बाँदरले दिएको दुःख सम्वोधनका लागि ‘मेरो रुख म काट्छु’ अभियानको पक्षमा

राजनीति लेख

पछिल्लो साता सामाजिक सञ्जालमा बाँदर नियन्त्रण विषयमा चर्चा पाएको छ । खास गरी पोखरा महानगरपालिका वडा नं. १९ बाट प्रकाशित वाँदर नियन्त्रणकालागि रुख काट्ने सूचनाले सामाजिक सञ्जाल तातेको छ । यसको सूचनाको मर्मको पक्ष र विपक्षमा मानिसहरुको धारणाहरु आइरहेको छ । नेपाल भर नैं वाँदर आतंक देखिएको छ । खाँदा खाँदैको खाने थाल नैं वोकेर समेत वाँदर हिडेको छ । बाँदरले दिएको पिडाका बारेमा धेरै चासो देखिएको छ भने कतिपयले व्यङ्ग समेत गरेका छन् । जुम्रा प¥यो भने टाउकै काट्ने ? भन्ने प्रश्न गर्ने पनि छन् । जे होस् बाँदर नियन्त्रणको अहिले ग्रामिण अर्थतन्त्रको सवाल भएको छ ।

पोखराको सूचना
वन विज्ञानका प्राध्यापक डा. राजेश राईले फेसवुकमा पोष्ट गरेको एक सामाग्रीमा ध्यान तान्यो । त्यो सामाग्री पोखरा महानगरपालिका वडा नं. १९ को एक सूचना थियो । वाँदर नियन्त्रणकालागि वडाध्यक्षले हस्ताक्षर गरेर ‘मेरो रुख म काट्छु’ भन्ने अभियानमा वडावासीलाई सहभागी हुन आव्हान गरिएको थियो । वाँदरबाट अति प्रभावित भएको त्यसकालागि ठुला रुखले असर पारेको भन्ने आसयका साथ रुख काट्न उत्प्रेरित गर्ने सूचना थियो । प्रदेश सरकारको कार्यक्रम पनि भएकोले यो सूचना जारी गरेको देखिन्थ्यो । प्रा.डा. राईले ‘जङ्गलमा रोपेको फलफूलले वाँदर रोक्न सकेन छ कि क्या हो । नयाँ अभियान आएछ । धन्य प्रभु’ भन्ने प्रतिकृया सहित वडाको सूचना पोष्ट गर्नु भएको थियो ।

प्रा.डा. पोष्टमा आएकोे कमेन्ट ध्यान दिएर हेरें । अरु धेरै जो मेरो फेसवुकमा साथी हुनुहुन्छ उहाँहरुले पनि त्यो सूचना भटाभट पोष्ट गर्न थाल्नु भयो । मिश्रित प्रतिकृया थियो । वन तथा जिव विज्ञानसँग सम्वन्धीत अनुभवीहरुले यस्ता सूचनालाई गलत भन्ने र सामाजिक तथा कृषिसँग सम्वन्धीतहरुले समर्थन गर्ने हुन्थ्यो । यस पटक फरक देखियो । धेरै जना वन प्राविधिक अझ सरकारी सेवामा रहेकाहरु वाँदर नियन्त्रणकोलागि ठुला रुख काट्ने सूचनाको विपक्षमा देखिएनन् । वनका कर्मचारीहरु वन र वन्यजन्तुको मात्र कुरा गर्दैनन् । मानिसलाई पहिलो प्राथमिकतामा राख्दछन् भन्ने कुरा देखिएको छ ।

वन तथा भुसंरक्षण विभागमा कार्यरत उपसचिव सुदिप छत्कुलीको लेखाइ मनन् योग्य छ । ‘पाकिसकेको भात कसौंडी सहित उठाएर लगेको देखिएकै हो । खेती पाक्ने सिजनमा बांदर कुर्नकै लागि स्कुल जान नपाएको जानिएकै हो। बर्षभरीको मेहेनतको अन्न एकैरातमा बांदरले सखाप पारिदिएको भोगिएकै हो । स्कुल जाने बाटोमा बांदरको डरले नानीहरू त्रस्त हुनुपरेको अनुभव गरिएकै हो । आंगनमा बिस्कुन सुकाउन नपाएको दैनिकी नै थियो । यी सबै पिडाहरु शहरिया, बोरा सहित मसिनो चामल किनेर खानेहरु; पढेर ईकोसिस्टम र बांदरको बारेमा निबन्ध लेख्नेहरुको हुँदै होइन ।’ यो वीचारले ग्रामिण अवस्थाको प्रष्ट झल्को दिन्छ । यहि पिडा खेती किसानी गर्नेसँग रहेको छ ।
विकल्प के हो ?

बाँदर लगायत वन्यजन्तुका कारणले स्थानीय अर्थतन्त्र चौपट भैसक्यो । खेतीयोग्य जमिन वाँझो भैसकेको छ । खेतीकालागि चाहिने पाखुरीहरु नैं पाउन मुस्कील छ । भएकाले दुखजिलो गरी खनीखोस्री गर्दा पनि वाँदरले सखाप पार्दछ । यसलाई सवालका रुपमा स्वीकार गरेको छ । त्यही भएर नेपाल सरकारले एक कार्यविधि वनाएर यस वर्षबाट क्षतिपुर्ति दिने व्यवस्था गरेको छ । तर अहिलेसम्म दिएको समाचार चाँही सुन्न पाइएको छैन । यस्ले पनि उत्पादन वढाउन उत्प्रेरित गर्दैन । वाँदरको वन्ध्याकरणका बारेमा पढ्न नेपालका सांसद भारत गएरे भन्ने समाचार आएको थियो । पढ्न को जानु पर्दथ्यो भन्ने कुरा आफ्ना ठाउँमा होला । यदी हाम्रो सांसदले पढेर आएर वाँदरको वन्ध्याकरण गर्न सफल भएछन् भने (विस्वास चाँही छैन) पनि त्यसको असर एक दशक पछि मात्र आउने हो ।

अष्ट्रेलियाले त्यहाँको राष्ट्रिय जनावार कँगारु मारेर वेचेर विदेशी पैसा कमाउन मिल्ने तर हाम्रा वाँदर बेच्न नमिल्ने ? वाँदरको नामोनिशान मेटाउनु पर्दछ भनेर कसैले भनेको छैन । मान्छेकोलागि वन हो, वनकालागि मान्छे हैन । दुवै आवश्यक हुन् । वन्जन्तुकोलागि मान्छे सहिद हुने कुरा पक्कै हैन । कसैले त्यसो भन्दछ भने आफ्नो सन्तानलाई वन्यजन्तुले आक्रमण गर्न खोजेमा कस्लाइ वचाउन लाग्नु हुन्छ ? यो प्रश्न नैं काफि हुन्छ । वातानुकुलित कोठा वस्ने अक्षरको खेती गर्नेहरुले पाखावारीमा दौडनेको पिर वुझ्नसक्नु पर्दछ ।

संरक्षणमुखी हाम्रा कानून छन् । वन्यजन्तुलाई आँखा तरेर पनि हेर्न नमिल्ने तर मान्छेलाई जती दुख दिए पनि हुने खाल्का कानून समातेर वसेका छौं । त्यसै गरी वन क्षेत्रमा हाम्रा नियमित कामहरु नैं हुन छाडे । खेतीपाती हुने जग्गा वाँझो हुन थाले । वाली जोगाउन डिल डिलमा वस्ने, कुकुर लगेर वाध्ने चलन अहिले भेटिन्न । फलत वाँदर लगायत वन्यजन्तुको आतंक वढि देखियो ।

वाँदरवाट क्षति नियन्त्रणकालागि गरिएका अभ्यासहरुको प्रभावकारी देखिएका छैनन् । वनमा नैं फलफूल खेतीको सकारी कार्यक्म नैं ल्याइयो । तर नीजि जग्गामा मलखादको प्रयोग गर्दा त फस्टाउँदैन वनमा हुने कुरा थिएन । वाँदरले पु¥याएको नोक्सानीको क्षतिपुर्ति दिने कार्यििवधि यसै वर्ष देखि वनाएको छ । वाँदरको क्षतिको सोधभर्ना राज्यले कसरी सक्ला भन्ने लागिरहेको छ । यो परिपाटीले खेती किसानीलाई उत्प्रेरित गर्दैन तत्कालिन केही राहत हुन सक्ला ।

रुख काट्ने सन्दर्भमा पोखरा महानगरपालिकाको वडाले निकालेको सूचना अनौठो मान्नु हुन्न । यद्यपी वडाको यो सूचनालाई महानगरले हस्तक्षेप गरी रोकेको व्यहोरा सार्वजनिक भैरहेको छ । नीजि जग्गाको वयस्क रुख काट्दा किन आपत्ती ? रुख भनेकै काट्नकोलागि हो । वाली कान्लाको रुख काट्न उत्प्रेरित गर्दा अनेक गाली गर्न सुहाउँछ र ? बरु वन कार्यालयमा आल्मुनियमको झ्याल ढोका प्रयोग गरेको देख्दा चाँही लाज मान्नु पर्ने हो । आफुसँग भएको साधान स्रोतको सदुपयोग नगर्ने विदेशी सामान भर पर्दा के मुलुक समृद्धि होला र ? वयस्क रुख कटाउ, पैसा कमाउ वाँदर भगाउ अभियान जरुरी छ । मेरो रुख म काट्छु भन्दा के को आपत्ती ? सरकारको रुख म काट्छु भनेको हो र ? अनी वडा कार्यालयले जबरजस्ती काट्नै पर्दछ भनेको पनि छैन । सहयोगकोलागि आव्हान गरेको छ ।

जस्ले जे सुकै भने पनि स्थानीय सरकार वा वडा कार्यालयको यो सूचनालाई कृषि अभियानको तर्फवाट सम्मान छ । वाँदरले दिएको पिडालाई राष्ट्रिय वहसमा ल्याइदिएको छ । यो सवाललाई प्रभावकारी सम्वोधन गरिनु पर्दछ । सूचना जारी गर्ने वडाध्यक्षलाइ सामाजिक सञ्जालमा दिएको विशेषण देख्दा अचम्म लाग्दछ । वाँदर नियन्त्रणको कुनै उपाय ननिकाल्ने अनी एक वडा कार्यालयले अभ्यास गर्न खोज्दा उल्लीविल्ली वनाउने कुराको कुनै पनि हालतमा समर्थन गर्न सकिन्न ।

जस्ले त्यो सूचनाको विरोध गर्नु भयो । तपाइलाई प्रश्न छ, विकल्प दिनुस् । हैन भने ग्रामिण अर्थ तन्त्रलाई जोगाउने एक प्रयासलाइ सहयोग गर्नुहोस् । मर्नु भन्दा वौलाउन निको भन्ने पुरानो भनाइ सुन्नु भएकै होला । त्यसैले भन्ने आँट गर्नु होस् । अध्ययन गर, आवश्यक भन्दा वढि संख्यामा रहेका वाँदर र अन्य वन्यजन्तुको व्यवस्थापन गर । बाँदर र वन्यजन्तुसँग कृषिमा काम गर्नेको रिस होइन । आफ्नो बाली नोक्सान गरेकोमा पिडा मात्र हो । त्यो पिडा खेप्ने ठाउँमा तपाई भएको भए के गर्नु हुन्थ्यो । यो सोची दिनुहोस्, बस् पुगिहाल्छ । धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *