यस स्तम्भमा आफ्नै बुबाको सन्दर्भमा धेरै पटक लेखि सकेको छु । कुनै बेला उहिलेका कुरा शिर्षक दिएर त कहिले पाका मान्छेका कुरा भन्दै कहिले हाम्रा बा र मित बा भनेर लेखेको छु । अरु विषयमा लेखिरहँदा पनि वुवाको प्रसङ्ग वा भनाईहरु उद्धरण गरेको छु । तर अब प्रत्यक्ष कुरा गरेर लेख्ने सन्दर्भ सकियो । मेरो बा अर्थात हामी ५ जना दाजुभाई र ३ दिदी वहिनीको वुबाले देहत्याग गर्नु भयो । १९९४ साल जेठ २२ गते यस धर्तीमा आउनु भएको हाम्रा बा २०८१ कार्तिक ३० गते यो धर्तिमै विलाउनु भयो । अहिले हामी ५ दाजुभाई सनातन संस्कृती वा चलन अनुसार कोरामा वसी रहेका छौं ।
हाम्रा बा
१९९४ सालमा जन्मनु भएका हाम्रा बा ले आफु ११ वर्षको हुँदा पहिलो पटक वेहुलो हुने अवसर पाउनु भएछ । पहिलो पटक वेहुलो भन्नाको अर्थ दोस्रो अवसर पनि लिनु भयो भनेर सहजै वुझ्न सकिन्छ । बा पहिलो पटक वेहुलो हुँदा त्यो बेलाको वेहुली अर्थात हाम्रा आमा ६ वर्षको हुनुहुन्थ्यो रे । अनी २५ वर्ष हुँदा फेरी दोस्रो पटक वेहुलो हुनु भयो । त्यती बेलाको बेहुली ११ वर्ष को हुनुहुन्यो रे ।
२८ वर्षको हुँदा पहिलो सन्तान भएछ । सायद त्यती वर्षसम्म सन्तान नहुँदाको पिडा कति प¥यो होला । हाम्रा हजुरबुबा र हजुरआमाका छोराहरु मध्ये एक मात्र जिवित हाम्रा बा मात्र हुनुहुँदो रहेछ । उस्को पनि सन्तान नहुँदा कस्तो मनोभाव भयो होला ? मेरो हजुरआमाले अन्तिम बेलासम्म छोराका सन्तान छोराका सन्तान भनी रहनु भएको थियो रे ।
बुबा २८ वर्ष हुँदा २०२१ सालमा जेठो सन्तान छोरो जन्म भएछ । त्यसको दोस्रो वर्ष दोस्रो सन्तान पनि छोरोकैं जन्म भएछ । त्यस पछिको सन्तान पनि तेस्रो सन्तान पनि छोरै भएछ । चौथो सन्तान छोरी, पाँचौ सन्तान छोरो, छैटौं पनि छोरो, सातौं सन्तान छोरो नैं जन्म भएछ । आठौं र नवौं सन्तान चाँही छोरी र दशौं र अन्तीम सन्तान पनि छोरो नैं जन्मीएछ । यी दश सन्तान मध्ये २ जना छोरा भने सानै हुँदा वितेछन् । अहिले ३ छोरी र ५ छोरा जिवितै छौं ।
सन्तानका धनी हाम्रा बा
हामी आठै जनाका २ देखि ३ जनासम्म छोराछोरी भएका छन् । ३ जनाका चाँही नातीनातिनीहरुको धनी समेत भैसकेका छन् । दशैंमा हामी सवै एक ठाउँमा जम्मा हुन्छौं । हाम्रा सन्तान धेरै भएका कारण विजया दशमीका दिन टिका लगाउँदा २ घण्टा जती लाग्छ । टिका लगाउनकालागि मात्र २ माना जती चामल खपत हुन्छ ।
बुबाले औपचारिक शिक्षा पाउने अबसर पाउनु भएन । यजमानी अर्थात कर्मकाण्डी कामको शिक्षा अनौपचारिक रुपमा नैं सिक्नु भएछ । त्यती बेलामा विजुली हुने कुरै भएन । मट्टितेलको टुकीको पनि चलन आइसकेको थिएन रे । सल्लाको रुख भित्रको दियालोलाई वत्ति रुपमा बाल्ने चलन थियो रे । त्यो पनि प्रयाप्त नहुने हुँदा चन्द्रमाको उज्यालोमा पढ्नु भएको प्रसङ्ग हामीलाई बताउनु हुन्थ्यो । ती प्रसङ्ग हामीलाई एकादेशको कथा जस्तो लाग्दछ ।
हामी अहिले कोरा भित्रै छौं । वुबासँगको यादहरु हामी विच आदान प्रदान गरिरहेका छौं । केराको बोट फुटायो भने झांगिन्छ भन्ने धारणा हाम्रो वुबाको थियो । त्यसैले होला हाम्रा २ जना दाजुहरुको विबाह गर्नासाथ पाचै जना छोराहरुलाई जग्गा वाँडफाँड गरी ‘भिन्नु’ गराउनु भएको थियो । सवै छोराहरुलाई अलग अलग गराउनु भएकोले सवै छोराहरुको आफ्नो कमाइ आफ्नै हुने व्यवस्था उहिले देखि नैं थियो । त्यो बेलामा म ८ कक्षा तिर पढ्थें होला । त्यो तरिकाले गर्दा हामी दाजुभाईहरु विच एकले कमाएको सम्पत्ती माथि कसैको चासो भएन । यस अर्थमा हाम्रा बालाई दूरदर्शि भन्न सकिन्छ ।
हाम्रा बा का पेशा व्यबसाय भनेको कृषि र यजमानी काम नैं थियो । त्यही भएर सन्तानको पढाईमा धेरै चासो लिएको पाइएन । कृषिको कमाईले खानकोलागि र्नै मुस्किल थियो । छोराछोरीलाई शिक्षामा खर्च गर्न गाहे परेछ क्यार । मेरा दुई दाजुहरुले धेरै ठुलो भए पछि पढ्न थाल्नु भएको हो । मैले पनि ९ वर्ष लागे देखि पढ्न थालेको हुँ । मेरो दिदीले विद्यालय जाने मौका पनि मिलेन । अरु ७ जनाले भने विद्यालय जाने अबसर पाएका थियौं ।
हाम्रो बा दार्जिलिङसम्म जानु भयो । केही वर्षसम्म त्यती बसेर केही कमाई गर्नु भएछ । त्यहीबाट ल्याएको कोट पहिलो पटक मेरो ज्यानमा परेको थियो । हाम्रा बालाई हामी यती धेरै सन्तानलाई हुर्काउन धेरै मुस्किल प¥यो होला भन्ने कुरा हामीले सजिलै महसुस गर्न सक्दछौं ।
धैरै गुरु हाम्रा बा
यजमानी काम गर्ने हुँदा हाम्रा बा का चेलाहरु धेरै रहेछन् । व्रतवन्ध गरी मन्त्र दिनेलाई गुरु भनिन्छ । अनी गुरु वित्दा ५ दिन बार्नु पर्ने हुन्छ । त्यसैले गाउँका धेरैजनालाइ हाम्रा वुबाको नाममा कपाल खौरेर ५ दिनसम्म बार्नु भएको थियो । हामी कोरामा वस्दा मानिसहरु भेट्न आउने वाक्लै भैरहेको छ । खास गरी बाका चेलाहरुले स्मरणहरु सुनाउने गर्दछन् । बुबा गुरु भएका कारण अहिले हामी गाउँघरमा हिड्दा हामीले पनि गुरु नैं पद्वी पाएका छौं । यो उहाँकै योगदान हो ।
अहिले हाम्रो दैनिकी विहानै उठ्ने, पुरेत पर्खने अनी नुहाउने, सुमेरुको पूजा गर्ने, भात पकाउने विना तरकारी र नुन विनाको खाना खाने काम भैरहेको छ । त्यही पनि विहान मात्रै खाने हो । दिउँसो भेटघाट गर्न आउनेसँग सामान्य कुराकानी गर्ने काम भैरहेको छ ।
मृत्यू ५ दिन देखि गरुड पुराण पण्डितले भन्ने हामीले सुन्ने काम हुने गर्दछ । दाजुभाईहरुले अरु कसैलाई छुन नहुने अरुले खटाएर दिएको मात्र खानु पर्दो रहेछ । अरुले पकाएको खानै. नहुने । त्यस्तै वुहारीहरु पनि अलग बस्नु पर्दो रहेछ । त्यसै गरी हाम्रा आमाहरु २ जना हुुनुहुन्छ उहाँहरु पनि अलग्गै बस्नु पर्ने हुँदो रहेछ । छोरीहरुलाई चाँही अरुको भन्दा अलि सजिलो हुने रहेछ । उनीहरु घुमफिर र अरुलाई छुन वाधा पर्दो रहेनछ । हामी छोराहरु विष्णु, भरत, भोला, यादब र तिलराज एक ठाउँमा छौं । आमाहरु चन्द्रवती र दुर्गामाया अलग्गै हुनुहुन्छ । त्यसै गरी वुहारीहरु लिला, गिता, अनिता, लक्ष्मी र सुशिला अर्कै कोठामा अलग्गै वस्नु भएको छ । छोरीहरु भारती, गिता र लक्ष्मी सहित हामी सवै वुवाको १३ दिने कर्ममा जुटेका छौं । बुबाको नाती नातीनीहरुले चाँही ५ दिन पछि सामान्य क्रममा फर्कन पाईदो रहेछ ।
बुवाको अन्तीम संस्कारमा संलग्न भैं श्रद्धाञ्जली दिने सबैलाई हार्दिक धन्यवाद प्रकट गर्दछौं । हामीलाई सान्त्वना दिने सवै प्रति कृतज्ञता प्रकट गर्दछौं । विभिन्न माध्यमबाट हामीलाई समवेदना दिने सबै प्रति हामी आभार व्यक्त गर्दछौं । तपाई सवैको सद्भाव र शुभेच्छाले हाम्रा बुबाको आत्माले चिरशान्ती मिल्ने विश्वास लिएका छौं ।