खडेरी वा सुख्खा याममा वन जङ्गल धेर आगलागी हुने गर्दछ । आगलागी फैलन हावाहुरीले असाध्यै धेरै सहयोग गर्दछ । हाम्रोमा आगलागी हुने प्रायः सवै कारण मानविय त्रुटी हुन् भन्दा कुनै फरक पर्दैन । वन क्षेत्रमा पनि आगलागीका कारण धेरै ठुलो विनास हुने गरेको छ । वनमा लागेको डढेलोको कारण अरवौं क्षति भैरहेको छ । हरेक वर्ष केही नागरिकको ज्यान जाने गर्दछ । यस बर्षको चैत्र महिनामा नैं छिमेकी जिल्ला रामेछापमा वनमा लागेको आगो निभाउँदा घाइते भएका एक जनाको मृत्यू भएको छ । त्यसै गरी खाडाचक्र नगरपालिका कर्णाली प्रदेशमा पनि वन डढेलो निभाउने क्रममा बावु छोरीको मृत्यू भयो ।
डढेलो लाग्नुको कारण
हामीकोमा वन डढेलो जानीजानी लगाउने नैं धेरै पाइन्छ । रमाइलो हेर्न, कस्तो हुँदो रहेछ जान्न अनी रिस पोख्न पनि वनमा आगो लगाउने गरेको पाइन्छ । त्यसै गरी धेरै आगलागी लापरवाहीपनले पनि हुने गरेको छ । कतिपय दुर्घटनाबस पनि लाग्ने गरेको पाइन्छ । डढेलो लाग्नै नदिनु प्रधान विषय हो तर लागि हालेमा निभाउनु अति जरुरी छ । अहिले वनमा आगो लागेमा सुरक्षा निकाय, वन कार्यालयलाई फोन गर्ने तर स्थानीय समुदायको सहभागीता असाध्यै कम हुने गरेको गुनासो सुन्न पाइन्छ । विगतमा वन डढेलो नियन्त्रण गर्दा चासो लिने स्थानीय मानिसहरुले किन बेवास्ता गरिरहेका छन् । यसको कारण खोतल्न जरुरी छ ।
पछिल्लो अवधीमा सामुदायिक वनमा आगो लाग्ने क्रम वढेको छ । विगतमा पनि आगो लाग्ने गरेको थियो तर आगो निभाइन्थ्यो । पछिल्ला केही वर्ष यता आगो लाग्यो तर निभेन वा निभ्याइएन । सामुदायिक वनको अवधारणा विकास गर्दाका वर्षहरुमा अहिले भन्दा धेरै डढेलो लाग्ने गरेको थियो । त्यती वेलामा अहिलेको जस्तो चेतना स्तर पनि थिएन । सामुदायिक वनको कारणले गाईवस्तु चराउन नपाएको झोक फेर्न वनमा आगो लगाउँथे । त्यती बेला आगो लगाएमा घाँस राम्रो आउँछ भन्ने सोच पनि थियो ।
त्यसैले धेरै ठाउँमा आगो लाग्थ्यो तर सामुदायिक वनका अभियन्ता उपभोक्ताहरु आगो लाग्नासाथ दौडेर ज्यानको पर्वाह नगरी आगो निभाउँथ्ये । सामुदायिक वनको अवधारणा विकास गर्दाको समयको तुलनामा अहिलेको चेतना स्तर फेरिएको छ । आगो लगाउने काम दण्डनिय हो भन्ने धेरैलाई थाहा छ ।
वनमा आगो लगाएर कसैलाई फाइदा छैन भन्ने प्रायः सवैले वुझेका छन् । आगो लगाउने पहिला जस्तो धेरै छैनन् । केही सिमित अपराधिक सोच भएकाहरुले आगो लगाउँछन् । पहिला जस्तो एक जंगलमा चारै तिरवाट आगो लाग्दैन । अहिले एक ठाउँवाट आगो लागेको छ त्यो फैलिएर चारै तिर पुगेको हो । पहिला आगो लाग्नासाथ निभाउन पुग्थ्ये तर अहिले निभाउन जाने कोही भएन । पहिला वन विना ग्रामिण जनजीवन कल्पना गर्न पनि सकिन्नथ्यो । अहिले त्यो अवस्था छैन । सामुदायिक वन माथिको निर्भरता फेरिएको छ । पहिला दाउरा घाँसको लागि वन चाहिन्थ्यो आगो लागेमा त्यो नष्ट हुन्थ्यो । अहिले अधिकांश सामुदायिक वनवाट दाउरा घाँस ल्याउन छाडिएको छ । त्यो भन्दा वढि वनवाट उपलव्धी लिन सकिएको छैन ।
सामुदायिक वनको अवधारणाले वन क्षेत्र वढ्यो, वनको हैसियतमा फरकपन आएकोछ । सामुदायिक वनबाट दाउरा घाँस केहीमा सिमित काठ वाहेक केही प्रत्यक्ष लाभ पाउन सकेनन् । अधिकांश उपभोक्तालाई दाउरा घाँस अव चाहिएन । त्यो भन्दा वढि पाइएनको अवस्था भएको छ । यहि अवस्थाको कारण सामुदायिक वनमा लागेको आगो निभेन । अर्थात उपभोक्ताको जीवनसँग सामुदायिक वन जोडिएन । यस्तै अवस्था रहि रहेमा वनमा लागेको आगो घट्दैन अझ विस्तार हुँदै जाने संभावना देखिन्छ । उपभोक्ताले आगो लगाउँछन् भन्न खोजेको होइन तर लागेको आगो निभाउन जाँदैनन् भन्ने चिन्ता हो ।
सामुदायिक वनमा भएका वन स्रोत तथा आर्थिक स्रोत समेत निष्कृय भैरहेको छ । केही वर्ष अघिको एक अध्ययनले प्रभावकारी वन व्यवस्थापन मात्र गर्दा पनि प्रति हेक्टर १ जना मान्छेलाई नियमित रोजगार दिन सक्छ भन्ने देखाएको छ । नेपालमा सामुदायिक वन मात्रै पनि २३ लाख हेक्टर भन्दा वढि छ । २३ लाख जनालाई प्रत्यक्ष र नियमित रोजगार दिन सक्नु पर्ने हो । एक हेक्टर कृषि जमिनमा व्यवसायीक काम गर्दा कति रोजगारी दिन सकिन्छ वनमा त्यती नसकेता पनि त्यसको आधा मात्र भने सक्नु पर्ने हो । शहर आसपासका सामुदायिक वनमा पर्यपर्यटन, अन्य सामुदायिक वनमा व्यवसायीक खेती (कानून त वहुवर्षिय बाली लगाउन मिल्छ) गर्ने, कानूनले वन्देज नगरेका व्यबसायीक पालन गर्न सकिने वन्यजन्तु पालन जस्ता काम गरेर सामुदायिक वन क्षेत्रको वहुआयमिक उपयोगमा ध्यान दिनु आवश्यक हुन्छ ।
डढेलो विरुद्धको सामुहिक अभियान
सामुदायिक वनको वहुउपयोग गरेर फाइदा लिन सक्ने अवस्था आएमा डढेलो निभाउन उपभोक्ता जालान् । हैन भने आगो धेरै स्थानवाट नलाग्ला तर लागेको आगो निभाउन उपभोक्ताले जाँगर देखाउँदैनन् । कानून कडा छ तर पनि आगलागी लागिरहेको पाइन्छ । हरेक वर्ष वन डढेलो सम्वन्धी साताव्यापी कार्यक्रम हुने गर्दछ । चैत्रको १ देखि ७ गतेसम्म अभियानकैं रुपमा विभिन्न कार्यक्रम गरेर सचेतिकरणका कामहरु गर्ने गरिन्छ ।
साताव्यापी विभिन्न कार्यक्रम गर्ने सिलसिलामा दोलखा जिल्लाको चरिकोटमा साताको अन्त्यमा एक ¥याली तथा सडक नाटक प्रस्तुत गरिएको थियो । डिभिजन वन कार्यालय र फेकोफन दोलखाले संयुक्त रुपमा आयोजना गरेको सो कार्यक्रममा चरिकोट आसपासका सामुदायिक वन उपभोक्ता समूहहरुको प्रतिनिधिहरुको बाक्लो उपस्थीति रहेको थियो । ¥यालीमा वन डढेलो विरुद्धका सचेतनामूलक नाराहरु लगाइएको थियो । प्ले कार्डहरु प्रदर्शन गरिएको थियो । स्थानीय कलाकारहरुले वन डढेलोसँग सम्वन्धीत ‘अब के होला ?’ भन्ने सडक नाटक प्रदर्शन भएको थियो ।
वन डढेलो नियन्त्रणको प्रमुख उपाय
वन डढेलो विरुद्धको अभियान पनि निरन्तर गरिरहनु नैं पर्ला । त्यो भन्दा पनि प्रधान कुरा भने वनमाथी उपभोक्ताको जीवन जोड्न आवश्यक छ । त्यस तर्फ सवैको ध्यान जान जरुरी देखिन्छ । अनी आगो लाग्नबाट रोक्न र लागेमा निभाउन उपभोक्ताहरु दौडिन्छन् । त्यसैले सवै सामुदायिक वनका अगुवा अनी सामुदायिक वनका नियामक निकायहरु घोत्लन ढिला भैसक्यो । वन संरक्षणको गन्तव्य प्राप्ती भैसक्यो । अव समृद्धिको उपलव्धी हासिल गर्न आवश्यक छ ।
यदी यो एजेण्डा स्थापित गर्न सकिएन भने वनमा लागेको आगो निभ्दैन । त्यती मात्रै हैन, वन क्षेत्रका अगुवाहरु, अभियन्ताहरु, अधिकारवालाहरु सबैमा असफलताको विशेषण झुण्डिन सक्छ । सामुदायिक वनलाई जङ्गल हुनबाट जोगाउनु छ अनी उपभोक्तालाई मान्छे हुनबाट बचाउनु छ । यसकालागि वनमा मानविय गतिविधि हुन आवश्यक छ । वन व्यवस्थापनका काम हुनु पर्दछ अनी मान्छे मात्र हुने होइन भूमिका सहितको उपभोक्ता हुन जरुरी छ । उपभोक्ताको जीवनसँग वन जोड्न आवश्यक हुन्छ । तब हुनसक्छ वन डढेलो नियन्त्रण । बेलैमा सोचौं ।