काठमाडौं । कुनै समय प्रधानमन्त्री केपी शर्मा ओलीका अत्यन्त विश्वासपात्र मानिएका दुई कर्मचारी हुन प्रेम राई र एकनारायण अर्याल । अहिले यिनै विश्वास पात्र प्रेम राई गृहसचिवबाट अख्तियार दुरुपयोग अनुसन्धान आयेगको प्रमुख आयुक्त बनाएका थिए । यस्तै एकनारायण अर्याललाई गृहबाटै मुख्य सचिव बनाए । यी दुबै एमाले निकटका कर्मचारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बन्ध ‘चिस्सिएको’ छ । जुन घटना सतहमै देखिएको छ ।
पछिल्लो समय मुख्य सचिव एकनारायण अर्यालसँग प्रधानमन्त्री केपी शर्मा ओलीको टसल परेको बिषय तामाकोशी सन्देशले प्रकाशन गरिसकेको छ । एकनारायणसँग मात्र होइन अख्तियारका प्रमुख आयुक्तसँग समेत प्रधानमन्त्रीको सम्बन्ध मिठासपूर्ण नरहेको जानकारहरु बताउँदै आएका थिए,केही दिन अगाडि राजधानीमा आयोजित एक सार्वजनिक कार्यक्रममा उनीहरुबीच सम्बन्धमा दरार आएको प्रष्ट देखिएको छ ।
अघिल्लो साता बूढानिलकण्ठस्थित होटल लेमन ट्रीमा आयोजित एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीसँग मुख्य सचिव र प्रमुख आयुक्तसँग सम्बन्ध चिस्सिएको घटनालाई नजिकबाटै कानुनी क्षेत्रका व्यक्तिहरुले अनुभव गर्न पाएका छन् । केपी शर्मा ओलीका विश्वासपात्र मध्येका एक रमेश वडाल प्रमुख रहेको महान्यायधिवक्तको कार्यालयले आयोजना गरेको एक कार्यक्रममा यस्तो दृश्य देखिएको हो । त्यहाँ अतिथिका रुपमा उपस्थित भएका एकनारायण अर्याल र प्रेम राईलाई प्रधानमन्त्री केपी शर्मा ओलीले न त नमस्कारै फर्काए न त सम्बोधनका क्रममा मञ्चमा आसिन नै गराए । राई र अर्याललाई सम्बोध नगरेका कारण प्रम ओलीसँग एकनारायण र प्रेम राईको सम्बन्ध चिस्सिदै गएको रुपमा आँकलन गरिएको छ ।
प्रधानमन्त्री ओलीले गत भदौ १३ मा वरियतामा चौथो नम्बरमा रहेका सचिव अर्याललाई मुख्य सचिवमा बढुवा गर्ने निर्णय गरेका थिए । उनलाई मुख्य सचिव बनाइएको ६ महिनामात्र पुग्दैछ । तर प्रधानमन्त्री ओली र मुख्य सचिवबीचको सम्बन्ध विगत महिना दिनदेखि विग्रिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक उच्च प्रशासकले बताएका छन् । धितोपत्र वोर्डको अध्यक्ष नियुक्ति लगायतका बिषयमा प्रधानमन्त्री र मुख्यसचिवबीच सम्बन्ध विग्रिएको प्रंसग मत्थर हुन नपाउँदै प्रधानमन्त्री ओली र अख्तियारका आयुक्तबीच समेत सुमधुर सम्बन्ध नरहेको बिषय सतहमै आएकोे छ । यस्तै केपी शर्मा ओलीले अत्यन्तै विश्वास गरेर अख्तियारका प्रमुख आयुक्तका रुपमा नियुक्त गरिएका प्रेम राईसँग समेत सम्बन्ध चिस्सिएको छ ।
ओलीले संवैधानिक परिषद्का अध्यक्ष र बहाल रहेका बहुमत सदस्यको उपस्थितिमा बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएर २०७७ साल मंसिर ३० गते बसेको बैठकले प्रमुख आयुक्तमा राईलाई सिफारिस गरेका थिए । चार बर्षदेखि ५२ भाइको नियुक्ति विरुद्धको मुद्धा सर्वाेच्चमा विचराधिन छ । राईलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदको भ्रष्टाचार सम्बन्धी मुद्दा अघि नबढाउन राईलाई आग्रह गरेका थिए । तर अख्तियारले एमडीएमएस खरिदमा भ्रष्टाचार भएको भन्दै प्राधिकरणका दुई पूर्वअध्यक्षसहित १९ जनाविरुद्ध मुद्दा चलायो । जुन मुद्धामा हालैमात्र विशेषले दिगम्बर झा र पुरुषोत्तम खनालसहितका विदेशी कम्पनीहरुलाई दोषी करार गर्दै कैद सजाय समेत सुनाएको छ । सो मुद्धा अगाडि नबढाउन र अर्थका तत्कालीन सहसचिव रितेश शाक्यलाई भ्रष्टाचार मुद्धा नचलाउन ओलीको आग्रह थियो । शाक्य भ्रष्टाचार चलेपछि केही समय निलम्बनमा परी अहिले सफाइ पाएर वाग्मती प्रदेशको सचिवको रुपमा कार्यरत छन् ।
यसरी आफैंले नियुक्ति दिएका एमाले निकटका दुई कर्मचारीले प्रधानमन्त्रीलाई नमस्कार गर्दा समेत फर्काएका थिएनन् । संयुक्त अधिराज्य (युके), नेदरल्यान्ड्स, मलेसिया, साउदी अरेबिया, सिङ्गापुर, माल्दिभ्स, दक्षिण कोरिया, अजरबैजान, भारत, चीन, श्रीलंका, नर्वे, र रुस लगायत १३ राष्ट्रका ९० जना भन्दा बढी सरकारी वकिल, कानुन विज्ञ, न्यायाधीश तथा उच्च प्रशासकहरु सहभागि रहेको एक कार्यक्रममा । उसो त पछिल्लो समय केपी शर्मा ओली र गोकुल बास्कोटा,विष्णु पौडेलसँग समेत सम्बन्ध मिठासपूर्ण छैन ।