पूर्वराजा ज्ञानेन्द्र गोलमेचको चक्करमा

राजनीति समाचार

काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्रको भद्रगोल देखेर पूर्वराजा ज्ञानेन्द्रसमेत जुर्मुराएका छन् । नेपालको राजनीतिक परिवर्तनमा सिन्को नभाँचेका पञ्चहरुको भन्दा गणतन्त्र र राजतन्त्रकै अन्तका लागि लडेका दलहरुसँग पूर्व राजा ज्ञानेन्द्रले राजनीतिक सहमति र सहकार्यका लागि गोलमेच सम्मेलनको चाहना राखेका छन् ।

माओवादी सशस्त्र युद्धका बेला दरबार खुसी पारेर सत्ता र कुर्सीमा रमाएका कांग्रेस र नेकपा एमालेहरुले खिसी उडाए । कालान्तरमा संसदवादी दलहरु माओवादीको एजेण्डा संघीयता, गणतन्त्र र समावेशिताको एजेण्डामा सहमत भए । संविधान जारी गर्दा तत्कालीन गृहमन्त्री र संसदका अध्यक्षले धर्म निरपेक्षता घुसाउँदा प्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालासमेत दंग खाए । आज पूर्वराजा दलहरुकै गलत चिन्तन र व्यवहारबाट हौसिएका छन् ।

पूर्व राजाले राप्रपा र दुर्गा प्रसाइँहरुको संवैधानिक राजा बनाउने एजेण्डालाई पत्याएर जुम्ला, हुम्लाजस्ता हिमाली जिल्ला घुमेका होइनन् । राजवंशको कुलपुजा देखि देवताका मठ, मन्दिर धाउने सिजन यही हो । यसपटक ज्ञानेन्द्र नेपालगंज, झापा, जनकपुर, कपिलवस्तुजस्ता जिल्लाको भ्रमण गर्दा राजनीतिक दलहरुप्रति उब्जेको वितृष्णाका आवाज सुनेर हौसेका हुन् । राजाको संरक्षकत्वमा राजनीतिक सहमतिबाट संघीयता खारेज गर्नुपर्ने राप्रपाजस्ता प्रतिगामी शक्तिको माग छ ।

राप्रपाको नाममा ज्ञानेन्द्र शाहीजस्तो अराजक व्यक्तिहरुले पूर्व राजाको विश्वास जित्न खोजेका पनि छन् । शाहीकालीन राजतन्त्रको कल्पना गर्न सकिँदैन । तर लोकन्त्रलाई गलत ढंगले प्रयोग गरेर सत्ता र शक्तिको आडमा राज्यको शासक बनेका कम्युनिष्टहरुलाई गिज्याउने काम भएको छ । गल्ती जसले गर्छ सजाय उसैले पाउने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *