शहरी विकासमन्त्री रवि सिंह कि प्रकाशमान ?

राजनीति समाचार

काठमाडौं । नेपाली कांग्रेसबाट उपप्रधानसहित शहरी विकासमन्त्री बनेका प्रकाशमान सिंहले भवन विभागका महानिर्देशक कुमार घिमिरेलाई अधिकार सम्पन्न बागमती सभ्यता, एकीकृत विकास समितिमा सरुवा गरेर मचाकाजी महर्जनलाई भवन विभागको महानिर्देशक बनाएका छन् । भवन विभागको महानिर्देशक बनेका मचाकाजी महर्जन कर्मचारीमा सोझा व्यक्ति भएको बताइन्छ । उनलाई भवन विभागका महानिर्देशक बनाउनको लागि निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको हात रहेको बताइन्छ । रवि सिंह उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमानका भतिजा हुन् ।

शहरी विकास मन्त्रालय अन्तर्गत पर्ने ठेक्कापट्टाको काम आफ्नो हातमा पार्नको लागि अध्यक्ष रवि सिंहले मचाकाजीलाई महानिर्देशक बनाउन मन्त्री सिंहसमक्ष लभिङ्ग गरेका थिए । मन्त्री सिंह र अध्यक्ष रविको मिलेमतोमा मचाकाजी भवन विभागको महानिर्देशक बनेका हुन् । शहरी विकासको काममा खासै अनुभव नभएका मचाकाजीलाई भवन विभागको महानिर्देशक बनाएपछि तत्कालीन महानिर्देशक घिमिरेले थालेका कामहरु अलपत्र पर्ने देखिन्छ । उता, मन्त्री सिंहले सातजनाभन्दा बढी सिनियर सहसचिवहरुलाई पाखा लगाएर कनिष्ठ सहसचिव मचाकाजीलाई भवन विभागको महानिर्देशक बनाएपछि कर्मचारीहरुको मनोबल गिरेको छ । मन्त्री सिंहले शहरी विकास मन्त्रालय चलायमान बनाउनुपर्नेमा उल्टै कर्मचारी सरुवा गरेर मोटो रकम उठाउने प्रपञ्च रचिरहेका छन् ।

तत्कालीन महानिर्देशक कुमार घिमिरेको जागिरे अवधि पनि माघसम्म मात्रै छ । घर जाने बेला भएका अनुभवी महानिर्देशक घिमिरेलाई अन्यत्र सरुवा गरेर भवन विभाग अन्तर्गतको काम लथालिङ्ग बनाउने काम मन्त्री सिंहले गरेका छन् । त्योसँगै भवन विभागअन्तर्गत पर्ने विभिन्न ठूला आयोजना र मर्मत संभारको ठेक्का लगाउन धेरै बाँकी भएको कारण त्यो ठेक्का महानिर्देशक मचाकाजीलाई प्रयोग रवि सिंहले आफ्नो कब्जामा लिई मन्त्री सिंहलाई कमिसन उपलब्ध गराउनको लागि यो प्रपञ्च रचिएको कर्मचारीवृत्तमा चर्चा चलेको छ । सचिव मणिराम गेलाल पनि विगत लामो समयदेखि शहरी विकास मन्त्रालयमा कार्यरत छन् । मन्त्री सिंहले सचिव गेलाललाई सरुवा गर्छन् कि गर्दैनन् हेर्न बाँकी छ । गेलालको जागिरे अवधि पनि धेरै छैन ।

विगतका मन्त्रीहरुले सचिव गेलाललाई चलाएका थिएनन् । सचिव गेलाललाई शहरी विकासमा राम्रो ज्ञान भएका र स्वच्छ छविका कर्मचारीको रुपमा हेरिन्छ । विभागभित्रका कर्मचारी सरुवा र नियुक्ति गर्दा लेनदेनमा नमुछिएका सचिव हुन् गेलाल । त्यस्ता सचिवलाई मन्त्री सिंहले अन्यत्र सरुवा गर्छन् कि गर्दैनन् भनेर कर्मचारीवृत्तमा चर्चा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *