भीमेश्वर नगरमा नेकपा एमालेको लोकतान्त्रीक अभ्यास

राजनीति लेख

बहुदलीय व्यवस्थामा राजनीतिक दलहरुले आफ्ना संरचनाहरु व्यवस्थित रुपमा चलाउने, नागरिकको जनजिविकाको सवाललाई पार्टीको एजेण्डा वनाउने मतदाताको मन जित्ने, निर्वाचित हुने, राज्य सत्तामा जाने, आफ्नो नीति अनुसार जनमैत्री काम गर्ने नैं हुन्छ । त्यसैले पार्टी कमिटी व्यवस्थीत रुपमा सञ्चालन गर्नेले राज्यको संरचनाको नेतृत्व गर्न पाउँदा पनि सोही अनुसार चलाउन सक्नेछन् । यसकालागि पार्टी कमिटीहरु लोकतान्त्रीक पद्धतीवाट बनेका छन् कि छैनन् भन्ने अर्को महत्पूर्ण पाटो हुन्छ । पार्टी कमिटीहरु आफ्नो विधान, सर्कुलर अनुसार चल्नु नैं राज्य सञ्चालनको जिम्मेवारीको एक कसरत हो भनेर मान्न सकिन्छ । यस सन्दर्भमा नेकपा एमालेको भीमेश्वर नगर कमिटीको क्रियाशिलताको एक पाटो सहभागीतामूलक लोकतन्त्रको अभ्यासका वारेमा यस लेखमा चर्चा गरिएको छ ।

लोकतन्त्र मूल मर्म
सहभागीताको दृष्टिकोणवाट २ खाले शासन पद्धती हुने गर्दछ । पहिलो सहभागितामूलक वा प्रत्यक्ष प्रजातन्त्र र दोस्रो अप्रत्यक्ष वा प्रतिनिधिमूलक प्रजातन्त्र । ‘प्रजातन्त्र’ शब्दावलीलाई ‘लोकतन्त्र’ पनि भन्न सकिन्छ ।

सहभागीतामूलक वा प्रत्यक्ष प्रजातन्त्रमा सम्वन्धीत अधिकारवाला सवै भेला हुन्छन् । आफ्नो चासोका विषय राख्दछन् । सवै अधिकारवालाहरुको आफु नेतृत्वमा जाने वा पठाउने हरेकसँग वराबरी हक हुने गर्दछ । आफ्नो संरचना कस्तो बनाउने भन्ने हक सवै सदस्यहरुसँग हुनेछ । ती सदस्यहरु कोही तल वा माथि हुँदैनन् सवै समान हुन्छन् । अझ कमजोर वर्गको निम्ति विशेष अधिकार सुरक्षित राखिन्छ । नेकपा एमालेको पार्टीगत संरचनामा यो अभ्यास हुने इकाइ भनेको जग कमिटीहरु मात्र हुन् । भीमेश्वरको सन्दर्भमा वडा कमिटीहरु जग हुन् । त्यहाँ यो अभ्यास भएको छ । यो जग संरचनाहरुमा पार्टीका सवै सदस्यहरु भेला हुन र निर्णायक भूमिका खेल्न पाउँछन् । त्यसैले यसलाई सहभागीतामुलक लोकतन्त्रको एक अभ्यास मान्न सकिन्छ ।

अप्रत्यक्ष वा प्रतिनिधिमूलक प्रजातन्त्रमा अधिकारवालाहरु सवैको सहभागीता हुँदैन । अधिकारवालाहरुले प्रतिनिधिहरु चयन गरेका हुन्छन् । छनोट भएका प्रतिनिधिहरु भेला हुन्छन् । सम्वन्धीत संरचना वा संस्थाको गतिविधि समिक्षा गर्दछन्, नयाँ गन्तव्य निर्धारण गर्दछन् र आफु मध्येबाट नेतृत्व चयन गर्दछन् । हाम्रो राजकीय शासन सत्ता सञ्चालन यहि परिपाटीवाट सञ्चालित छ । त्यसै गरी राजनीतिक दलका प्राय जसो संरचनागत अधिवेशनहरु यहि प्रकृया अन्तरगत चल्ने गर्दछन् । ठुला ठुला जनसंगठनमा पनि प्रतिनिधिमूलक प्रजातन्त्रमा आधारित हुन्छन् ।

नेकपा एमालेको भीमेश्वर नगर अधिवेशन प्रतिनिधिमुलक प्रजातन्त्रमा आधारित रहेको थियो । नगर भित्र १ हजार २ सय २० पार्टी सदस्यहरु रहेका छन् । ती सवै भेला भएर नगरको नेतृत्व छनौट गर्न कठिन हुन्छ । त्यही भएर प्रतिनिधिमूलक पद्धती अपनाएको थियो । उदाहरणकोलागि भीमेश्वर वडा नं. ६ मा १८० जना पार्टी सदस्य रहेका छन् । ६ नंं वडा अधिवेशन हुँदा सवै सहभागी हुन पाए तर नगर अधिवेशनकालागि भने ५ जना सदस्य बरावर १ जना प्रतिनिधि चयन गर्ने व्यवस्था मिलाइएको थियो । त्यसैले वडा अधिवेशन सहभागीतामूलक लोकतन्त्रको अभ्यासमा आधारित भयो भने नगर अधिवेशन सदस्यहरुले प्रतिनिधिहरु चयन गरेर पठाएकाहरु मात्र भेला हुने भएकाले त्यो सहभागीतामूलक हुन सकेन । त्यसलाई प्रतिनिधिमूलक लोकतन्त्र भनिएको हो । तर उपस्थीत भए पछि गरिने छलफल भने लोकतान्त्रीक परिपाटी अपनाउन सकिन्छ ।

भीमेश्वर नगर अधिवेशनमा ९ वटै वडाहरुमा छरिएर रहेका पार्टी सदस्यहरुले चयन गरेका २४१ जना प्रतिनिधिहरु थिए । ती प्रतिनिधिहरु मध्ये ७० जना महिला थिए । त्यसै गरी ४० बर्ष मुनीका ४३ जना युवा थिए । ३० जना दलितको प्रतिधिनित्व रहेको थियो । २४१ जना प्रतिनिधिहरु मध्ये प्रतिशतमा आंकलन गर्ने हो भने २९ प्रतिशत मात्रै महिलाको प्रतिनिधित्व देखिन्छ । यूवाहरुको १७ प्रतिशत देखिएको छ । त्यसै गरी दलितहरुको १२ प्रतिशत रहेको पाइन्छ । तर कमिटी वन्दा यो आंकडामा सुधार देखिएको छ । ५५ सदस्यीय नगर कमिटीमा उपसचिव सहित १९ जना महिलाको प्रतिनिधित्व रहेको छ । त्यो भनेको ३४ प्रतिशत भन्दा वढि हो । त्यसै गरी यूवाहरु मध्ये १२ जनाले कमिटीको जिम्मेवारी लिनु भएको छ । त्यो अंकलाई प्रतिशतमा लैजाने हो भने २१ प्रतिशत हुन्छ । त्यसै गरी दलितहरु ७ जना अर्थात १२ प्रतिशत भन्दा वढि हुन जान्छ । समावेशीको आधारमा सन्तोष मान्नेर वस्ने अवस्था छैन तथापी संविधान, पार्टी विधान र सर्कुलरले अनिवार्य वा न्यूनतम् व्यवस्था गरेको भन्दा प्रगती उन्मुख मात्र मान्न सकिन्छ ।

एमाले पार्टीको सार्वभौम अधिकार सदस्यमा
नेकपा एमालेको विधान अनुसार पार्टीको सार्वभौम अधिकार सदस्यहरुमा निहित हुने भनिएको छ । त्यसै गरी पार्टी संरचनागत इकाईहरुको अधिवेशन हुँदा प्रतिनिधिहरु छनोट गर्ने व्यवस्था गरिएको छ । हरेक पार्टी सदस्यहरुले पालिका, जिल्ला, प्रदेश र केन्द्रको अधिवेशनकालागि हरेक पार्टी सदस्यहरुले आफ्ना प्रतिनिधिहरु छनोट प्रकृयामा सामेल हुने, छान्ने र छानिने अधिकार रहन्छ । तर पार्टी सदस्यहरु सबैजना ती संरचनाहरुको अधिवेशनमा सहभागीता हुन सक्दैनन् ।

नेकपा एमालेको विधान अनुसार वडा अधिवेशन वाहेक अरु एकाईहरुमा सहभागीतामुलक अभ्यास हुन सक्दैन । त्यहाँ प्रतिनिधिमूलक अभ्यास हुन्छ । अहिलेसम्मको अभ्यास अनुसार पालिका र जिल्ला अधिवेशनकालागि वडालाई निर्वाचन क्षेत्र मानि पार्टी सदस्यहरु मध्येबाट प्रतिनिधिहरु छनोट गर्ने गरिन्छ । प्रदेश तहको अधिवेशनकालागि प्रतिनिधि छनोट गर्दा पालिकालाई निर्वाचन क्षेत्र मानिन्छ । त्यसै गरी केन्द्रीय अधिवेशनकालागि प्रतिनिधिसभाको निर्वाचन क्षेत्रलाई आधार मानि प्रतिनिधिहरु चयन गरिन्छ । तर प्रतिनिधिहरु छनोट गर्दा तोकिएको निर्वाचन क्षेत्रमा उपस्थीत भैं सवै पार्टी सदस्यहरु संलग्न हुन पाउने व्यवस्था गरिएको छ ।

वडा अधिवेशन भन्दा वाहेकका माथिल्ला संरचनाहरुको सहभागितामूलक प्रजातन्त्रको अभ्यास गर्न संभव नभएर अप्रत्यक्ष वा प्रतिनिधिमूलक प्रजातन्त्रको अभ्यास गरिएको हो । संभव हुँदो हो त सहभागीतामूलक प्रजातन्त्र नैं गजबको हुन्थ्यो ।

भीमेश्वरका वडाको अभ्यास
भीमेश्वर नगरका वडाहरुमा नेकपा एमालेले सहभागीतामूलक प्रजातन्त्रको अभ्यास गरेको छ । वडाको भुगोल भित्र रहेका पार्टी सदस्यहरुको प्रत्यक्ष (सवै¬) सहभागी भैं अधिवेशन सम्पन्न गर्ने संरचना वडा तहको हो । केन्द्रीय सर्कुलर अनुसार कुनै वडामा २०० सम्म पार्टी सदस्यहरुको भएका वडाहरुको अधिवेशनमा सबै सदस्य सहभागी हुन पाउने गरिएको छ । यहि व्यवस्था अनुसार भीमेश्वर नगरका ९ वटै वडाहरुमा अधिवेशनहरु सम्पन्न भएका छन् । यो सहभागीतामूलक प्रजातन्त्रको एक अभ्यास हो ।

भीमेश्वर नगर क्षेत्र भित्र वडागत रुपमा छरिएर रहेका एमालेका १ हजार २ सय २० जना पार्टी सदस्यहरु छन् । यी पार्टी सदस्यहरु आआफ्नो वडा अधिवेशनमा सहभागी भएका छन् । पार्टी विधान अनुसारको सार्वभौम अधिकार प्रयोग गरेका छन् । विगतको पार्टी कामको समिक्षा गरे, आगामी कार्यभार निर्धारण गरे र सो कार्यभार सञ्चालन गर्न सक्ने नेतृत्व चयन समेत गरेका छन् । प्रकृयागत रुपमा खुल्ला र वन्द सत्र सञ्चालन भएका थिए । राजनीतिक, सांगठनीक, आर्थिक सहितका प्रतिवेदनहरु प्रस्तुती र छलफल भए ।

सहभागीतामूलक लोकतन्त्रको अभ्यासबाट भीमेश्वर नगर वडा नं. १ मा बिष्णु प्रसाद सुवेदी, २ मा आर एन श्रेष्ठ, ३ मा लुङ्गु तमाङ्ग, ४ मा गोविन्द सापकोटा, वडा न. ५ मा राजकुमार थापा, ६ मा ठुलाकान्छा तामाङ्ग, ७ मा सुरथ थापा, ८ मा नकुल केसी र ९ मा जित वहादुर खत्री चयन हुनु भएको छ । हरेक वडामा ३ सदस्यीय लेखा कमिटी चयन भएको छ । नेतृत्व चयनको सन्दर्भमा धेरैबाट चाहाना व्यक्त भएको थियो अन्त्यमा सहमतीका साथ नेतृत्व चयन भएका छन् । यो सहभागीतामूलक लोकतन्त्रको अभ्यासमा १ हजार भन्दा वढिको संलग्नता भएको छ । वडा र लेखा कमिटीमा गरी २ सय जनाले नेतृत्वको जिम्मेवारी पाएका छन् ।

अन्त्यमा, नीति निर्धारण र नेतृत्व चयनमा सकेसम्म सहभागीतामूलक पद्धती गर्नु असल अभ्यास हो । त्यो सवै ठाउँमा व्यवहारिक हुँदैन । त्यसैले प्रतिनिधिमूलक गर्नु पर्ने वाध्यता हुन्छ । तर प्रतिनिधिमूलक भए पनि छलफल भने उपस्थीत प्रतिधिनिधिहरु विचमा सहभागीतामुलक गर्न सके पनि असली रुपमा लोकतन्त्रको अभ्यास मान्न सकिन्छ । यसता छलफलमा जुन वर्ग, स्थान, जात, लिङ्गवाट प्रतिनिधित्व गर्ने हो त्यसको बस्तुनिष्ट तथा प्रभावकारी प्रतिनिधित्व गर्न भने जरुरी हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *