गृहमन्त्रीकै कारण सरकारको आयु निर्धारण हुने
काठमाडौं । नेपालको राजनीतिक गठबन्धन एकाएक परिवर्तन भएसँगै छिमेकी मुलुक भारतमा लोकसभा निर्वाचन हुँदैछ । सो निर्वाचन ७ चरणमा सम्पन्न गर्ने तयारी हुँदै छ । यतिबेला विश्वले भारतको निर्वाचनलाई नियालीराखेका छन् । भारतले ७ चरणमा निर्वाचन गर्दैछ । कसले बहुमत ल्याउँछ त्योे एकिन छैन । त्यस्तै भारतको निर्वाचनलाई मध्येनजर गरी नेपालका राजनीतिक दलका नेताहरु भारत भ्रमण गर्ने तयारीमा छन् । नेपाली कांग्रेसकी नेतृ डा.आरजु भारत गइसकेको बताइन्छ ।
भारत सरकारले पनि आमनिर्वाचनलाई लिएर नेपाल–भारतबीच सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाउने तयारी गरिराखेको छ । भारतको निर्वाचनतिर सबै नेताको ध्यान केन्द्रित भएपछि नेपालको राजनीतिमा कस्तो खिचडी पाक्ने हो त्यो पनि निश्चित छैन । उता, भारतीय नेताहरु लोकसभा निर्वाचनमा होमिएका छन् ।
नेपालका वामपन्थी नेताहरु एक भएर २०८४ को निर्वाचनमा होमिने कसरत गरिरहेका छन् । तर, नेपालमा वाम एकता हुन्छ कि हुँदैन अहिले नै निश्चित भएको छैन । तर, सबै वाम एक ठाउँ नभए तापनि नेकपा एमाले र नेकपा एकीकृत समाजवादीलाई मिलाएर अगाडि बढ्ने कसरत भित्रभित्रै भइरहेको छ । एमाले र एकीकृत समाजवादी मिल्दा नेकपा एमाले ठूलो दलको हैसियतमा पुग्ने छ । दुई पार्टी मिलेको खण्डमा ठूलो दलको हैसियतले एमालेको नेतृत्वमा अर्को सरकार नबन्ला भन्न सकिँदैन ।
यदि एमालेले सरकार बनाएको खण्डमा मध्यावधी निर्वाचन गराउने अथवा त्यसमा खेलेर नेपाललाई अस्थिरतातिर धकेल्ने खेल पनि भइरहेको छ । कतिपय वामपन्थी पार्टीका नेताहरु वाम एकताको पक्षमा छन् भने कतिपय नेताहरु पार्टी एकता नगर्ने सरकारमा कार्यगत एकता गर्ने पक्षमा रहेको देखिन्छ । हालको ५ दलीय गठबन्धन सरकारका गृहमन्त्री रास्वपाका सभापति रवि लामिछानेले सुन तस्करी काण्डमा मुछिएका व्यक्तिहरुलाई धमाधम पक्राउ गर्न थालेपछि प्रतिपक्ष दल कांग्रेसले त्यसको विरोध गरिरहेको छ ।
यता सरकारको नेतृत्व गरिरहेका माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टीका नेता, नेताका छोरा र कार्यकर्ता पक्राउ परिरहँदा मुख खोलेका छैनन् । उता, गृहमन्त्री रवि आफै सहकारी ठगीमा मुछिएर विवादमा परिराखेका छन् । सहकारी पीडितहरुले गृहमन्त्री रविमाथि कारबाही हुनुपर्ने माग गरिरहेका छन् । तर, प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री रविको बारेमा कुनै दोषको प्रमाण नभएको भन्दै ढाकछोप गरिरहेका छन् । सरकारको साझेदार दल नेकपा एमालेले गृहमन्त्री रविलाई उक्साएको जस्तो देखिन्छ । नेपाली कांग्रेसले गृहमन्त्री रविको राजीनामा माग गर्दै संसद अवरोध गरिरहेको छ ।
गृहमन्त्री लामिछाने आफूले कुनै गल्ती नगरेको भन्दै बडो उत्साहका साथ अगाडि बढेका छन् । के अब गृहमन्त्री लामिछानेले सुन तस्करी प्रकरण, नक्कली भुटानी शरणार्थी काण्ड, बालुवाटार जग्गा काण्ड, निर्मला हत्या प्रकरण र भ्रष्टाचार काण्डका फाइलहरु अगाडि बढाउन सक्लान् त ? तर, यस्ता जघन्य काण्डका फाइल अगाडि बढाएर दोषीलाई कारबाहीको दायरामा ल्याएको खण्डमा गृहमन्त्रीको पद नै धरापमा पर्ने देखिन्छ । यी प्रकरणका फाइलहरु अगाडि ल्याएको खण्डमा सरकारै गिर्ने देखिन्छ ।