदै गरेका बिकास निर्माण कार्यहरुलाई थाती राखी नयाँ सिराबाट सोची पहिले नै बनाईसकिएका बिकास पूर्वाधारहरुलाई राष्ट्रको आवश्यकता र समृद्धि सित जोड्ने प्रयास थाल्नु पर्छ । नेपाल समृद्ध भएपछि मात्रै नेपाली जनताले बिगत देखि भोग्नु परेको गाँस, बास र कपासको समस्याको समाधान निस्किने छन । अनि नेपाली युवायुवतीहरु पनि ढुक्क भएर नेपालमा नै केही सानातिना व्यापार व्यवसायी गरी जीबिकोपार्जन गर्न पाउने छन् ।
धनका भोका नेपालीहरुले आफ्नो लोभ लालचलाई सीमित नतुल्याउने हो भने एक दिन उहाँहरु स्वयम पनि पीडित हुने छन । ढुंगा र माटोले एक अर्कालाई साहारा दिएन भने पानीको बेगमा बगेर एक दिन दुबैको अस्तित्व समाप्त हुन्छ । त्यसकारण समाजका निम्न र उच्च वर्गकाले एक आर्काको पुरक बनेर राष्ट्रको आवश्यकता अनुसारको बिकास निर्माण गरेमा मात्रै सबै समृद्ध र सबै सुखी बन्ने छन ।
नेपालमा कायम बिद्यमान अवस्थालाई बदल्नै पर्ने भएको छ । सत्तामा भएका दलहरुले त्यसो गर्न नसक्दा नेपाल राष्ट्र झन जटिल आर्थिक संकटमा परी टाटा पल्टिने खतरा बढेको छ । सोखतरालाई टार्नको निमिक्त एकातिर राष्ट्रको आम्दानी बढाउनु नै पर्ने चुनौती छ भने अर्को तिर फजुल खर्च घटाउनको निमिक्त आनावश्यक पूर्वाधारहरुको निर्माणलाई रोक्नु पर्छ । साथै सरकारी चालु खर्च घटाउनको निमित्त शासकिय स्वरुपमा नै धेरै फेरबदल गर्नु पर्ने अनिवार्यता देखिएका छन ।