कांग्रेसबाट पेलिएका सचिवले राहत पाउँदै

राजनीति समाचार

काठमाडौं । सत्ता समीकरणमा आएको फेरबदलसँगै उच्च तहका प्रशासकहरु भलिबल बन्ने पालो आएको छ । जस्को संकेत सोमबारै देखिसकेको छ । गृह सचिवका रुपमा रवि लामिछानेले एकनारायण अर्याललाई भित्र्याएका छन् । मन्त्री नियुक्ति भएको एक साता नबित्दै उनले अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृहमा लगेका हुन ।

यसमा श्रम मन्त्री डिपी अर्यालको मुख्य भूमिका छ भनिदैंछ । एकनारायण सामान्य प्रशासनमा हुँदादेखि नै गृह ताकेर बसेका थिए तर माओवादी र काँग्रेसका मन्त्रीहरुले पत्याएका छन् । १९ दिन श्रममन्त्री हुँदा डोलप्रसादसँगै काम गरेका अर्याल उनकै चाँजोपाँजोमा गृह पुगेको चर्चा प्रशासन क्षेत्रमा चलिरहेको छ । यस अघि काँग्रेसका मन्त्री हुँदा पेलानमा परेका सचिवहरु महत्वपूर्ण जिम्मेवारी पाउने देखिएको छ । आरजु राणालाई मनाएर सामान्य प्रशासनबाट अर्थ मन्त्रालयमा दोहोरिने सौभाग्य पाएका कृष्णहरि पुष्कर अर्थबाट बाहिरिने प्रवल सम्भवना रहेको अर्थ स्रोतले जनाएको छ ।

माओवादी नेता वर्षमान पुन र जनार्दन शर्माबीचको प्रतिस्पर्धाका कारण पुष्कर अर्थबाट निकालिँदैछ भन्ने तर्क सुनिदैंछ तर माओवादी निकटका सचिवका रुपमा चिनिएका कृष्ण राउत र रामकृष्ण सुवेदी हुन । सुवेदीले अर्थ ताकिरहेको भए पनि उनलाई सञ्चारबाट चलाइने सम्भवना कम छ भनिन्छ । अर्जुन पोखरेल सम्भवत नयाँ अर्थ सचिव बन्नेछन् । अर्थमन्त्री पुनले बजेट निर्माणको मुखमा सहसचिवको सेटै परिवर्तन गर्न खोज्दैछन् । यस अघि बूढानिलकण्ठ दरवारलाई खुसी पारेर प्रदेशबाट उद्योगमा फड्को हानेका मुकुन्द निरौला, बाणिज्य सचिव नारायण शर्मा दुवाडी, रक्षा सचिव किरण शर्माहरु त्यहाँबाट फालिने सम्भवना छ । यी तिनै मन्त्रालय एमालेसँग छ । कानुनमा पदम गिरी पुगेका कारण उदयराज सापकोटा फेरि प्रधानमन्त्री कार्यालयतिरै फर्कने चर्चा छ ।

त्यसो भएमा लीलादेवी गड्तौला कानुन फर्कनेछिन् ।यता कृष्ण सिटौलाका खास मानिएका सुरेश आचार्यलाई नेपाल ट्रष्टको कार्यालयतिर मिल्काइने सम्भवना छ । उनी ट्रष्टमा पुगे भने त्यहाँका सचिव विश्वबाबु पुडासैनीलाई खानेपानीमा भित्रनेछन् । नवनियुक्त सामान्य प्रशासनमन्त्री भानुभक्त जोशी र सामान्य सचिव विनोद सिंहको टसल शुरु भइसकेको सामान्य स्रोतले जनाएको छ । कथं विनोदलाई त्यहाँबाट हटाइएको खण्डमा राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तोयम राया र बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्याय सामान्यमा भित्रने चर्चा चल्दैछ ।

उता जनसंख्या मन्त्रालय कार्यरत सचिव देवकुमारी गुरागाई सेवा हद लागेर घर फर्किएसँगै एकै पटक पाँच सचिव पद रिक्त हुन पुगेको छ । देवकुमारीको ठाउँमा शिक्षातिरका सहसचिवहरु चुणामणि पौडेल, डा हरि लम्साल र हाल गृहमा रहेका केदारनाथ शर्माबीच प्रतिष्प्रर्धा हुँदैछ । तर बढूवा गरेर कहाँ लगेर नियुक्ति दिने समस्या छ । कारण अहिले प्रधानमन्त्री कार्यालयको दरबन्दी काटेर तीन जनामात्र सचिव राख्ने भनिएको छ । त्यहाँ अहिले रहेका ७ सचिवमध्ये ४ जनालाई कहाँ लगेर थन्काउने टुंगो छैन ।

अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एकनारायण अर्याल,अर्जुनप्रसाद पोखरेल,कानुन तर्फ लीलादेवी गडतौला,इन्जिनियरिङ्गतर्फ सरजुकुमार वैद्य,गणेशप्रसाद पाण्डेय र विशेष दरबन्दीमा खगेन्द्रप्रसाद नेपाल कार्यरत छन् । प्रधानमन्त्री कार्यालयमा तीन जना सचिव मात्र राख्ने निर्णय भएको छ तर प्रधानमन्त्री कार्यालयमा अहिले सात जना सचिवको दरवन्दी प्रधानमन्त्री कार्यालयको वेवसाइटमा देखाइएको छ त्यसमा एकजना त खाली देखाइएको छ ।यदी साच्चै ओएण्डएम इमान्दारितापूर्व कार्यान्वयन गर्ने हो भने त्यसको शुरुवात नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गर्नुपर्ने हुन्छ ।

अनि दरवन्दी नभइ सहसचिवलाइ सचिवमा बढूवा गर्न मिल्दैन न त बढुवा गरेर कायम मुकायम नै दिन मिल्छ । सचिव खाली हुदा बढूवा गर्न मिलिहाल्ने भए सूर्य गौतम अवकाश भए पछि पनि सचिव बढुवा गर्न मिल्थ्यो । प्रधानमन्त्री कार्यालयमा वढी रहेका तीन सचिवलाइ अन्यत्र व्यवस्थापन गर्ने र खाली एकजनाको दरवन्दी हटाउनु पर्ने हुन्छ । होइन भने अझै बांकी दुइ जना सचिव केवल भण्डारी र सुरेश अधिकारी अवकाश भएपछि मात्र आगामी वैशाखमा मात्र यी तीनमध्येबाट एक लाई सचिव बढूवा गर्नुपर्ने बताउँदैछन्,प्रशासकहरु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *