उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारी कि घिमिरे ?

राजनीति समाचार

काठमाडौं । “कहीं नभएको जात्रा हाँडीगाउँमा” भने जस्तै दामोदर भण्डारीलाई उद्योग वाणिज्य तथा मापूर्तिमन्त्री बनाइएको छ । उनलाई एमालेको सिफारिसमा दोस्रो पटक उद्योग वाणिज्य तथा आपूर्तिको जिम्मेवारी दिइएको हो । सो मन्त्रालयमा यतिबेला ‘हाडीगाउँको जात्रा’ जस्तै भएको छ । मन्त्री भण्डारी गुमनाम जस्तै बनेर बसेका छन् । बजार मूल्य आकासिँदा सर्वसाधारणलाई बिहानबेलुकाको छाक टार्न पनि मुस्किल पर्न थालेको छ । कालाबजारियाहरुले आफूखुसी मूल्य राखेर नक्कली सामान विक्रीवितरण गर्दा उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड भइरहेको छ । उद्योगी, व्यापारीहरुले राजश्व छलिरहेका छन् । उनीहरुले राजश्व मात्रै छलेका छैनन् । विभिन्न देशमा अवैध लगानीसमेत गरिरहेका छन् ।

नेपाललाई आवश्यक सामग्री पनि सस्तो मूल्यमा कमसल खालको ल्याउने र उपभोक्तालाई सक्कली सरह महंगो मूल्यमा विक्रीवितरण गरेर ठग्ने काम गर्दै आएका छन् । उता, विश्वका धनी व्यक्तिको सुचीमा नाम दर्ज गर्न सफल भएका व्यापारिक घराना विनोद चौधरीको कालाकर्तुत छानविन गर्नुपर्नेमा त्यो पनि गर्न सकेका छैनन् । विनोद चौधरीको लगानी करिव ७० वटा देशमा रहेको छ । नेपालको अर्थतन्त्रलाई तहसनहस पार्ने काम विनोद चौधरी जस्ता व्यापारिक घरानाले गर्दै आएका छन् । नेपालका उद्योगीहरुले प्रायःजसो स्वदेशदेखि विदेशमासम्म उद्योग सञ्चालन गरेर फाइदा लिइरहेका छन् । भोलिका दिनमा यस्ता व्यापारीहरु देश छाडेर जाने सम्भावना पनि त्यत्तिकै छ । त्यतातिर राज्यको सम्बन्धित निकायले ध्यान दिएको पाइँदैन ।

जुन पार्टीको सरकार र मन्त्री बने तापनि यस्तै व्यापारिक घरानाको सञ्जालको प्रभावमा पर्ने, कमिसन खाने र पार्टीलाई चन्दा माग्ने उद्योगी, व्यवसायीलाई अवैध सामान ओसारपसार र कर छलीमा सहयोग गर्दै आएका छन् । हालका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारीले पनि तत्कालीन मन्त्रीले जस्तै काम गर्दै आएका छन् । उपसचिव विनोद घिमिरेको हालीमुहाली छुट्टै छ । उपसचिव घिमिरे तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा बसेको धाक लगाएर मन्त्रालयमा रजगज गरिरहेका छन् ।

उपसचिव घिमिरेले विभिन्न उद्योगी, व्यपारी र मालदार निकायका कर्मचारीलाई मन्त्रीसँग भेट गर्न नदिई आप्mनो गोप्य कोठामा बोलाएर भेटघाट गर्ने, सरुवा बढुवाको सेटिङ मिलाउने, व्यापारी र उद्योगीबाट रकम असुल्ने गर्दै विभिन्न अवैध धन्दा सञ्चालन गर्न दिने काम गर्दै आएको स्रोतको भनाइ छ । उपसचिव घिमिरेको यो चलखेलले यतिबेला उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी कि विनोद घिमिरे भन्ने चर्चा मन्त्रालयमा चल्न थालेको समाचार स्रोतको दावी छ । हुनत भण्डारी पहिलो पटक मन्त्री हुँदा पनि कुनै माखो मारेका थिएनन् ।

उनैलाई फेरि एमालेले दोस्रो पटक उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनाएको छ । पहिलो पटक सोही मन्त्रालयको मन्त्री हुँदा माखो नमारेका भण्डारीसँग जनताले के आशा गर्ने ? त्यसै भनिएको होइन, ‘नेपाललाई सतीले सरापेको मुलुक’ भनेर । जुन व्यक्तिले जिम्मेवारी पाउँदा काम गर्न नसकेर असफल सावित हुन्छ । त्यसैलेसोही जिम्मेवारी दिएर देश बर्बादितिर धकेल्ने काम पहिलादेखि हुँदै आएको छ । त्यसैको निरन्तरता स्वरुप नेकपा एमालेले दामोदर भण्डारीलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री र रघुवीर महासेठलाई भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनाएर प्रमाणित गरेको छ ।

जतिपटक एमाले सरकारमा पुग्छ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी महासेठलाई दिइहाल्छ । महासेठलाई त्यो मन्त्रालय दिए तापनि विकास निर्माणका ठूलाठूला योजना, आयोजनाहरुको ठेक्कापट्टा आफ्नो हातमा पार्ने र निर्माणका काम अलपत्र पर्ने हुँदै जाँदा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सडकको धुलो उठाएर डिभिजन कार्यालय अगाडि थुपारिदिएर चुनौती दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *