कीर्तिपुरलाई पर्यटकीय गन्तव्य विकास गर्छौं

अन्तरवार्ता राजनीति

डा.सुरेन्द्र मानन्धर, एमाले नेता
मंसिर १६ गते हुने कीर्तिपुर नगरपालिकाको निर्वाचनमा मत परिणाम आफ्नो पक्षमा पार्न दलहरुले तयारीलाई तीव्र पारेका छन् । गएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका नगरप्रमुख राजकुमार नकर्मी र वडा नम्बरर एकका वडाअध्यक्ष हिरालाल महर्जन सहित स्वतन्त्रबाट चार नम्बर वडाअध्यक्षमा विजयी बनेका श्याकुमार अधिकारीको मृत्यु भएपछि ति पदहरुमा उपनिर्वाचन हुन लागेको हो । यो उपनिर्वाचनलाई दलहरुले प्रतिष्ठाको बिषय बनाउँदै परिणाम आफ्नो पक्षमा पार्न अहिले देखि नै कसरत शुरु गरिसकेका छन् । काठमाडौं जिल्लास्थित कीर्तिपुर नगरपालिकाको नगरप्रमुख सहित वडा नम्बर एक र ४ को वडा अध्यक्षका लागि मंसिर १६ गते हुने उप निर्वाचनको मत परिणाम आफ्नो पक्षमा पार्न दलहरुले आन्तरिक तयारीलाई तिव्र बनाएका छन् ।
गएको निर्वाचनमा कांग्रेसले ३ हजार ५ सय भन्दा बढी मतान्तरले नगरप्रमुखमा जितेको र अहिलेपनि सजिलै कांग्रेसले नै निर्वाचन जित्ने दाबी कांग्रेस नेताहरुको छ । तर नेकपा एमालेका नेताहरु भने अहिले देखि नै निर्वाचनको तयारीमा लागेको बताउँदै आफुहरुले लोकप्रिय उम्मेद्वारलाई अगाडि सारेकाले निर्वाचन एमाले नै जित्ने ठोकुवा गर्छन् ।

एमालेबाट मेयर पदका लागि टिकट पाई सकेका डा. सुरेन्द्र मानन्धरले आफ्नो चाहना भन्दापनि नगरबासीको चाहनाले उम्मेद्वार बनेको बताए । एमालेको संगठन मजवुत भएकाले आफुले सहजै जित्ने उनी दाबी गर्छन् । सुरेन्द्र मानन्धरले २०७० को दोस्रो संविधानसभा चुनावमा काठमाडौं–१० बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रतिस्पर्धा गरेका थिए ।

त्यो चुनाव कांग्रेसका राजेन्द्र केसीले २० हजार ३९२ मत ल्याएर जिते । मानन्धरले १३ हजार ६१५ मत ल्याएर दोस्रो हुँदा १२ हजार ८५२ मत ल्याएर प्रचण्ड तेस्रो भएका थिए । तर त्यसपछिका चुनावहरुमा उनले टिकट नै पाएनन् । उनै मानन्धरसँग गरेको कुराकानीको अंशः

० तपाईंलाई कीर्तिपुरका जनताले किन भोट दिने ?
हामीले कीर्तिपुर नगरको समग्र विकासका योजना अगाडि बढाएका छौं । अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियान सञ्चालन गर्नुभएको छ । त्यो अभियानलाई अघि बढाउँदै कीर्तिपुरलाई समृद्ध बनाउन पूर्वाधार तयार गर्दै अगाडि बढेको अवस्था छ । कीर्तिपुरलाई ऐतिहासिक, धार्मिक, पुरातात्विक र पर्यटकीय दृष्टिकोणले विकास गर्नुपर्छ भनेर हामीले धेरै पूर्वाधार तयार गरिसकेका छौं । अब तिनै पूर्वाधारमा टेकेर अगाडि बढ्नुपर्ने अवस्था छ । हाम्रो नेतृत्वमा नै त्यो पुरा हुनेछ । स्थानीय सरकारले स्वामित्व र अभिभावकत्व ग्रहण गर्दै शिक्षामा आम कीर्तिपुरवासीको पहुँच पुगोस् भन्ने हिसाबमा सरकारी र सामुदायिक विद्यालयलाई व्यवस्थापन गरेर अगाडि बढाउने सोचेका छौं।

केन्द्र सरकारले पनि कीर्तिपुरमा दुई वटा विद्यालय नमुना विद्यालयको रुपमा लिएको छ । हामीले अरु विद्यालयलाई पनि नमुना बनाएर एउटा प्राविधिक विद्यालयको अवधारणासहित अगाडि बढ्ने विषयमा विज्ञ र शिक्षाविदसँग सल्लाह गरेर काम गर्ने सोचेका छौं । यो सबै एमालेका उम्मेदवारबाट मात्रै सम्भव छ भन्ने आम कीर्तिपुरवासीले बुझेका छन् । प्राविधिक शिक्षालाई प्रभावकारी बनाउने हिसाबले योजना अघि बढाउने छौं । खेलकुद क्षेत्रको हकमा पनि समृद्ध बनाउन योजना बनाएका छौं । खेलकुदकै क्षेत्रमै स्नातक तहसम्मको अध्ययन गराउने हिसाबले पाठ्यक्रम नै तयार गरेर त्रिविसँग सहकार्य गरेर अघि बढिसकेको अवस्था छ । रोजगारको सम्बन्धमा पनि विभिन्न सीपमा आधार भएका व्यक्तित्वहरु हुनुहुन्छ । उहाँहरुलाई संगठित बनाएर कीर्तिपुरमा औद्योगिक विकास गर्ने र रोजगार सिर्जना गर्न सक्ने गरी खाका तयार गरेका छौं । नागरिकका आधारभूत आवश्यकतादेखि लोककल्याणकारी अभियानसम्मका सामाजिक क्षेत्रमा सुधार ल्याउन अगाडि बढ्ने परिपाटीको विकास भएको छ । यस अर्थमा नेकपा एमालेलाई नै कीर्तिपुरवासीले विश्वास गरेर मतदान गर्ने छन् ।

० संस्कृति र परम्परा नै अर्थतन्त्रको मेरुदण्ड बनाउछु भन्नु हुन्छ कसरी ?
कुनै समय कीर्तिपुर हातेकपडा बुनाइका लागि प्रख्यात थियो । स्थानीय प्रविधि र कालिगडका लागि कीर्तिपुरले ख्याति कमाएका छ । अहिले कीर्तिपुरले त्यस खालको खास उत्पादन गर्दैन । यस अवस्थामा नगरपालिकाको आर्थिक विकासको स्रोत पहिचान सबैभन्दा ठूलो चुनौती छ । यद्यपि, गौरवशाली इतिहास बोकेको कीर्तिपुरमा रहेका सांस्कृतिक सम्पदा र चालचलन अर्थोपार्जनको मेरुदण्ड बन्न सक्छन् । यहाँका सबल पक्षलाई अझ बलियो र चुस्त बनाउने हाम्रो योजना छ । काीर्तिपुरलाई सांस्कृतिक एवं ऐतिहासिक रूपमा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सके धेरै हदसम्म आर्थिक रूपमा हामी सम्पन्न हुन सक्छौँ । कीर्तिपुर नगरवासीका लागि सबैभन्दा ठूलो समस्या हो, खानेपानी । अर्कोतिर, कीर्तिपुरमा पानी स्रोत पनि प्रशस्त छन् ।

ती स्रोतको परिचालन मात्र हुन सकेको छैन । हामीले बृहत् एकीकृत खानेपानी परियोजना अघि सार्नेछौँ । सर्वप्रथम कीर्तिपुरवासीलाई कति खानेपानी आवश्यक पर्छ, त्यसको अध्ययन गरी तथ्यांक निकालिनेछ । कीर्तिपुरमा रहेको सुन्दरीघाटको पानी हाल ललितपुर र काठमाडौंमा गइरहेको छ । मेलम्ची आएसँगै उक्त घाटको पानी कीर्तिपुरमा डाइभर्ट गर्न सकिने छ । यहाँ शिक्षा र स्वास्थ्यका पनि समस्या छन् । शिक्षालय छन्, तर शिक्षाको गुणस्तर छैन । नाम चलेका अस्पताल छन्, तर स्थानीयको घरदैलोमा पुग्ने स्वास्थ्य सेवा पुगेको छैन । फोहोर व्यवस्थापनसँगै आवश्यक पूर्वाधारमा विकास गर्ने उनको योजना छ । ‘त्रिभुवन विश्वविद्यालय’ कीर्तिपुरमै अवस्थित छ । पूर्वदेखि पश्चिम नेपालका विद्यार्थीको रोजाइ अनि बसाइ कीर्तिपुर हुने गरेको छ । ‘विश्वविद्यालय नजिक भएका कारण संस्थागत विद्यालयमा जोड छ । यद्यपि, जति बलियो र अब्बल यहाँका संस्थागत विद्यालय छन्, सार्वजनिक विद्यालयको अवस्था उत्तिकै कमजोर छ ।

० फोहोर व्यवस्थापन र सडक विस्तारमा तपाईंंको योजना के छ ?
कीर्तिपुरको सबैभन्दा कमजोर पक्ष भनेको नै फोहोर व्यवस्थापनको समस्या हो । त्यसलाई चाहिँ नगरपालिका आफैंले जिम्मा लिएर फोहोरको व्यवस्थापन गर्नुपर्ने हुन्छ । कीर्तिपुरको फोहोर व्यवस्थापन गर्न यहाँ नै ठाउँहरु रहेको छ । छलफल गर्न बाँकी छ। योजना बनाएर नै काम गर्न सकिन्छ । यति गर्न सकियो भने सिसडोल लगायत ठाउँमा लगेर फोहोर व्यवस्थापन गर्नुपर्छ जस्तो लाग्दैन । सडक विस्तारको कुरा गर्दा यहाँ पनि निकै साँघुरा सडक छन् । तर, यो अवस्था देखिँदैन। सर्वोच्च अदालतले नै प्रष्ट रुपमा मुअब्जा नदिइकन पाइँदैन भनेको छ । त्यसका कारणले गर्दा पनि सडक विस्तार कठिन विषय हो जस्तो लाग्दछ । यद्यपि नयाँ बन्ने सडकलाई फराकिलो बनाउने हाम्रो योजना रहेको छ ।

० कीर्तिपुरको चुनौती के के छन् ?
कीर्तिपुर नगरपालिकाका अनगिन्ती चुनौती छ । स्वास्थ्य, सडक, सरसफाइ, यातायात, खानेपानी जस्ता समस्या कीर्तिपुरमा छन्। यहाँ त्रिविकै कारण ७७ जिल्लाकै मानिसको बसोबास छ । त्रिविकै कारणले हामीले सबैसँग राम्रो सम्बन्ध बनाउन पाएका छौं । तर त्रिविकै कारण कीर्तिपुरबासी खुसी छैनन् । त्रिविकै कारण चक्रपथ कीर्तिपुरसम्म आउन सकेको छैन् । त्रिवि यहाँ भएको कारण रिङरोड नै भित्र पुग्यो । त्रिवि यहाँ नभएको भए कीर्तिपुरको डाँडामै चक्रपथ हुन्थ्यो । चक्रपथ कीर्तिपुरमा भएको भएको यहाँको आर्थिक गतिविधि झन् राम्रो हुन्थ्यो । त्रिवि बीचमा भएकै कारण कीर्तिपुरमा कुनै कलकारखाना नआएको, वस्ती विकास हुन नसकेको, हजारौं रोपनी जग्गा खाली रहेको छ । यी सबै समस्या समाधानको लागि आफू सक्षम छु । नगरपालिकाले त्रिविको आन्तरिक कुरामा हस्तक्षेप नगरी समस्या समाधानको उपाय खोज्नुपर्छ । त्यसका लागि म पहल गर्छु ।

० गुठी र सम्पदाको संरक्षण गर्न के कस्ता योजना छन् ?
कीर्तिपुर पुरानो वस्ती हो । यहाँका सारा वस्ती स्थानीय कच्चा पदार्थबाट निर्मित थिए । भूकम्पले गर्दा क्षतिग्रस्त भएपछि भने सम्पदाहरु आधुनिक किसिमको बने। गुठी कीर्तिपुर नगरपालिकाको अभिन्न अंग हो । गुठी यहाँको जग्गा सँगसँगै सामाजिक र व्यक्तिगत परम्परा पनि भइसकेको छ । जन्मदेखि मृत्युसम्ममा यसको ठूलो भूमिका हुने गरेको छ। त्यसको संरक्षण सबैको जिम्मेवारी नै हो । त्यसको लागि नगरपालिकाले छुट्टै रणनीति बनाउनुपर्छ जस्तो भने मलाई लाग्दैन । किनकी, गुठी नेवार समुदायको जीवनशैली हो । उनीहरुको जीवनशैलीमा कसैले आएर केही गर्न सक्दैन। संस्कृति सम्पदाको संरक्षणका लागि नगरपालिकाले छुट्टै योजना बनाएर अघि बढ्ने उनले बताए । उनका अनुसार त्यसको लागि घोषणापत्र अनुसारकै मुद्दामा अघि बढ्ने र सांस्कृतिक कार्यक्रमका लागि छुट्टै कोषहरु बनाएर त्यसको मौलिकतालाई जोड दिइने छ ।

० नगरलाई व्यवस्थित बनाउने र रोजगारी सिर्जना गर्ने योजना के हो ?
कीर्तिपुर आफैंमा व्यवस्थित शहर थियो। विश्वकै व्यवस्थित शहरका रुपमा पनि कीर्तिपुर परेको थियो । तर, यसलाई चाहिँ विभिन्न शासकहरुको शासनकालमा सधैं छायाँमा राखिएका कारणले गर्दा विस्तारै व्यवस्थित शहर कुरुप बन्दै गएको हामीले महसुस गरेका छौं। कीर्तिपुरको पुरानो अवस्था हेर्ने हो भने प्रत्येक घरमा बाटो छ । प्रत्येक घर अगाडि ढल छ । पछाडि करेसाबारी छ । अति व्यवस्थित शहर कीर्तिपुर । पुरानो शहर थियो । विभिन्न कारणले गर्दा व्यवस्थिता गुमाएको अवस्था छ । अब यसलाई योजना बनाएर पुनः व्यवस्थित बनाएर लैजानुपर्ने छ । रोजगारीको हकमा आफैं सिर्जना गर्नेभन्दा पनि स्वरोजगारका कार्यक्रम ल्याउनुपर्ने हो । हामीसँगको ६५ सय रोपनी जग्गा त्रिविलाई दिएका छौं । त्यसबाफत त्रिविले कीर्तिपुरलाई छुट्टै जग्गा दिएको छ । त्यहाँ हामी टेक्निकल इन्ष्टिच्युट स्थापना गर्छौं। त्यो भइसकेको अवस्था पनि छ । त्यहाँबाट नै हामी सीपयुक्त हातहरुलाई अझ विभिन्न तालिम दिएर स्वरोजगार बनाउने हाम्रो योजना रहेको छ । त्यस्तै कृषि, पशुपालन लगायतका विभिन्न कार्यक्रमका माध्यमबाट पनि हामीले मानिसलाई स्वरोजगार बनाउने भन्ने योजना अघि सारेका छौं ।

० प्रतिस्पर्धी उम्मेदबारलाई कसरी हेर्नु भएको छ ?
कीर्तिपुरमा एउटा राम्रो रुपमा राजनीतिक सहमति भएको छ। हामी कसैलाई गाली गलौजको राजनीति गर्दैनौं। हामी मैत्रीपूर्ण रुपमा चुनावमा होमिएका छौं। यो मित्रवत प्रतिस्पर्धाकै माध्यमबाट हामी चुनाव लड्ने हो। प्रतिस्पर्धा यहाँ विशेष गरेर तीन दलकै बीचमा हुने हो । नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रकै बीचमा यहाँ प्रतिस्पर्धा हुने हो। म आफैले भन्नुपर्दा आफ्नो दलको स्थिति नै अहिले राम्रो पाएको छुँ । हामीले उठाएका अजेन्डा लगायतले गर्दा यसपटक हामी नै विजयी हुन्छौं । जनताले हामीलाई नै चुन्ने छन् ।

० तपाईंंले शिक्षाको गुणस्तर सुधारका लागि कसरी काम गर्नुहुन्छ ?
कीर्तिपुर नेपालको पहिलो र पुरानो विश्वविद्यालय भएको ठाउँ हो । यहाँ प्रचुर मात्रामा शिक्षा क्षेत्रमा काम गरेको जनशक्ति छ । पीएचडी होल्डरहरु यहाँ यथेष्ट छन् । यीनै गुरुहरुको सहयोगमा यहाँ शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्छ भन्ने मलाई लागेको छ । कीर्तिपुरले शिक्षा क्षेत्रमा छुट्टै पहिचान हुने गरेर काम गर्न सक्छ भन्ने मलाई लागेको छ । यद्यपि यहाँ केही सामुदायिक र संस्थागत विद्यालयबीचको जुन फरक छ त्यसलाई कम गर्दै सामुदायिक विद्यालयलाई गुणस्तरीय शिक्षा दिने थलोको रुपमा विकास गर्न सक्छौं । र, त्यो गर्ने आधार भनेको यहाँ उपलब्ध जनशक्ति नै हो भन्ने मलाई लागेको छ ।

० कीर्तिपुरमा तपाई मेयर पदमा जित्नु भयो भने कीर्तिपुरलाई कस्तो बनाउने तपाईको योजना छ ?
हामीलाई विश्वास छ, सेवा गर्ने मौका दिनु हुने छ, हामी कीर्तिपुरलाई समग्रमा समृद्ध कीर्तिपुर, सभ्य कीर्तिपुर, सफा सच्छ कीर्तिपुर बनाउने छौं । विशेषत शिक्षा, स्वास्थ्य, खेलकुदमा विशेष योजना बनाई योग्यता क्षमता, सोच विकास गरी श्रम र उत्पादनमा जोड दिई रोजगारीको पनि सृजना गर्छौं, कीर्तिपुरलाई पुरातात्विक धार्मिक ऐतिहासिक, सांस्कृतिक पर्यटनको गनतब्य स्थल पनि बनाउँछौ । जस अनुसार हामीले हाम्रो पार्टीको घोषणा पत्रको मुल मर्म र भावनालाई आत्मासाथ गरी कीर्तिपुर विकासका लागि प्रतिवद्धता पत्र सार्वजनिक गरेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *