ananta gurung

काठमाडौंका मेयर बालेनको शासकीय प्रभावकारीता

राजनीति लेख

एक सामान्य इन्जिनियर बालेन शाह काठमाण्डौको मेयर बन्लान भन्ने कसैले पनि सोचेका थिएनन् । लौरो चुनाव चिन्ह लिएर एक स्वतंत्र उम्मेद्वारको रुपमा काठमाण्डौको मेयर पदका लागि चुनावी मैदानमा उत्रेका बालेनले आखिरमा स्थापित दलहरुको सबै मेयर पदका उम्मेद्वारहरुलाई धेरै मतको अन्तरले हराएर काठ मेयर बन्ने आफ्नो लक्ष पुरा गर्न सफल भए ।

काठमाण्डौको मेयर बनेसंगै उहाँको काँधमा ठुलो जिम्मेवारी पनि आयो जसलाई पुरा गर्न उहाँलाई फलामको चिउरा चपाएर पचाउनु बराबर नै थियो । ठुलो जनसमर्थनका साथ चुनाव जितेर मेयर बनेको हुँदा बालेन शाहाको हौसलामा कुनै कमी थिएन । उहाँलाई चुनावमा सघाएका र भौतिक समर्थन गरी चुनाव जिताउने नेपाली युवापिढीले चुनाव पछाडि पनि निरन्तर उहाँको समर्थन गरीरहेका छन । उहाँको काममा बाँधा पर्याउने वा बाँधा हाल्न खोज्ने जोकोहीलाई पनि नेपाली युवापिढीले सशक्त बिरोध जनाएर रोक्दै छेक्दै आएकाछन । काठ मेयर बालेनले पनि काठमाण्डौ महानगरपालिका भित्र देखिने बाहिरी सुधार कार्य खुबै गरेकाछन ।

काठमाण्डौ महानगरपालिकाको पूर्व मेयरहरुले कहिले सुधार गर्न नसकेको र भद्रगोल बनाएर राखेको सार्वजनिक जग्गाहरु त्यसमा गैरकानुनी रुपले बनेका वा बनाएका पूर्वधारधार संरचनाहरु भत्काउनमा मेयर बालेन शाहाले ठुलो सफलता पाउनु भएकोछ । काठ मेयर बालेनले बिनाभेदभाव कसैको दबाब वा प्रभावमा नपरी सबैलाई कानुनी कार्यबाही चलाउनु भएको हुँदा काठमाण्डौका पूर्व मेयरहरु कसैले पनि पाउन नसकेको सफलता उहाँलाई प्राप्त भएको छ । अझ पनि मेयर बालेनले थालेको काठमाण्डौ महानगरपालिकाको सूधार कार्य पुरा भएको छैन । लहरा तान्दा पहरा थर्कियो भनेको जस्तै मेयर बालेनले काठमाण्डौ महानगरपालिका भित्रको सुधार कार्य गर्दै जाँदा नयाँ नयाँ समस्याहरु आउनको साथै सार्वजनिक जग्गाहरु कव्जा गरी बसेकाहरु सूचिमा थपिएका छन् ।

कतिले अदालतबाट निषेध आज्ञाहरु ल्याएर बालनको सुधार कार्यलाई रोकेका पनि छन तर पनि मेयर बालेन हिम्मत नहारी सबै चुनौतीहरुको समाना गर्दै अगाडि बढेका छन् । मेयर बालेनको सुधारका कदमहरु सुस्त र बाधित भएपनि रोकिएको छैन र निरन्तर अगाडि बढेकोबढेकै छ । मेयर बालेनको पहिलो बर्षको सुधार कार्यक्रम भत्काउने र साईट क्लियर गर्नेमा ध्यान केन्द्रित भएको देखिन्छ । प्रष्ट नै छ कि आगामी बर्षमा मेयर बालेन त्यसमा निर्माण कार्यक्रम पनि थाल्नु हुनेछ जसको प्रतिक्षामा उहाँलाई भोट हालेर चुनाव जिताउने काठमाण्डौ बासी उत्सुकताको साथ प्रतिक्षारत छन ।

काठ मेयर बालेन माथि काठमाण्डौ बासीले मात्र होइन समस्त नेपाली जनताले धेरै अपेक्षा राखेकाछन । अहिले सम्म उक्त आमअपेक्षामा काठ मेयर बालेन शाहा खरो उत्रेर देखाउनु भएको छ । अब आउने भविष्यकालमा पनि काठ मेयर बालेनले कसैलाई पनि निरास नतुल्याउने आम जनअपेक्षा कायम नै राख्ने छन भन्ने सबैको मनमा पूर्णबिश्वास जागेकोछ । काठमाण्डौ सहर भित्र चुनौतीका साथसाथ अवसरहरु पनि धेरै भएको हुँदा नेपाली जनता संघिय राजधानी काठमाण्डौ सहरमा नै आएर आफ्नो भाग्य अजमाउन चाहन्छन । त्यसो हुँदा काठामाण्डौ सहर भित्र फुटपाथ पसलहरु देखि लिए ठेलगाडाहरुमा फास्टफुड लगायत तरकारी बेच्ने सम्मका व्यापार व्यवसायहरु चम्किएका थिए ।

मनाहरा, बागमती, धोबीखोला, टुकुचा, बिष्णुमती लगायतका नदी किनाराहरुमा जोखिम मलेर नै भएपनि अस्थाई घरटहराहरु बनाएर बसोबास गर्दै आएकाहरुमा तिनै फुटपाथे र ठेला व्यापारीहरु र व्यवसायीहरु कै बाहुल्यता रहेको थियो । तर पछिल्लो चरणमा दलिय राजनीतिमा लागेकाहरुले त्यसको राजनीतिककरण गरी स्थायी बसोबास गराउनेहेतुले दलाली व्यवस्थापन सुरुगरेका थिए । उता ललितपुर महानगरपालिका तर्फ भने यसप्रकारको अतिक्रमण भएको देखिएको छैन ।

काठ मेयर बालेन शाहाले भने काठमाण्डौ सहरको सुन्दरता र यातायात व्यवस्थापनमा जोड लगाउँदै फुटपाथ र ठेला व्यापारीहरु र व्यवसायीहरुलाई हटाउने अभियान नै चलाएका छन । यसो हुँदा धैर निम्न वर्गका नेपालीहरुले पैसा कमाएर आफ्नो र परिवारजनको जीउ पाल्ने अवसरहरु गुमाएका छन । महाभूकम्प र कोभिड १९ बाट पीडित निम्न वर्गका नेपली जनता कमाउने अवसरहरु गुमाउनु पर्दा झनै पीडित भएकाछन । धनी वर्ग र केही माध्यम वर्गका नेपालीहरुले बाँधारहित चौडा सडक फुटपाथ र धुलोधुवारहित सहर पाएकाछन भने गरिब वर्गका नेपालीले भने कमाउने अवसरको साथसाथ नदी किनारमा निशुल्क बसोबास गर्न पाउने अवसरहरु गुमाएका छन् ।

काठमाडौ महानगरका पूर्व मेयरहरुले उचित ध्यान दिन नसकेकाले यस्तो जटिल परिस्थिति र चुनौती थपिएको हो । काठ मेयर बालेन शाहाले अब निम्न वर्गका नेपालीहरुले गुमाउनु परेको अवसरलाई पुर्नस्थापित गर्ने विकल्पहरुको व्यवस्थापन गर्नु पर्ने हुन्छ । नेपालमा कम्युनिष्ट पार्टीहरुको नेतृत्वमा पुँजीवादी शासन व्यवस्था चल्दै आएकोछ । कम्युनिष्टहरु कै शासनकालमा नेपाली जनताको सबै भन्दा पीडित तप्कामा पर्ने निम्न वर्गका नेपालीहरुले साह्रै नै दुःख पाउँदै आएका छन ।

पहिलेका शामन्तीहरु नयाँ नयाँ रुपमा नेपाली समाजमा देखा परेकाछन । कोही सहकारी, कोही लघुवित्त, कोही मिटरव्यजी र कोही निजी बैंकको रुपमा पहिले देखि नै पीडित हुदै आएका नेपाली जनतालाई झन पीडित बनाउने कामहरु थालेका छन । यस्ता बहुरुपीहरुले नेपाली जनतालाई सुकुमबासी बनाएर उनीहरु सबैको चलअचल सम्पत्ति कव्जागरी वैदेशिक रोजगारीमा जान बाध्य पार्ने अवस्था श्रृजना गरीदिएका छन । यसो त नेपाल राष्ट्र र नेपाली जनताको हित हेर्ने काम नेपाल सरकारको नै हो जुन दलहरुले बेलाबेलामा आफ्नो आफ्नो अनुकूलतलाई हेरी गठबन्धन गरी नेपाल सरकार बनाउँदै आएकाछन । दलहरु भित्र तिनै पुँजीवादीका दलालहरु कोही सहकारी, कोही लघुवित्त, कोही मिटरव्याजी र कोही निजी बैंकको रुपमा सक्रिय रहेकाछन ।

एकातिर निम्न वर्गका मेहनतकस नेपाली जनताले सानोतिनो लगानीमा सानो व्यापार व्यवसाय चलाएर आफ्नो जीवनयापन काठमान्डौ सहरमा गर्न पाईरहेको छैन भने अर्को तिर नेपाल राष्ट्र नै जटिल आर्थिक संकटबाट गुज्रीरहदा नराम्रो महंगीको चापमा परेकाछन । त्यसकारण काठमाण्डौका मेयर बालेनले बिभिन्न कारणले नेपालका बिभिन्न ठाउँबाट काठमाण्डौ सहरको सरणमा जीविका चलाउन आएका नेपाली जनतालाई थप दुःख नदिएर उनीहरुको राम्रो व्यवस्थापन गर्नु पर्ने हुन्छ । काठमाण्डौ सहरलाई चलायमान बनाउनमा गरिब नेपाली जनताको पनि महत्वपूर्ण भूमिका रहेको हुँदा गरिबहरुको सेवाबाट नै सहरका धनीमानी परिवारको जीवन आसन बनेको हुन्छ ।

काठमाडौका मेयर बालेनले सहरी जीवनका यस्तै पक्षहरुलाई ख्याल गरी सहरमा बिस्थापित भएका नेपाली परिवारलाई वैकल्पिक रोजगारी गर्ने स्थान र बसोबास गर्ने स्थानको व्यवस्थापन गर्नु पर्ने हुन्छ । मेहर बालेनले अहिले सम्म काठमाण्डौ सहरमा गरेका सुधार कार्यहरुको ठुलो चर्चा र प्रसार प्रसार भएका छन । पक्कै पनि बाहिरी रुपमा काठमाण्डौ सहरको अवस्थामा निकै बदलाव आएको देखिन्छ ।

काठमाण्डौ सहरको अवस्थामा सुधार भईरहेको कुरा भौतिक रुपमामा पनि आँखाले नै देख्न सकिन्छ भने वैज्ञानिक हिसाबले पनि प्रमाणित भईरहेको छ । काठमान्डौ सहरको एयर क्वालिटी ईण्डेक्समा ठुलो सुधार आउनुमा मेयर बालेनकै सुधार कार्यहरुको प्रभावले हो भनी मान्न सकिने तथ्य आधारहरु छन । एयर क्वालिटी ईन्डेक्स सुन्य देखि ५००अंक सम्मको हुन्छ भने ५० देखि ६० अंक सम्मलाई एम्वियन्ट एयर क्वालिटी ईन्डेक्स मानिन्छ । साधारणतय यो जति कम भयो उती उत्तम मानिन्छ र सुन्य नै बनाउन सकियो भने त्यो सबै भन्दा श्रेष्ट सर्वश्रेष्ट मानिन्छ । अझ पनि काठमाण्डौ सहरको बसोबासलाई अझ धेरै व्यवस्थित र सुधार गर्न सकिन्छ ।

धनीले राज्यको कानुन मिचेर सार्वजनिक जग्गामा बनाएका भवनहरु भत्काएर उक्त जग्गामा राज्यको भोग चलन हक स्थापित गर्नु पर्ने चुनौती टड्कारो रुपमा नै खडा छन । ठमेलको छाँया कम्पलेक्स जस्ता राष्टको कानुन मिचेर सार्वजनिक जग्गामा बनाईएका भवनहरुको चुनौती समाप्त भएको छैन ।

यस्ता राष्ट्रको कानुन मिच्नेहरुले नेपालको अदालतहरुबाट निषेध आज्ञा लिएर बसेका छन र अदालतमा चलीरहेको मुद्दाहरु बर्षौं देखि टूंगो नलाग्दा त्यसबाट फाईदा काठमाण्डौ सहरका तिनै खलनायकहरुलाई नै भईरहेका छन । काठमाण्डौका पुराना मेयरहरुले भोट बैंक बचाउने र बनाउने लालचमा त्यस्ता समाजका सत्रुहरुको योजना र नापनक्सा आँखा चिम्लेर पास गरी दिएको हुँदा आज आएर त्यो सहरी कुरुपतामा परिणत भएको अवस्था छ । यस्तो हालतमा काठमान्डौका मेयर बालेनको लागि सुधारको काम गरी देखाउन कम चुनौतीपूर्ण छैन ।

साथै मेयर बालेनको आफ्नै संस्था भित्र रहेको वेथितिको चुनौती पनि कम छैन । त्यहाँ पहिले देखि जरा गाडी बसेका भ्रष्टाचारीहरुलाई तहलगाउने वा उखलेर फाल्नु पर्ने देखिन्छ । काठमाण्डौ महानगरपालिका कै स्वीकृति लिएर छाँया कम्पलेक्स जस्ता गैरकानुनी भवनहरु धेरै बनिसकेका छन ।

काठमाडौं महानगरपालिकाको नापनक्सा पास गर्ने बिभागमा अझपनि पुरानै ढर्रा अनुसार नै काम गरिन्छ र भइरहेका छन् । त्यहाँबाट नेपाली जनताले सेवा लिनु पर्दा अझ पनि वारिसको रुपमा स्थानिय दलालहरुको सहायता लिनै पर्ने बाध्यकारी अवस्था कायम रहेको छ । बाहिरी हालत सुधार गर्नको लागि युद्धमोर्चा खोलेर र मैदानमा उत्रेका मेयर बालेनको लागि यस्ता आफ्नै संस्था भित्र रहेका चुनौतीहरु अनेक छन र जसमा सुधार गर्नको लागि मेयर बालेनले एक आर्को आन्तरिक युद्धमोर्चा पनि खोल्नै पर्ने हुन्छ । यसरी मात्रै मेयर बालेनले चलाएका सुधारका अभियानहरुको लाभ साना ठुला सबै सहरबासीहरुले पाउन सक्ने छन । साथै मेयर बालेनको शासकिय प्रभावकारिताको अनुभूति सबै नेपाली जनताले गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *