बंगलादेशको नेतृ शेख हसिना एकाएक प्रधानमंत्रीको पदबाट राजिनाम गरी भारतको राजधानी दिल्ली तर्फ बंगलादेशी सेनाको विमान चढेर भागेकी छिन । लगातार १५ बर्ष सम्म बंगलादेशको शासन सत्ता सम्हालेकी नेतृ शेख हसिनाको यस्तो अकल्पनिय बाहिर्गमनले संसारलाई चकित तुल्याएको छ । विपक्षी दलहरुले बाहिष्कार गरेको गत आम चुनावमा उहाँको दलले एक्लै चुनाव लडेर बिजय भएकी घोषणा गरेकी थिईन । विपक्षी दलहरुले गरेका मागहरको कुनै सुनुवाई भएको थिएन । फलस्वरुप बंगलादेशको राजनीतिक हालत बिग्रियो र त्यहाँ लामोकाल देखि चल्दै आएको दलिय प्रजातंत्रको जग नै खल्बलिन पुग्यो । स्थापित राजनीतिक संरचनामा असन्तुलन सुरु भएकाले नेतृ शेख हसिनाको एकलौटी शासन सत्ताको बिरोधमा त्यहाँको बिद्यार्थीहरुले संयुक्त आन्दोलन सुरु गरे ।
सुरुमा यो आन्दोलन त्यहाँको सरकारले लागुगरेको आरक्षण नीतिको बिरुद्धमा मात्रै केन्द्रित थियो तर सरकारले त्यसलाई दबाउन बल प्रयोग गरेपछि त्यो भड्किएर झन उग्र हुन थाल्यो । पहिलो चरणको बिद्यार्थी आन्दोलनमा त्यहाँको सर्बोच्च अदालतबाट बिद्यार्थी आन्दोलन कै पक्षमा फैसला आएपछि केही थामिएको थियो । तर नेतृ शेख हसिनाले अदालतको फैसला अनुसार संबिधानमा संसोधन गर्न आलटाल गरेपछि दोस्रो चरणको बिद्यार्थी आन्दोलन सुरु भयो । त्यसमा पनि नेतृ शेख हसिनाको सरकारले दबाब कै नीति अपनायो र दुबै चरणको आन्दोलनमा गरी लगभग ३०० बिद्यार्थी आन्दोलनकारीहरु मारिएका छन ।
आखिरमा बंगलादेशको राजनीतिक हालत सम्हाल्नै नसक्ने भएपछि नेतृ शेख हसिना प्रधानमंत्रीको पदबाट राजिनाम दिएर भारतमा निर्वासनको लागि गएकीछिन । बंगलादेशलाई पहिले पूर्बी पाकिस्तान भन्ने गरिन्थ्यो र यो हालको पाकिस्तानकै एक प्रान्त जस्तो मात्रै थियो । भारतले राजनीतिक र सैनिक हस्तक्षेप गरी पूर्वी पाकिस्तानलाई पाकिस्तानबाट अलग पारी बंगलादेश राज्यको स्थापना गरिएको थियो । बंगलादेशको निवर्तमान प्रधानमंत्री शेख हसिनाको पिता शेख मजिबुर रहमानले बंगलादेशको स्वतंत्राको लागि भारत सित मिलेर पाकिस्तान सित लडाई लडेका थिए ।
त्यस्तो ठुलो योगदानको कदर स्वरुप उहाँ नै स्वतंत्र बंगलादेशको पहिलो राष्ट्रपति बनेका थिए । तर बंगलादेशको राजनीतिमा बराबर उथलपुथल आउन बन्द भएन र परिणाम स्वरुप शेख मजिबुर रहमान एक सैनिक बिद्रोहमा मारिएका थिए । त्यो बेला पनि उहाँको दुबै छोरीहरुले भारतमा राजनीतिक शरण लिएर लामोकाल सम्म दिल्लीमा निर्वासित जीवनयापन गरेकी थिईन । बंगलादेशको राजनीतिक हालत सुध्रिएपछि नेतृ शेख हसिना बंगलादेश वापस गएर आफ्नो पिताजीका राजनीतिक बिरासतलाई सम्हालेकी थिईन ।
उहाँको दलले चुनाव जितेर १५ बर्ष सम्म निरन्तर बंगलादेशमा शासन सत्ता चलाएको कुरा सबैलाई बिदित नै छ । बंगलादेशमा यहि बेला बिकासको गति तिब्र भएको छ भन्ने चर्चा सुन्ने गरिएको थियो तर भित्रभित्रै बंगलादेशको राजनीतिक हालत यसरी गलित भइसकेको कुरा भने जानकारीमा आएको थिएन । नेपालका राजनीतिक दलहरुले बंगलादेशको यो राजनीतिक परिघटनाबाट सिको लिएर आफैलाई परिवर्तन गर्दा राम्रो हुन्छ । यसैपनि नेपालको राजनीतिक हालत राम्रो छैन किनकि भित्रभित्रै दलहरुको काम कार्यबाहीको बिरोध भुषको थुप्रोमा लागेको आगो झै फैलिएर गईरहेको छ । दलहरुले गरेका भ्रष्टाचार र अपराधका काण्डहरु नेपाली जनताको लागि सहिनसक्नु भईसकेका छन् ।
नेपाली जनताले राखेका मागहरुको उचित सुनुवाई हुनसकेको छैन । नेपालको धर्म र इतिहासलाई मेटाउने कामहरु दलहरुको सक्रिय नेतृत्वमा भईरहेकाछन । दलहरु र दलका नेताहरु प्रतिको घृणा नेपाली जनताको मनमा यति फैलिसकेको छ कि तिनीहरुको कुरा सुन्न र मुख हेर्न नेपाली जनतालाई पटक्कै मन छैन । यहि भएको हुँदा नेपाली जनता वैदिक सनातनी हिन्दूधर्म र राजतंत्रको वापसीको कामना गरीरहेका छन । दलहरुले फैलाएको भ्रममा परी नेपाली जनताले राजतंत्र हटाउनको लागि दलहरुलाई साथ दिएका थिए तर दलहरुको ३६ बर्ष लामो शासन सत्ताको अनुभव गरीसके पछि नेपाली जनताको शुद्धी फर्कीसकेको हुँदा आफ्नो बिगतको गल्तीलाई सुधार्ने प्रयासमा लागेकाछन । निवर्तमान प्रचण्ड सरकारको पालामा भ्रष्टाचार र अपाराधका बिरुद्ध कानुनी कार्यबाही थालिएको भएतापनि वर्तमान ओली सरकारले सत्तामा आएपछि त्यो सबै कानुनी कार्यबाहीहरुलाई उल्टाउने प्रयास थालेकाछन ।
संबिधान संसोधन गरी नेपाली जनताको मागलाई संबोधन गर्छौ भन्ने वर्तमान ओली सरकार धमाधम आफु र आफ्ना दलका नेताहरु बिरुद्ध लागेको भ्रष्टाचार र अपराधको आरोपहरु बन्द गर्न गराउन तिर लागि परेकाछन । एमाले सरकारको सहयोगी दल नेपाली काँग्रेसले पनि बिगतमा भ्रष्टाचार र अपराध गरी नाम कमाएका आफ्ना खुँखार संसदहरुलाई ओली सरकारको मंत्री बनाएकाछन । ओली सरकारका मंत्रीहरुले वेमौसमी सरुवा लगायतका गैरकानुनी काम गरी भ्रष्टाचार र अपराधको बिरुद्ध अगिल्लो सरकारले थालेको कानुनी कार्यबाहीलाई तहसनहस बनाईदिएका छन् ।
सत्तामा भएका दलकाका शीर्ष नेताहरु राजदुत पदको भागबण्डा गरी खानमा नै व्यस्तछन र अर्को चरणमा निजामती कर्मचारीका हाकिमहरु सचिव, सहसचिव , सिडियो, प्रहरी अधिकारीहरु आदिको सरुवा गर्ने काम थालेकाछन । पैसा कताबाट आउँछ र मिसन ८४ को चुनावको लागि कताबाट धनको जुगाड हुन्छ भन्ने धेय मनमा राखेर नै ओली सरकारले ठेकेदार, भूमाफिया, नाफाखोर दलाल तस्कर व्यापारिहरु र व्यवसायीहरुको सिफारिस अनुसार महत्वपूर्ण सरकारी पदहरुमा सरुवा बढुवा गर्ने गराउने नीतिलाई बढवा दिएकाछन । यो भन्दा पहिले पनि शैक्षिक माफियाले नेपाली काँग्रेसबाट राज्य मंत्री बन्ने अवसर पाएका थिए । लिटिल एन्जेल स्कुलका मालिक स्वयम महेश कुमार श्रेष्ट नै त्यस्तो भाग्यमानी व्यक्ती हुनुभएको थियो । अहिले आएर ओली सरकारको मंत्रीपरिषदमा पनि एक जलमाफियाले फुलमंत्री नै बन्ने अवसर पाएकाछन । त्यसमा पनि उहाँ जलस्रोत मंत्री नै बनेर कुलमान जस्ता राष्ट्रवादीको खेदो खन्दैछन ।
उहाँको कोपभोजनमा नेपाल बिद्युत प्राधिकरणका दुई बोर्ड सदस्य परीसकेका छन् । राष्ट्रको हितमा कुरा गर्दा उहाँहरु सित स्पष्टीकरण मागियो अनि त्यसपछि उहाँहरुले पेश गरेका स्पष्टीकरण चित्त बुझ्दो भएन भन्दै दुबैलाई हटाएर उक्त खाली ठाउँमा एमाले र नेपाली काँग्रेसका कार्यकर्ताहरुलाई नियुक्त गरीसकेका छन । जलस्रोत मंत्री दीपक खड्का जलमाफिया मात्र नभएर घरजग्गाको माफिया पनि भएको कुरा नेपाल स्काउटको सरकारी जग्गा कव्जा गरी बसेको र त्यसको उपयोग आफ्नो फाईदाको लागि गरेबाटै स्पष्ट हुन्छ । वर्तमान ओली सरकारको मन्त्रिमण्डलका सदस्यहरुलाई हेरेपछि नै यो सरकारको खस्रो पातको भएको बुझिन्छ ।
त्यसकारण वर्तमान ओली सरकारले नेपाल राष्ट्र र नेपाली जनताका समस्याहरुको समाधान निकाल्ने भन्दा पनि त्यसलाई झन चर्काउँदै लाने देखिन्छ । ओली सरकारको खस्रो पात पंहेलो भएर झर्ने र त्यसको ठाउँमा चिल्लो पात पलाउने संभावना अहिलेको नेपालको राजनीतिक अवस्थामा टाढा टाढा सम्म कतै पनि देखिन्न । बलमिचाई गर्ने नियम छाडाहरुले भरिएको ओली सरकारको मंत्रीपरिषदबाट नेपाली जनताले राम्रो कामको आस लगाउनु भनेको समय बर्बाद तुल्याउनु मात्रै हो । प्रधानमंत्री ओली स्वयम नै सुरुची अनुसार चल्ने व्यक्ती हुनुभएकाले उहाँले कहिले पबि सुनीति अनुसार चल्ने प्रयास गर्नु भएकै छैन । उहाँको गलत नीतिले गर्दा खेतीपाती गर्ने उव्जाउ भूमिमा कंक्रिटका टावरहरु बनेकाछन । यस्तो कंक्रिटको जंगल बढ्दै गएकाले नेपाली जनताको लागि बसोबास कै समस्या बढेर गएकोछ । कंक्रिटको जंगलबाट उत्पादन केही नहुने हुँदा भीर मौरी, बारुलो, अरींगाल र गौंथलीले समेत बसाई सर्नु परीरहेका छन ।
अन्नको भकारी मानिने तराईको खेतबारीहरु घरजग्गाका दलालहरुले प्लटिङ गरी सकाएका छन । सिंचाई परियोजनाहरु बने पनि सिंचाईको कमाण्ड एरिया सहरी बसोबास बिकासको लागि प्रयोग भएको हुँदा सिंचाईमा गरिएको सरकारी लगानी बेकार भएकाछन । नेपालको भौतिक हालत यस्तो भएको हुनाले नै नेपाली युवा जनशक्ति वैदेशिक रोजगारीका लागि जान बाध्य भएका हुन । तिनै गरिब तप्काका युवा जनशक्तिले दुःख कष्ट सहेर कमाएको पैसा नेपालमा पठाएको हुनाले नै नेपालमा बिदेशी मुद्राको सञ्चिती वालछ्याल भएको हो । उक्त वैदेशिक मुद्राको सञ्चिती कै कारण नेपाल राष्ट्र दक्षिण एशियाका अन्य मुलुकहरु जस्तो आर्थिक संकटको चेपेटमा पर्नबाट जोगिदै आएको छ ।
धनी नेपालीहरु बिदेश गएको भएपनि कमाएर यता नेपालमा पठाउने गरेकाछैनन् । बरु उल्टै नेपालमा भएका आफ्न सम्पत्ती बिक्री गरी गैरकानुनी तरिकाले बिदेशमा लाने काम गर्दै आएकाछन । नेपालमा पीआर धारी, विदेशी नागरिकता धारी, दोहोर पासपोर्ट धारीहरु धेरै छन । केहीले नेपाल आएर दलहरुको झोले बनी राजनीतिक नियुक्ती लिएर अकुत कमाएका पनि छन । नेपाल सरकारको ठुलो पद वा ओहोदामा बसेकाहरुले नै यस्तो वेईमानी काम गर्दै आएको हुँदा नेपालको कानुन अनुसार कार्यबाही चल्न वा चलाउन सकिएको छैन ।
राजनीतिमा कोही सत्रु वा मित्र हुँदैन भन्ने शिद्धान्त भएका दलका शीर्ष नेताहरुले भ्रष्टाचार र अपराधलाई पनि अंगीकार गरेको हुँदा नेपालको राजनीतिमा सुधारको अपेक्षा गर्न कठिन भएकोछ । ठुला राजनीतिक दलहरु सबैको पृष्ठभूमि अपराधिक नै भएको हुँदा उहाँहरु आफै सच्चिनेवाला छैन । उहाँहरुलाई सच्चाउनको लागि नेपाली जनताले पनि बंगलादेशी जनताले अपनाएको मार्ग नै अपनाउनु पर्ने देखिन्छ ।