नयाँमन्त्रीको स्वागतमा कर्मचारी हैरान

राजनीति समाचार

काठमाडौं । त्यतिकै भनिएको रहेनछ, ‘बलेको आगो ताप्न सबै जुट्छन् ।’ त्यहीं भनाइ चरितार्थ भएको छ यतिबेला सिंहदरबारभित्र । गत असार १७ गते नेपाली कांग्रेस नेकपा एमालेले सहमति गरेर सरकार बनाउने हल्ला चलेपछि सुनसुन अवस्थामा गुज्रिन रहेको सिंहदरबार नयाँ मन्त्रिमण्डल गठन हुने दिन पशुपतिको जात्रा जस्तै भरिभराउ थियो । चौथो पटक प्रधानमन्त्री बन्न पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सपथ लिएसँगै मन्त्रिमण्डल विस्तार गरेका थिए । नवनियुक्त मन्त्रीहरु पनि कार्यभार सम्हाल्नको लागि हस्याङफस्याङ गर्दै आ–आफ्नो मन्त्रालयतिर दौडधूप गर्दै थिए । उता कर्मचारीहरु मन्त्रीलाई स्वागत गर्न भनी फूलका गुच्छासहित माला र खाता बोकेर मन्त्रालयको ढोकामा लाइन लागेका थिए ।

तर, मन्त्री आउन ढिला भएपछि स्वागत गर्न लाइन बसेका कर्मचारी लामो प्रतिक्षा गरिरहेका देखिन्थे । नवनियुक्त वन तथा वतावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वृक्षा रोपण गरेर मात्रै मन्त्रालय छिर्ने भनेपछि स्वागत गर्न बसेका कर्मचारीहरु ढिला भएर ओठतालु सुकाइरहेका थिए । त्यसैगरी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री पनि मन्त्रालय आउन ढिला भएपछि कर्मचारीहरु लामो समय कुर्न वाध्य भएका थिए । अझ कृषि तथा पशुपन्छि मन्त्रालयका कर्मचारीहरु नवनियुक्त मन्त्रीको स्वागत गर्नुको साटो उल्टै धर्नामा बसेका कारण मन्त्रीलाई मन्त्रालय छिर्नसमेत समस्या परिरहेको थियो । उता नेकपा एमालेबाट मन्त्री भएकाहरु सपथ लिएपछि मन्त्रालय आउनुको साटो सिधैं पार्टी कार्यालय पुगेर मात्रै आ–आफ्नो मन्त्रालयतिर आएका थिए । सपथ ग्रहण गरिसकेपछि सिधैं मन्त्रालय नआएर पार्टी कार्यालयतिर गएपछि स्वागतमा बसेका कर्मचारीहरुले लामो प्रतिक्षा गर्नुपरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *