बाल्यकालको चर्चा गर्नु खोज्नु वुढ्यौली तिर लाग्नुको संकेत हो भन्ने गरिन्छ । म, २० वर्ष जतीको हुँदा ४५ वर्षको मान्छे देखेमा मर्ने बेला भएछ जस्तो लाग्दथ्यो तर अहिले ५० वर्षको पनि तन्नेरी नैं लाग्दछ । त्यसैले आधा शताव्दीका हाराहारी पुगेकाहरुसँग वाल्यकाल र तन्नेरीको याद आउनु स्वभाविकै हो । ती हाम्रा यथार्थता हुन् । तिनै पृष्ठभूमिका जगमा उभिएका छौं । तन्नेरी उमेरमा हाइस्कुल तिरको पठनपाठन हुने गर्दथ्यो । दोलखाको सदरमुकाममा रहेको कालिञ्चोक माध्यामीक विद्यालयमा पठनपाठन गर्ने २०४७ सालका एसएलसीसम्मका सहपाठीहरु विचमा जमघट हुने वा गर्ने अनेकानेक कोशिस भएको थियो । संभव भैरहेको थिएन । अशोज १२ गते काठमाडौं उपलव्ध हुनेहरुको सानो टिमको पुर्नमिलनको मौका मिल्यो ।
पुर्नमिलनको साइत
नेपालका वहुदलकोलागि आन्दोलन भैरहँदा हामी १०० जना वढि कालिञ्चोक मावीमा दश कक्षामा पढ्दै थियौं । आन्दोलन भयो । वहुदल घोषणा भयो । चरिकोटका भित्ताहरुमा वहुदल र पार्टीका नाममा भित्ते लेखन पनि चल्यो । भित्तामा लेखेका अक्षरहरु पढ्दा अनौठै लाग्दथ्यो । २०४६ को चैत्रमा जनआन्दोलन भएको थियो । त्यो वर्षको एसएलसीको परिक्षा भैसकेको थियो । त्यसैले हाम्रो टिम नैं वहुदलय पछि पहिलो व्याज थियो एसएलसी दिने । १० कक्षामा टेष्ट परिक्षा हुने गर्दथ्यो । जुन जिल्ला स्तरीय हुने गर्दथ्यो । हामी ९८ जनाले सो परिक्षामा सामेल भयौं ।
५६ जनाले त्यो परिक्षामा सफलता हासिल भएका थियौं । त्यो बेलामा एक विषयमा फेल भए पनि एसएलसी परिक्षा दिन पाइन्थ्यो । त्यसै गरी एसएलसी परिक्षामा पनि कुनै एक विषयमा ५ नं सम्म नपुगेमा गेस पाएर उर्तिण हुने चलन पनि थियो । टेष्ट परिक्षामा सवै विषयमा सफल हुने विधार्थी कमै थियौं । हामीले २०४७ साल ं माघ २८ देखि फाल्गुन ९ सम्म एसएलसि परिक्षा दिएका थियौं । हाम्रै विद्यालय परिक्षा केन्द्र परेको थियो । केन्द्राध्यक्ष माद्यमिक विद्यालय निरिक्षक बलराम केसी हुनुहुन्थ्यो । त्यस परिक्षाबाट हामी २७ जना उर्तिण भयौं । त्यो उर्तिण दर अघिल्ला वर्षहरुको तुलनामा असाध्यै राम्रो थियो । २ विषयसम्म असफल हुने विद्यार्थीले पुनः ती विषय मात्र परिक्षा दिन पाइन्थ्यो । २ भन्दा वढि विषयमा ३२ नंं ल्याउन नसक्नेले ७ वटै विषयको अर्को वर्ष जाँच दिनु पर्दथ्यो ।
कालिञ्चोक माविको वदुदल पछिको पहिलो एसएलसीको व्याच निस्के पछि हामी कता कता लाग्यौंं । धेरै मेसो भएन । आज भन्दा केही वर्ष अघि सहपाठी तुलसी प्रसाद सुवेदीले नेटवर्किङ्ग गर्ने चाहाना राख्नु भयो । केही साथीहरुसँग अनलाइन गफ पनि भयो । फेसवुक मेसेन्जरमा कालिञ्चोक माविका २०४७ का एसएलसी समूह नाम राखि ग्रुप पनि वनाइयो । भौतिक रुपमा जमघट हुने धेरैको चाहाना थियो तर मेसो मिलिरहेको थिएन । धेरै पटक तिथी मिति तय गरेर पनि स्थगित गर्नु परेको थियो । तुलसी प्रसाद र मेरो विचमा केही दिन अघि सल्लाह भयो । अनी अशोज १२ गते शनिवारलाई प्रस्तावित मिति फेसवुक ग्रुपमा राखियो । काठमाडौंमा भएकाहरु विचमा भेटघाट हुने गरी धेरैका अनुकुलताको कुरा आयो ।
अनी हाम्रो साइत जु¥यो, अशोज १२ । तर त्यही दिन प्रकृती प्रकोप नैं भयो । अघिल्लो दिन देखि लगातार पानी दर्किन थाल्यो । यहि दिन धेरै ठाउँमा वाढी पहिरो गयो । धनजनको क्षति भयो । हामी पनि जम्मा हुन सकिने नसकिने कुरा हुँदाहुँदै तिनकुने स्थीत रोयल व्यान्केटमा हामी जम्मा हुन थाल्यौं । ९ जना जुट्यौं । केही साथीहरु आउने निश्चीत भएर पनि पानीको कारण आउन सक्नु भएन । काठमाडौं उपत्यकामा विद्युत् टुटेको थियो । टेलिफोन सम्पर्क पनि प्रभावकारी हुन सकेको थिएन । ९ जना जम्मा भयौं । केही साथीहरु स्कुले जीवन पछि भेटै नभएका पनि जुटेका थियौं । कतिपयको नाम र अनुहार नैं विर्सिसकेका रहेछौं । साथी संझने कुरामा म अलि कमजोर नैं रहेछु ।
एकतामा विविधता
कृष्ण वहादुर कार्की, तुलसी प्रसाद सुवेदी, रुवी योञ्जन, अर्चना घिमिरे, वैकुण्ठ दुलाल, मानवहादुर वुढाथोकी, रोशन कार्की, वद्री बस्नेत र म गरी ९ जना उपस्थित भएका थियौं । पालैपालो आफ्नो संक्षिप्त जीवनी, व्यवसाय, पारिवारीक अवस्था समेत आदान प्रदान गरियो । अधिकांशले मास्टर डिग्री गरेका रहेछौं । एमफिल गर्ने कृष्ण वहादुर कार्की मात्र हुनुहुँदो रहेछ । उहाँ हाम्रो व्याचको ‘फष्ट ब्वाइ’ पनि हो । उहाँ सरकारी शिक्षक हुनुहुन्छ ।
सहपाठी तुलसी सुवेदी स्वास्थ्य क्षेत्रसँग सम्वन्धीत सरकारी जागिरमा हुनुहुन्छ । रुवी लामा सरकारी शिक्षक, रोशन कार्की व्यापार व्यवसायमा, अर्चना घिमिरे योग क्षेत्रमा विशेषज्ञताको भूमिकामा क्रियाशिल हुनुहु्न्छ । त्यसै अनी मानवहादुर वुढाथोकीले आफ्नो छोराछोरीको सवैको विवहा भैसकेको जानकारी गराउनु भयो । सायद यो भूमिका निर्वाह गर्न सक्ने हाम्रो सहपाठीहरु मध्ये पहिलो नैं हुनु पर्दछ । उहाँ त ३ जना नातीनातीनीको धनी नैं भैसक्नु भएछ । वुढाथोकी स्वास्थ्य क्षेत्रमा सहकारी जागिरबाट भरखरै सेवानिवृत हुनुभएको छ । बद्री बस्नेतले पनि सरकारी शिक्षकबाट अवकाश लिनु भएको पनि एक दशक भैसकेछ । सहपाठी बैकुण्ठ दुलाल अष्ट्रेलियामा बसोबास गर्नु हुन्छ । संयोगले अघिल्लो दिन मात्रै नेपाल आउनु भएको थियो । उहाँसँगको भलाकुसारी र अष्ट्रेलियामा वर्किङ्ग भिषामा गएको अनी नेपालमा आउँदा भिषा लिएर आउने सन्दर्भको रोचक लाग्यो ।
हामी मध्ये धेरै जनाको छोराछोरी विदेश गएको पाइयो । विदेश जाने लहर चलेकोमा एक आपसमा गुनासो र दिक्दारी पनि सुनाइयो । तर कृष्ण वहादुर कार्कीको अनुभव अलि फरक मात्र होइन नौलो पनि थियो । उहाँको छोरा छोरी विदेश तिर पढेको रहेछन् । किनकी कृष्ण वहादुर कार्कीको श्रीमती परराष्ट्र मन्त्रालयमा जागिर गर्दा विभिन्न देशमा रहेको नेपाली राजदुतावासमा काम गर्नु भएको रहेछ । त्यो समयमा छोराछोरी पनि उतै पढेछन् । त्यस बेलामा अनागरिकको व्यवहार खेप्नु परेको अनुभव छोराछोरीसँग रहेछ । त्यही भएर विदेश जाने रहर पटक्कै राख्दैनन् रे । हामीलाई यो अनुभुती पनि रोचक नैं थियो । अरुका छोराछोरीलाई पनि यो अनुभव सुनाउन लगाउन पाए पनि हुन्थ्यो भन्ने लागि रह्यो मनमनमा । किनकी विदेश जाने लहर नैं चलिरहेको छ ।
हाम्रा शैली, पेशा व्यवसाय, पारिवारीक अवस्था, शिक्षा, सम्पन्नता, बसाई सवैले विविधता थियो तर हामी सवै कालिञ्चोक माध्यमिक विद्यालयका विधार्थी हौं । त्यो हाम्रो एकताको जग हो ।
लोपोन्मुख साहिलाको जमघट
अर्को संयोग ९ जनामा ४ जना चाँही साहिंला रहेछौं । साहिला भन्ने प्राणी चितवन एकसिङ्गे गैंडा भन्दा पनि लोपोन्मुख रहेको भनी हंसीमजाक पनि गरियो । हामी भन्दा पछिल्लो पुस्तामा साहिँलो पाइन मुस्कील मात्रै हैन असंभवै जस्तो भैसक्यो । कृष्ण, तुलसी, मान र म साहिंला छोरा रहेछौं । हाम्रै सहपाठी प्रशुराम थापा पनि साहिलो हुनुहुन्छ । तर उहाँ चरिकोटमा नैं हुनु भएकोले यो जमघटमा छुट्नु भएको थियो ।
हाम्रो भेटघाटमा हामीले विद्यालयमा रहँदा गरेका उरेन्ठेउला कर्म वारेमा चर्चा गरियो । विद्यालय जीवनमा शिक्षकले कुटेको देखि जाँचमा चिट गरेकोसम्म स्मरण गरियो । स्कुलबाट भागेको देखि अरुलाई कुटेको र कुटाई खाएको समेत चर्चा भयो । आपसका कुटाकुट गरेको बोलचाल वन्द गरेको अनुभव पनि हामीसँगै थियो । एसएलसी दिने ५६ जना र उतिर्ण हुने २७ जनानैं साथीहरु संझने कोशिस ग¥यौं । अर्को बसाईमा यो घेरा फराकिलो वनाउने सल्लाह ग¥यौं । थप साथीहरुसँग सम्वन्ध विकास गर्ने अनी त्यो बेलाको शिक्षकहरुसँग पनि संवाद गर्ने चर्चा भयो । हामी अहिले जुन अवस्थामा पुगेका छौं, त्यसमा हामीले अध्ययन गरेको विद्यालयको भूमिका रहेको छ । त्यसैले कालिञ्चोक माध्यमीक विद्यालयसँग पनि जोडिने सबैको साझा मत बन्यो । ९ जना मात्रैको छोटो बसाईमा धेरै अन्तरङ्ग कुराकानी भए । यसले सवैलाई उत्साहित गर्दै थप नजिक बनायो । तन्नेरी यादलाई स्मरण गरायो । यस्लाई श्रृखला बनाउने कुरामा सवैको एकमत रह्यो । अझै हामीलाई तन्नेरीका पलहरु संझन रहर पुगेकै छैन ।