शहरको बसाई गृहिणीको कमाई

राजनीति लेख

‘शहरमा घर नजिक मन टाढा तर गाउँमा घर टाढा मन नजिक’ । यो शब्दावली फेसवुक तिर बेलामा बेलामा स्टाटसको रुपमा पढ्न पाइन्छ । तथापी शहर धेरैको रोजाईमा पर्दछ । केहीको वाध्यता होला तर धेरैका रहरमा पर्दछ शहरको बसाई । शहरमा वसोवास गर्ने कारण जेसुकै होस् तर शहरी सुविधा प्रधान विषय हो । तर विडम्वना ग्रामिण क्षेत्रको तुलनामा शहरमा वातावरण तथा संगत हिसावले सकस नैं हुन्छ । भनिन्छ, शहरमा पैसा भए पछि सवै कुरा पाइन्छ । शहरका मान्छे उपभोक्ता हुन् तर उत्पादक हैनन् । विभिन्न तौरतरिकाले पैसा कमाउँछन् । सकेसम्म सुविधा सम्पन्न जीवन चलाइरहेका हुन्छन् ।

दुई चार आनेहरु
२०६४ साल तिर नरेफाँट जडिवुटीमा एक सानो घर किन्यौं । घरको वरीपरी धेरै जग्गा खाली थियो । घरै अगाडीको अर्काको घडेरीमा साग लगाइयो । खोला पारी तिरका पुराना रैथानेहरुले गाई चराउन ल्याउँथ्ये । तिहारको दिन थियो । हामी घरवाहिर किनमेलकालागि गएका थियौं । फर्केर आउँदा गाईले साग खाइरहेको देख्यौं । छेउमा गाई हेर्ने मान्छे पनि थियो । करायौं । गाईलाई किन साग खान दिएको ? उस्ले ‘२ आना किन्छौं अनी ४ आनामा तरकारी लगाउँछौं’ भनी हका¥यो । दुआने संज्ञा दियो । म थप आक्रोशित भएँ । अनी भनें के को चासो जती सुकै जग्गा होस् । उस्ले ‘तपाइलाई चाँही के को चासो गाइले जे सुकै गरोस्’ भन्यो । मलाई अचम्म लाग्यो अनी भनें यसरी साग खुवाउन पाइन्छ ? उस्ले ‘तपाइको साग भए तपाई गोठालो वस्नुस् म मेरो गाईको गोठालो हुँ, तपाइको सागको होइन’ भन्यो । त्यो तर्क संझदा अहिले पनि म अलमल परी टोलाउँछु । अहिले गाईले साग खाने समस्या छैन किनकी साग लगाउने स्थानहरुमा घरहरु बनीसके । घरसँग घरै टाँसिएका छन् । हरियो भन्ने कुरा गमला र कौशीमा देखिएला । जमिन देख्न पनि मुस्कील परिरहेको छ । माटो चाहियो भने गमला कोट्याउन जानु पर्ने अबस्था भैसक्यो ।

उपत्यका वाहिरबाट आएकाहरुको वाक्लै घर छन् । कसैले कुनै शहरी क्षेत्रमा वस्छु वा घर छ भन्यो भने कहाँबाट आएको भनेर सोध्दा फरक पर्दैन । अनी त्यसता मानिसहरुले जग्गा किन्ने भनेको २,४ आना नैं हो । त्यहि भएर रैथानेहरुले हामीहरुलाई दुआने भनेर हेप्थ्ये । तर अहिले ती रैथाने पनि रोपनीबाट आना तिर झरिसके होलान् ।

घर नजिक मन टाढा
यो शहरी परिवेशमा आसपासमा वसोबास गर्नेहरु विच आपसी सद्भाव तथा भाईचारा सम्वन्ध कायम गर्नकालागि अनेकानेक कोशिस भएका छन् । विभिन्न टोलहरुमा समूहहरु क्रियाशिल रहेका छन् । ती सामुदायिक संस्थाहरुले अनेक कामहरु गरिरहेका छन् । यसै सेरोफेरोमा भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नं. ३ गठ्ठाघर नजिकैं एक टोल सुधार संस्था गठन भएको छ । यो संस्था गठन भएको धेरै भएको पनि छैन । अरु ठाउँमा विकास भएको तर आफ्नो ठाउँमा कसैले चासो नदिएको महशुस गरेर अनेक पटक छलफल गरेछन् । भैरहेका अरु टोल सुधार संस्थासँग मिलेर काम गर्ने कोशिस पनि भएछन् ।

तर संभव भएनछ । अरुले हेपेको हो कि भन्ने लागेछ । वन तथा सामाजिक अभियानमा क्रियाशिल विना श्रेष्ठ लगायतकाले अगुवाइ गरे । पटक पटक छलफल गरे । वरिपरीका परिवारसँग ८० घरजती मिलेर ‘हरियाली मार्ग टोल सुधार संस्था’ गठन गरे । जिल्ला प्रशासन कार्यालय भक्तपुर दर्ता गरे । संस्थागत हैसियतका साथ संगठनमा तागत हुन्छ भनेर सवै मिलेर वडा कार्यालयमा डेलिगेशन गए । सवै तिर ढलको व्यवस्था भएको तर आफ्नो क्षेत्रमा नभएको गुनासो गरे । सामुहिकता बल स्वरुप त्यो कार्य पूरा भयो । अति अपरिहार्य रहेको ढलको कामलाई व्यवस्थीत गर्न सकेकोमा सवै दङ्ग परे । थप काम गर्न सकिन्छ भन्ने आत्मविश्वास वढेछ । अबको प्राथमिकता सडकलाई कालोपत्रे गर्ने रहेको छ । छिट्टै हुने आशामा छन् । चाडबाडको सन्दर्भमा शुभकामना आदान प्रदान अनी सामुहिक देउसी भैलो समेत खेल्ने गरेका छन् । घर जस्तै मन पनि नजिक पार्ने कोशिस भैरहेको छ ।

शहरीयाको फरक सम्पन्नता
शहरी क्षेत्र सवै घर परिवारका मानिसहरुको रोजगारी भए पनि सवैको समान हैसियत पक्कै हुँदैन । यहाँ पनि कमजोर वर्ग हुन्छन् । एकै स्थानमा वसोवास गर्ने परिवारहरु एक आपसमा फरक हुन्छन् । त्यसै गरी परिवार भित्र पनि फरक हुन्छ । अझ काठमाडौं उपत्यकामा त धेरै वाहिरी जिल्लाबाट आएर वसेका हुने हुँदा धेरै खालको विविधिता हुन्छ । संस्कारमा फरक हुन्छ । चालचलन, वोली बचनमा फरक हुन्छ । ८० घरहरु ४० जिल्लाबाट आएका हुन सक्दछन् । त्यसैले परिवेश अनुसारको वुझाई र हुर्काइ हुन्छ । ती सवैको सामाना गर्दै बस्नुको विकल्प छैन । त्यसैले त्यहाँ समानता हुने कुरै भएन ।

लैङ्गिक रुपले हेर्ने हो भने महिलाहरु कमजोर नैं छन् । महिला भित्र पनि रोजगारी भएका र नभएका विचमा फरकपन छ । पैसा सवैले खर्च गर्नु पर्दछ तर अरुसँग माग्ने कि आफ्नो आफैले गर्ने भन्ने देखिन्छ । घरायसी काममा लागि रहँदा फुर्सद त हुँदैन तर पैसा कमाउने काम गर्न नपाउँदा गृहणीको पिडा रहेको पाइन्छ । जुन कुरा स्वभाविक पनि हो । ग्रामिण क्षेत्रको भन्दा शहर क्षेत्रका गृहणीहरुको काम र तौर तरिका फरक हुने गर्दछ । गाईवस्तुको हेरचाह र बाख्रा पाठाको स्याहार गर्नु पर्दैन ।

खाना पकाउँदा पनि दाउरा प्रयोग हुन्न । लुगा धुँदा पनि मेसीन हुन्छ । समय बचत हुन्छ । अनी त्यो बेलामा अनुत्पादक सिरियल मात्र हेर्ने रहर पनि सवैलाई हुँदैन । यो परिवेशमा सम्वोधन गर्नकालागि हरियाली मार्ग टोल सुधार संस्थाले गृहणी महिलाकोलागि सिपमूलक कार्यक्रमको खोजीमा जुट्यो । गृहिणीले आफैले कमाएर आफै खर्च गर्न सक्ने हैसियत काम गर्न छलफलमा जुटे । वडा अध्यक्षसँग पनि परामर्श गरे । आफुले अलि अलि जानेको विषयसँग सम्वन्धीत सिप गर्न पाए हुन्थ्यो भनेर गफिए । अचार बनाउने सिपमा थप प्रवद्र्धन गर्ने सोच वनाए । वडा कार्यालयमा आफ्नो चाहाना दर्ता गरे । वडा कार्यालयले पनि आफ्नो बार्षिक कार्यक्रममा ती गृहिणी महिलाहरुको चाहाना सम्वोधन गरि दियो । अनी सुरु भयो साताव्यापी अचार निर्माण तालिम । २५ जना तालिममा सहभागी भए । अनुभवी मिरा वजगाईले तालिम प्रयोगात्मक तालिम दिनु भयो ।

पैसा कमाउन सिप
सिपमूलक तालिम एक वाहाना हो । महत्वपूर्ण कुरा भनेको एकता र प्रतिवद्धता हो । अनी कार्यान्वयन प्रमुख विषय हो । तालिमका अन्तीम दिन सहभागीहरुले अचार निर्माण र बजारीकरणकालागि महिला समूह नैं गठन गरे । मासिक वचत उठाउने निधो मात्र गरेनन् । उठाउनैं थाले । तालिम अवधीमा झण्डै दर्जन प्रकारको अचार बनाउन सिके । बट्टा प्यांकिङ्ग गरे । अनी वजारमा लैजान तयार पारे ।
पैसा नभइ जीवन चल्दैन । त्यो भन्दा महत्वपूर्ण कुरा आफैले पैसा कमाउँदा आत्मविश्वास वढ्छ । शहरी क्षेत्रका हरेक गृहणिले पैसा चलाइरहेका नैं हुन्छन् । किनकी खर्च पलपलमा चाहिन्छ । त्यो खर्च गर्न अति नैं मुस्किल पनि पर्दैन ।

तर आफैले कमाएको र अरुले दिएकोमा धेरै फरक परेको अनुभव गृहणीसँग रहेको छ । त्यसैले अचार बनाउने, वेच्ने र पैसा कमाउने सोचका साथ सिपमा निखारता ल्याउन लागेको भन्नु हुन्छ भरखरै गठन भएको हरियाली महिला समूहका अध्यक्ष अनामिका अमात्य । उहाँहरुले नजिकको डिपाटर्मेन्ट स्टोरहरुमा गएर बजारको चाँजोपाँचो पनि मिलाइ सक्नु भएछ । सबै खुसी छन् । सामुहिक अठोट गरेका छन् ।

अन्त्यमा, जहाँ जता बसोबास गरे पनि सापेक्ष रुपमा सबैको एकै अवस्था हुँदैन । अलग अलग पनि बस्न सकिन्न । फरक स्थानमा बसाई सरे पछि त्यहींको संगती खोज्नु पर्दछ । मर्दा पर्दा त्यही छिमेकी नैं काम लाग्दछ । त्यसैले एक आपसमा सामाजिक भाइचारा र सुमधुर सम्वन्ध कायम हुनु पर्दछ । वरपर बसोवास गर्नेहरु विचमा आर्थिक समृद्धिको काम पनि हुनु पर्दछ । पैसा भएर मात्र हुँदो पनि रहेनछ । त्यो पैसा कसरी आएको कुराले पनि अर्थ राख्दो रहेछ । गृहणीलाई कसैले दिएको पैसाबाट चित्त वुझ्दो रहेनछ । उनीहरु केही काम गर्न खोज्दछन् ।

आफैले केही कमाउन चाहन्छन् । त्यसको एक मेसो अचार उत्पादन र बजारीकरणमा जुटेका छन् । लुट्नु हुन्न, ठग्नु हुन्न, गैर कानूनी काम गर्नु हुन्न तर पैसा कमाउनु पर्दछ भन्ने मान्यता सबैले बोक्न जरुरी छ । शहरी महिला अझ गृहणीहरु पनि आफ्नो सिप प्रवद्र्धन गर्दै पैसा कमाउन लागि परेका छन् । उत्पादनमा क्रियाशिल गृहिणीहरुलाई शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *