सिंहदरबारभित्र बगैंचा र पोखरी निर्माणको नाममा करोडौं झ्वाम

राजनीति समाचार

काठमाडौं । नयाँ वर्षको सुरुवातसँगै सिंहदरबारभित्र यतित्रेला हरियाली बढाउने र पोखरी निर्माण कार्य धमाधम भइराखेको छ । सिंहदरभित्र अधिकांश खाली ठाउँहरु बगैचा र बोटविरुवाले छाए तापनि त्यसको संरक्षण राम्रोसँग हुन सकेको छैन । बोटविरुवालेले समयमा गोडमेल र पानी पनि पाएको देखिँदैन । पुराना र ठूला रुखका हाँगा र पात झरेर मानववस्ती नभएको जंगलजस्तो देखिन्छ । उता, मन्त्रालयका उपसचिवहरुलाई सरकारले जिम्मेवारी नदिँदा हाजिर गर्ने, बगैचा, निर्माणाधिन पोखरीको अवलोकन गर्ने र नातागोता र आफन्तलाई भित्र बोलाएर गफ चुटेर दिन विताउने गरेका छन् । सिंगदरबारभित्र गाडी पार्किङ्गको एरिया पनि तोकिएको छैन ।

सरकारीदेखि प्राइभेट गाडीहरु सिंहदरबारभित्र पार्किएको व्यवस्था राम्रो नहुँदा कुनै गाडी मर्मत केन्द्रमा थन्क्याएर राखिएको जस्तो देखिन्छ । बजेट अभावका कारण अधिकांश विकास निर्माणका कामहरु ठप्प भइराखेको बेलामा सिंहदरबारभित्र रहेको बँगैंचाको वरिपरि पोखरी निर्माण गर्ने काम भइरहेको छ । देश आर्थिक मन्दीमा गएर दैनिक जीवनसँग जोडिएका अधिकांश विकास निर्माणका कामहरु रोकिएको बेला सिंहदरबारभित्र पोखरी खन्ने र साजसज्जा गर्ने बजेट कसको आदेश र निर्देशनमा पारित भयो ? विगत लामो समयदेखि सिंहदरबार भित्रका विभिन्न अन्त्रालयअन्तर्गत रहेका बगैंचाहरुमा नयाँ खालका कुनै बोटविरुवा लगाएको पाइँदैन ।

पुरानै बोटविरुवालाई रंगरोगन गरेजस्तो गर्ने र बजेट पचाउने काम भइराखेको छ । बगैंचाको लागि छुट्याइएको बजेट अनुसारको साजसज्जा र गोडमेल भएको पाइँदैन । कतिपय मालीहरुले बगैंचामा फुलेका राम्रा फुलहरु टिपेर बाहिर लाने र यत्रतत्र फाल्ने गरेको पाइन्छ । जति बोटविरुवा गोडमेल र सरसफाइको लागि कर्मचारी राखिएको छ, त्यो अनुसारको सरसफाइको काम भएको छैन । वास्तमा भन्ने हो भने सिंहदरबारभित्र गाडी पार्किङ्ग, बगैंचा र पोखरीको रमणीय ढंगले व्यवस्थापन हुनुपर्ने हो ।

तर, त्यसो नगरी जथाभावी पार्किङ्ग गर्ने, बगैंचाको रखेदेख नगर्ने, पुराना गाडीहरुले पार्किङ्ग भरिभराउ हुँदा पनि त्यसको व्यवस्थापन नगरिएको लगायतका समस्याहरु यथावत छन् । अधिकांश मन्त्रालयभित्रमा चमेना गृहहरु खोलिएका छन् । सिंहदरबार छिर्नासाथ मन्त्रालय, बगैंचा र पोखरी हेर्न लायक हुनुपर्नेमा कुनै सार्वजनिकका गाडीले भात खुवाउने होटेल हो कि भन्ने सेवाग्राहीलाई भान हुन्छ । कतिपय मन्त्रालयका सौचालयहरु सरसफाइ नहुँदा दुर्गन्दित भएको पाइन्छ ।

सेवाग्रहीहरु पनि वास्तविक काम भन्दा भेटघाटमै समय बिताउने खालका बढी गएका हुन्छन् । मन्त्रालयका कर्मचारीहरुले व्यापारी तथा हुनेखाने आए भने भित्र बोलाएर घण्टौंसम्म गफ गर्ने र सर्वसाधारणलाई मिटिङ छ भनेर भेट नदिने गर्दछन् । कतिपय कर्मचारी त सरकारी कामभन्दा पनि राजनीतिक विश्लेषण गर्ने, को नेता कहाँ जान्छ, के काम गर्छ, कुन कर्मचारी कोसँग भेटघाट गर्छ चेयो, चर्चो गर्ने र आदर्शका कुरा छाटेर सर्वसाधारणलाई भ्रम छर्ने काम गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *