सरकार बनाउने र भत्काउने खेलले देश बर्बादितिर

राजनीति समाचार

नेताहरु छिमेकी मुलुकहरुको गोटी बन्दै
काठमाडौं । ठूलो दल कांग्रेससहित अन्य दलसँग गठबन्धन गरेर बनाएको सरकार १५ महिना नपुग्दै भत्काएर अर्को पाँच दलीय गठबन्धन सरकार बन्न पुगेको छ । यो पाँच दलीय गठबन्धन सरकार पनि कहिलेसम्म टिक्ने हो निश्चित छैन । तत्कालीन गठबन्धनभित्र भएको सहमति एकाएक तोडेर प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले पुरानै गठबन्धनसँग फर्किएर सरकार बनाएका छन् । पुरानो गठबन्धनमा फर्किए तापनि त्यसमा सामेल दलहरुबीच कस्तोसहमति भएको छ भन्ने अहिलेसम्म जानकारी छैन । भन्नको लागि नेकपा माओवादी केन्द्र र एमालेले आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने भनिएको छ ।

तर, अहिलेको स्थिति हेर्दा त्यो सम्भव देखिँदैन । अहिलेको पाँच दलीय गठबन्धन भत्काउनको लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसदीय दलको नेता छाड्न पनि तयार हुने देखिन्छ । उता, प्रचण्ड र माधव नेपालहरुले वाम एकताको नाममा समाजवादी मोर्चा गठन गरे तापनि त्यसको उपस्थिति कतै देखिँदैन । उता, नेकपा एमाले र नेकपा एकीकृत समाजवादी मिल्ने सम्भावना बढेर गएको छ । केही नेताहरु पूर्वनेकपा ब्यूँत्याउने खेलमा जुट्न पनि थालेका छन् ।

तर, उनीहरुको खेल तत्काल सफल हुने देखिँदैन । त्यस्तो खेलमा सफलता हासिल गर्न नेपालका नेताहरुले चाहेर मात्रै पनि हुँदैन । त्यसमा उत्तरी छिमेकी मुलुक चीनको सहयोग पनि चाहिन्छ । चीनले नेपालका वामपन्थी दलहरुलाई एक ठाउँमा ल्याउन खोजे तापनि अर्को छिमेकी मुलुक भारतले त्यसलाई भत्काउने काम गर्र्दै आएको छ । अहिलेको खेलमा त्यो नहोला भन्न सकिँदैन । नेपालमा हिन्दू राष्ट्र कायम गराउन भारत भित्रभित्रै खेलिरहेको छ ।

उता, युरोपियन मुलुकहरुले नेपालमा धर्मनिरपेक्ष राज्य कायम राख्न पनि त्यत्तिकै प्रयास गरिराखेका छन् । नेपालका नेताहरु छिमेकी मुलुकसँगै अन्य दाता राष्ट्रको फुटबल खेलामा परिराखेका छन् । त्यो फुटबल खेलमा कुन पार्टी सफल हुने हो अहिलेसम्म निश्चित छैन । कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई प्रधानमन्त्री बनाएर अर्को गठबन्धन नगर्लान् भन्न सकिँदैन । अर्कोतिर कांग्रेसको समर्थनमा ओलीलाई प्रधानमन्त्री बनाउने खेलोफड्को पनि भित्रभित्र चलिरहेको छ । यस्तो खेलले प्रधानमन्त्री, मन्त्री बन्नेहरुलाई फाइदा होला तर देश र जनताको घातक बन्दै गएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *