सुरक्षा निकायभित्र सुधारमा गृहमन्त्रीलाई चुनौतीको चाङ

राजनीति समाचार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछाने योसहित दुई पटक उपप्रधान तथा गृहमन्त्री बनिसकेका छन् । लामिछाने पहिलो पटक २९ दिने उपप्रधान तथा गृहमन्त्री बन्दा उनको दोहोरो नागरिकता र पासपोर्ट काण्डमा पद खुस्किएको थियो । उपप्रधान तथा गृहमन्त्री बन्दा सुरक्षा निकायलाई निश्पक्ष ढंगले चलायमान बनाउँछु भन्दाभन्दै उनी आफै उपप्रधानसहित गृहमन्त्रीको जागिरबाट चिप्लिएका थिए । अहिले पाँचदलीय गठबन्धन सरकारमा उपप्रधानसहित गृहमन्त्री बनेका छन् । उनी गृहमन्त्री बनेको केही दिनमै सहकारी ठगी काण्डमा विवादमा मुछिएका छन् ।

सहकारी ठगी काण्डले उनको जागिर कति दिन टिक्छ त्यो पनि निश्चित छैन । रवि उपप्रधानसहित गृहमन्त्री बनेपछि सुरक्षा निकायभित्र सरुवा बढुवामा कुनै पनि राजनीतिक हस्तक्षेप हुन नदिने उर्दी जारी गरेका छन् । गृहमन्त्री रविले यस्तो उर्दी जारी गरेसँगै सुरक्षा निकायलाई कसरी चलायमान बनाउँछन् त्यो पनि निश्चित छैन ।

तर, माओवादी नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई राजनीतिक हस्तक्षेपकै कारण पक्राउ गरेजस्तो गरेर छाडिएको छ । उता, सशस्त्र प्रहरी र नेपाल प्रहरीका आइजीपीमध्येमा अहिलेसम्म विवादमा नपरेका सशस्त्र प्रहरीका आईजीपी राजु अर्याल छन् । तत्कालीन आइजीपी भन्दा हालका आइजीपी अर्यालले सशस्त्र प्रहरी बललाई चलायमान बनाएका छन् । उता, नेपाल प्रहरीमा वसन्त कुँवर आइजीपी भएको चैत ११ गते एक वर्ष पुगिसकेको छ ।

कुँवर एक वर्षे कार्यकालमा पटक–पटक विवादमा परिसकेका छन् । तर, सशस्त्र प्रहरी बलका आईजीपी यो अवधिसम्म कुनै विवादमा मुछिएको देखिँदैन । उता, नेपाल प्रहरीका आइजीपी कुँवर नक्कली भुटानी शरणार्थी काण्ड र सुन तस्करी छानविन काण्डमा मुछिएका छन् । त्योसँगै डीएसपीहरुलाई एसपीमा बढुवा गर्न नसकेर नेपाल प्रहरीका आइजीपी कुँवर विवादमा परेका छन् । त्यस्तै प्रदेश प्रहरी समायोजन ऐनमा पनि कुँवर विवादित भएका थिए । आईजीपी कुँवरकै कारण अहिले ८ जना एसपी बढुवा हुन सकेको छैन । प्रहरी सरुवा बढुवामा पनि कुँवरले राम्रोसँग ध्यान दिएका छैनन् । हुन त कुँवर आइजीपी भएपछि केही प्रहरीहरुले राहत पाएको महसुस पनि गरेका छन् ।

घुमुवा प्रहरीलाई हटाएर संगठनलाई चुस्तदुरुस्त पनि बनाएका छन् । राम्रो काम गर्दागर्दै पनि कुँवर विवादमा परिरहन्छन् । हरेक निर्णय गर्दा विवादमा परिरहने आइजीपी कुँवरसँग गृहमन्त्री रविको सम्बन्धन कसरी सुमधुर रहन्छ त्यो पनि निश्चित छैन । अब नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सरुवामा गृहमन्त्री रविको भूमिका कस्तो रहन्छ । सबैलाई गोलमोटल रुपमा गर्छन् कि योग्यता, क्षमता र अनुभवको मूल्याङ्कन गरेर सरुवा बढुवा गर्छन् त्यो भने हेर्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *