ठगीधन्दामा मिटरब्याजीसँगै एनआईसी एशिया बैंक पनि

अर्थ/वाणिज्य राजनीति समाचार

काठमाडौं । संसरभरि सर्वसाधारण जनताले सहकारी, बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिने प्रावधान छ । बैंक वित्तिय संस्थाबाट सर्वसाधारणले ऋण लिनको लागि उनीहरुको नीतिनियम अनुसार चल्नुपर्छ । तर, नेपालमा भने ‘कहीँ नभएको जात्रा भाँडी गाउँमा’ भनेजस्तै बैंक, फाइनान्स, सहकारी, लघुवित्त कम्पनीलगायत विभिन्न नाममा खोलिएका वित्तीय संस्थाहरुले आफूखुसी मनपरी ढंगले ऋण प्रवाह गर्ने गरेका छन् । त्यो पनि ऋणीहरुको श्रीसम्पत्ति धितो राखेर ।

कतिपय सर्वसाधरण र किसानहरुले कृषि उत्पादनको लागि घर जग्गा नै धितो राखेर ऋण लिने गर्छन् । कतिपय सर्वसाधारणले छोराछोरीको शिक्षा, औषधि उपचार, व्यवहारिक गर्जो टार्न पनि वित्तिय संस्थाहरुबाट ऋण लिने गरेका छन् । अधिकांश गरिव तथा अशिक्षित व्यक्तिहरुले सानोतिनो गर्जो टार्न चर्को ब्याजमा पैसा लिने गरेका छन् । चर्को ब्याजमा पैसा लगाउने धन्दा गर्नेहरु शहरदेखि गाउँसम्म प्रशस्तै छन् । उनीहरुले ऋणीलाई दिएको पैसाभन्दा दोब्बर बढी असुल्ने कबुल गरी कागज बनाउने तथा चेक भराउने गर्दछन् । ऋणीले त्यसरी लिएको पैसा बेला–बेलामा तिर्ने गरेका हुन्छन् ।

पैसा दिनेले भने बीच–बीचमा बुझाएको पैसाको हिसाब नराखी पहिलाकै कागज अनुसारको पैसा दावी गरेर ठग्दै आएका छन् । त्यसपनि अझ आफैले अंक थप गरी ऋणीले लिएको वास्तविक ऋणभन्दा कैयौं गुणा बढी रकम दावी गर्छन् । त्यसको गतिलो उदाहरण बनेको एनआईसी एशिया बैंक । एनआईसी एशिया बैंकले यतिबेला अधिकांश ऋणीहरुको धितो लिलामीको सूचना दैनिक प्रकाशित गरिरहेको छ । ऋणीको धितो लिलामीको सूचना हरेक दैनिक पत्रिकामा प्रकाशित गरेको देखिन्छ । बैंकले दावी गरेअनुसारको धितो लिलामी गर्दा ऋणीहरुको उठिवास लगेर सडकमा भौतारिनेहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ ।

यस्ता बैंक तथा वित्तीय संस्थाहरुले अधिकांश सर्वसाधारणलाई सडकमा पु¥याएपछि देशैभरिबाट मिटर ब्याज पीडितहरु पनि त्यसमा थपिएका छन् । थपिएका मात्रै छैनन् उनीहरुले सडक आन्दोलन पनि छेड्न थालेका छन् । मिटरब्याजी, बैंक, सहकारी, फाइनान्स र लघुवित्त पीडितहरु धेरैजसो तराइवासी रहेको देखिन्छ । उता, सहकारी, फाइनान्स र लघुवित्त कम्पनीका सञ्चालकहरु सर्वसाधारणले जम्मा गरेको पैसा हिनामिना गरी भाग्ने क्रम बढिरहेको छ । ती वित्तीय संस्थाका सञ्चालकहरु भागेका मात्रै छैनन् ऋणीहरुको जायजेथासमेत गुम्न पुगेको छ । यदि सरकारले यसको नियन्त्रण नगर्ने हो भने भोलिका दिनमा बैंक तथा वित्तीय संस्थाप्रति आइपर्ने खतरा पनि त्यत्तिकै छ ।

मिटरब्याजी पीडितहरुले आन्दोलन गरिरहँदा त्यसको समर्थनमा नेकपा एमाले युवा संघ र एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले ऐकेवद्धता जनाएका छन् । हिजोका दिनमा मिटरब्याजी तथा बैंक पीडितहरु एक्लै सडमा थिए भने आज स्थापित राजनीतिक पार्टीहरुले समर्थन जनाएपछि उनीहरुले न्याय पाउँछन् कि पाउँदैनन् त्यो प्रतिक्षाको विषय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *