नगरपालिका र जनताबिच सुमधुर सम्बन्ध छ

राजनीति समाचार

घनश्याम गिरी, नगरप्रमुख, चन्द्रागिरी नगरपालिका
काठमाडौंका १० मध्ये सबैभन्दा ठूलो नगरपालिका हो, चन्द्रागिरि। उत्तरमा नागार्जुन नगरपालिका, पूर्वतर्फ कीर्तिपुर नगपालिका, दक्षिणमा दक्षिणकाली नगरपालिका, मकवानपुर जिल्ला र पश्चिमतर्फ धादिङ जिल्लाले घेरिएर रहेको छ यो नगरपालिका । यो नगरपालिकाका प्रमुख छन्, घनश्याम गिरी। शेरबहादुर गिरी र माइली गिरीका सुपुत्र उनी थानकोट चोसेटोलमा २०२० मंसिर १५ गते जन्मिएका हुन्। उनले कक्षा ४ सम्म नगलको प्रभात माविमा पढे भने स्थानीय मंगल माविबाट प्रवेशिका उत्तीर्ण भए। प्रमाणपत्र तह काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसबाट गरे भने स्नातक पाटन क्याम्पसबाट। ताहाचलस्थित महेन्द्ररत्न क्याम्पसबाट भूगोलमा स्नातकोत्तर गरे उनले। २०३७ फागुनमा स्थानीयको पहलमा खुलेको विद्यालयमा प्रधानाध्यापक भए गिरी । नगर प्रमुख हुनुअघिसम्म उनी विद्यालयकै प्रधानाध्यापक थिए। विद्यालय पढ्दाताका २०३२ र ०३३ सालमै राजनीतिमा लागेका उनी औपचारिक रूपमा भने २०३६ सालदेखि पूर्ण रूपमा होमिए। शिक्षण पेसामा रहँदा शिक्षकको राजनीति गरे। शिक्षक संघ सदस्य हुँदै सचिव, क्षेत्रीय सभापति हुँदै जिल्ला सदस्य र केन्द्रीय प्रतिनिधि भए उनी। पञ्चायतकालमा खुला राजनीति गर्न सजिलो थिएन। २०४७ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएको बताउँछन् उनी। नगरप्रमुख उनै घनश्याम गिरीसँग विभिन्न सेरोफेरोमा तामाकोशी सन्देश साप्ताहिकको प्रतिनिधिले गरेको कुराकानीको अंशः

० चन्द्रागिरि नगरपालिकामा तपाईँ निर्वाचित भएर आएपछि के के काम गर्नुभयो ?
म चन्द्रागिरिमा यस अगाडिको कार्यकालमा पनि प्रमुख भएर पाँच वर्ष काम गरेको हो । मेरो कामलाई नगरबासीले मुल्याङ्कन गरेर नै पुनः जिताएका हुन् । पहिलो कार्यकालमा हामी निर्वाचित हुँदा एकदमै शुन्य अवस्थामा थियौं । कर्मचारी व्यवस्थापन, कानुन निर्माण जस्ता हरेक कुरा हामीले शुन्य अवस्थाबाट सुरु गरेको हो । त्यसपछि हामीले सबै कुरालाई व्यवस्थित गर्दै ल्याएका छौं । विकासका पुर्वाधारहरु खासगरि सडक, शिक्षा, स्वास्थ्य, रोजगार, फोहोरमैला व्यवस्थापन, खानेपानी जस्ता सबै क्षेत्रको हामीले सुधार गर्दै ल्याएका छौं ।

नगरपालिकाको विकासका काममा हामीले अन्तर्राष्ट्रिय सहयोगहरु पनि जुटाउँदै आएका छौं । हामीले पहिलो कार्यकालमा नै पालिका अस्पताल बनाएका छौं । त्यसैगरी पालिका भवन, वडा कार्यलय भवनहरु, सडक सञ्जाल विस्तार, सबै ठाउँमा खानेपानी वितरण, स्वास्थ्य, शिक्षा सबै क्षेत्रको स्तरोन्नति गरेका छौं । विभिन्न स्थानमा पार्कहरु निर्माण गर्ने, धार्मिक स्थलहरुको पुनर्निर्माण र सुधार गर्ने कामहरु गरेका छौं । यो कार्यकालको सुरुवातबाट नै हामी पहिलो कार्यकालको कामलाई पनि निरन्तरता दिने र नयाँ योजनामा पनि काम गर्ने गरेका छौं ।त्यस्तै; पालिकाका सबै वडामा ल्याब टेक्निसियन सहितको स्वास्थ्य संस्था स्थापना गरेका छौं । प्रत्येक वडामा आवश्यक स्वास्थ्यकर्मीहरू राखेका छौं । नगरस्तरीय अस्पताल शुरू गरेर सेवा दिइरहेका छौं ।

० यिनै काम थियो जनताको माझ गर्छु भनेको ?
हो, मैले घोषणापत्रमा यिनै कुराहरू लेखेको थिएँ र यी सबै काम पूरा गरेको छु । अझ, घोषणापत्रमा भनिए भन्दा पनि बढी काम भएका छन् । नेपालकै पहिलो सुरुङ मार्ग हाम्रै पालिकामा पर्छ । सुरुङ मार्ग निर्माणका लागि नगरवासीलाई उचित मुआब्जा उपलब्ध गराउनको लागि मैले सहजीकरण गरें । जुन घोषणापत्रमा थिएन । तल र माथि मोटर गुड्ने आधा किलोमिटरभन्दा लामो पुल हाम्रै पालिकामा निर्माण हुन लागेको छ, यो पनि नेपालकै पहिलो हो । त्यो पुल निर्माणका लागि पनि मुआब्जा वितरण गर्नुपर्छ । उचित मुआब्जा दिनमा पनि मैले भूमिका खेलें । खानेपानीको हकमा; पालिकामा रहेको पुरानो बस्तीमा एक घर, एक धारा निर्माण गरेका छौं । सडकको कुरा गर्नुपर्दा; पालिकाभित्र रहेका धेरैजसो सहायक सडक कच्ची थिए, हामीले कालेपत्रे ग¥यौं । कतिपय टोल, बस्तीमा गोरेटो बाटो पनि निर्माण गरेका छौं । काठमाडौंको मुख्य नाका नागढुंगादेखि कलंकीसम्मको सडकको १२ किलोमिटर हाम्रो पालिकाभित्र पर्छ, त्यो मार्गमा हामीले सडक सफा गर्ने, हरियाली कायम गर्ने, सीसी क्यामेरा राख्ने, सडक बत्ती राख्ने आदि काम गरेका छौं । पालिकाका अन्य सडकमा पनि सडक बत्ती राखेका छौं । कतिपय ठाउँमा पार्क, भ्यू टावर निर्माण गरेका छौं । साइकल मार्ग निर्माण गरिरहेका छौं । वनभोज–स्थल निर्माण गरेका छौं ।

खेलकुदका लागि फुट्सल, कभर्ड हल, फुटबल मैदान निर्माण गरेका छौं । युवाहरूलाई विभिन्न शीर्षकमा तालिम दिएका छौं । नयाँ बाटोको ट्रयाक खोलेका छौं, ढल निकास सम्बन्धी काम गरेका छौं । मठ–मन्दिरको जीर्णोद्धार गरेका छौं । स्थानीय धर्म, संस्कृति र चाडपर्वहरूलाई प्रोत्साहन गर्दै पहिलेदेखि चलिआएका बाजाहरूको संरक्षण गर्ने काम गरेका छौं ।

० यो कार्यकालमा नगरपालिकामा के कस्ता योजना पुरा गर्ने लक्ष्य छ ?
पहिलो कार्यकालमा हामीले पुर्वाधार विकासका कामलाई महत्व दिएको हो । अब हामी यो कार्यकालमा पुर्वाधार विकास, सामाजिक विकास र जनताको जिवनस्तर सुधार्ने कामहरु गर्ने छौं । समृद्ध हुनलाई पुर्वाधार विकासले मात्रै हुँदैन आर्थिक विकासमा पनि उतिकै ध्यान दिन पर्छ भन्ने हामीले बुझेका छौं । किसानहरुलाई तालिम दिएर उत्पादनलाई जोड दिने हाम्रो योजना छ । त्यसैगरी बजारिकरणलाई पनि उतिकै महत्व दिने छौं । यसरी हामी आयआर्जनमा जोड दिएर अगाडि बढेका छौं ।सुशासनका लागि पनि हामीले धेरै तयारी गरेका छौं । अब चन्द्रागिरि नगरपालिकाका हरेक काम प्रविधि मार्फत सेवा सुविधा प्रवाह हुन्छ । त्यसैगरी उज्यालो चन्द्रागिरि कार्यक्रम मार्फत हरेक सडकमा बत्ती जडान गर्दै छौं । त्यसैगरि सिसिक्यामरा जडान गर्ने योजना छ । त्यसपछि हामी नगरपालिकामा फिरी वाइफाईको व्यवस्था गर्न लागेका छौं ।हामीले विभिन्न स्थानहरुमा सिसिक्यामरा जडान गरेका छौं । त्यसमा नगरपालिकाले निरन्तर अनुगमन गरिरहेको छ ।

चन्द्रागिरी नगरपालिकामा हामीले २६ करोड लागतमा अर्को एक अस्पताल निर्माण गर्दैछौं । त्यसैगरि हामीले थानकोटमा जर्मन सरकारको सहयोगमा एक अर्ब बजेटमा अस्पताल निर्माण गर्दैछौं । एडिविबाट पनि खानेपानी आयोजनामा काम भइरहेको छ । १४ वटा वडामा खानेपानी आयोजनाको सर्वे भइरहेको छ । लगभग एक अर्बको लागत स्विकृत भएको छ । त्यसैगरी हामीले हाम्रो नगरपालिकामा भएको सुरुङमार्गलाई व्यवस्थित गर्ने कामहरु भइरेका छन् । त्यसैगरी यहाँबाट हेटौंडा जाने मार्गको पनि काम भइरहेको छ । त्यसमा पनि काम अन्तिम चरणमा पुगेको छ ।

हामीले काठमाडौंबाट २ घण्टामा हेटौंडा पुग्ने वातावरण बनाइराखेका छौं । त्यसैगरी हाम्रो नगरपालिकामा ५० प्रतिशत जनसहभागितामा पनि कामहरु भइरहेको छ । त्यसो हुनाले पुर्वाधारका कामहरुमा हाम्रो नगरपालिकामा लगभग धेरै कामहरु भइसकेका छन् । अब हामीले गर्ने धेरै कामहरु अन्तिम चरणमा पुगेका छन् । फोहोर व्यवस्थापनमा हामीले फोहोरलाई मोहोरमा परिणत गर्ने गरि काम गरिरहेका छौं । त्यसैगरि नगरवासीलाई केहि पैसा कमाउनका लागि विदेश जाने जागिरको लागि भौतारिने गर्न नपरोस् भनेर आर्थिक पक्ष सुधार्न विभिन्न योजनाहरुमा काम गरिरहेका छौं ।

० चन्द्रागिरि पर्यटकीय हिसाबले पनि सम्भावना बोकेको ठाउँ हो । पर्यटकका लागि के–कस्ता काम भए ?
पर्यटनको हिसाबले हाम्रो पालिका चर्चित छ । यहाँ दिनहुँ हजारौं पर्यटकको आगमन हुन्छ । मातातीर्थ, इन्द्रदह लगायतका ठाउँमा लाग्ने मेलामा लाखौं मानिस आउँछन् । चन्द्रागिरि केवलकार पार्कमा पनि हजारौं पर्यटक आउँछन् । नेपाल सरकारले सयौं गन्तव्यमध्ये एक गन्तव्यका रूपमा चन्द्रागिरि नगरपालिकालाई घोषणा गरेको छ ।

० कार्य सम्पादनका क्रममा जनप्रतिनिधि र कर्मचारीबीच असमझदारी पनि भयो कि ?
समस्या देखिन खोजेको थियो । तर, मेरो लक्ष्य घोषणापत्रमा उल्लेख भएको र नगरवासीले इच्छा गरेको काम होस् भन्ने थियो । कर्मचारीले गरेको काममा मेरो कुनै चासो रहेन । आर्थिक कारोबार र अन्य प्रशासनिक काममा मेरो कुनै सम्बन्ध रहेन । उहाँहरूले आफ्नो काम नियम–कानूनले तोके बमोजिम गर्नुभयो ।

० स्थानीय सरकारमा कस्ता चुनौतीहरु छन् ?
स्थानीय सरकार भनेको भेटिने सरकार हो । केन्द्र सरकार लेखिने सरकार र प्रदेश सरकार देखिने सरकार हो । स्थानीय सरकार जनताको हरेक गतिविधिमा समावेस हुन सक्ने भएकोले भेटिने सरकार हो । साना(साना समस्याको समाधान गर्न प्रत्यक्ष भेटिने सरकार स्थानीय सरकार हो । जनताले हरेक काम स्थानीय सरकार मार्फत भइदियोस् भन्ने चाहान्छ । हाम्रोमा पर्ने राजमार्ग केन्द्र सरकारको कार्यक्षेत्र हो । तर त्यहाँ खाल्डा पर्दा, फोहोर हुँदा नागरिकले नगरपालिकाले किन नगरेको भनेर प्रश्न उठाउँछ । त्यसो हुनाले सबै काम पालिकाले गरिदिए हुन्थ्यो भन्ने जनताको सोच नै हाम्रो स्थानीय सरकारको मुख्य चुनौती हो ।आफ्नो क्षेत्राधिकार भित्र नपरे पनि स्थानीय तहले अभिभावकत्व निर्वाह गर्न सक्नुपर्छ । कुनै घटना भैहाल्यो भने हामी त्यहाँ तत्काल पुगेर सल्लाह सुझाव दिँदा पनि धेरै हुन्छ । त्यसो हुनाले हामी जनताको भेटिने सरकार हो । स्थानीय सरकारले जन्मदेखि मृत्युसम्म जनतालाई साथ दिन सक्न पर्छ, त्यो नै मुख्य चुनौती हो । तर पनि हामी बिहान ६ बजेदेखि बेलुका १० बजेसम्म जनताको काममा खटेर यी चुनौतीहरुको सामना गरिरहेका छौं ।

० केन्द्रको राजनीतिमा गठबन्धनहरु जुट्ने र फुट्ने हुँदा स्थानीय सरकारलाई कति प्रभाव पर्दोरहेछ ?
केन्द्र र प्रदेशको सरकार परिवर्तन हुँदा प्रशासनिक क्षेत्रमा केहि फेरबदल, कर्मचारीको फेरबदल गर्ने जस्तो केहि चल्दो रहेछ । तर निस्वार्थ ढंगले काम गर्दा हामीलाई केन्द्र र प्रदेश सरकार फेरिदा केहि असर परेको छैन । नियमित आउने बजेटहरु आइनै रहेका छन् । हामीले उच्चपदस्थ कर्मचारी र व्यवस्थापनसँग राम्रो पहँच विस्तार गरेका छौं । त्यसरी समन्वय गरेर पनि हामीले राष्ट्रिय(अन्तर्राष्ट्रिय योजनाहरु पारेका छौं । त्यसो हुनाले हामीलाई सबै क्षेत्रबाट साथ र सहयोग मिलेको छ ।

० फोहोर व्यवस्थापन र सडक विस्तारमा अब कसरी काम गर्नुहुन्छ ?
फोहोरलाई मोहोरमा परिर्वतन गर्ने नीति ल्याउँछु । फोहोरलाई पनि प्लाष्टिकजन्य, फलाम, कुहिने, सिसालाई घरमा छुट्याएर आयआर्जनको माध्यम बनाउने सोच बनाएको छु । पैसा तिरेर फोहोर फाल्ने अवस्था छ । अब पैसा लिएर फोहोर फाल्ने बनाउँछु । यसलाई नीतिगत रूपमा नै परिवर्तन ल्याउने प्रक्रिया अगाडि बढाउनेछु ।

फोहोरलाई अहिले पनि निजिस्तरबाट व्यवस्थापन गरिराखेका छाँै । कतिपय फोहोरलाई जलाउने प्रविधिमा जोड दिनेछौँ । उपत्यकाको फोहोर सिस्टोलमा व्यवस्थापन गर्ने कुरा सबै पालिकामा छलफल भएको छ । यसको साझा निचोड ल्याएर फोहोर व्यवस्थापन गर्नेछौँ ।

० तीन तहको सरकारमा के कस्ता विषयमा समन्वय हुन सकेका छैनन् ?
स्थानीय सरकारलाई आवश्यक पर्ने ऐन कानुनहरु केन्द्र र प्रदेशले नबनाइदिँदा हामीलाई केहि असहज भएको छ । यद्यपि, हामीले आफुले बनाउन मिल्ने र सक्ने कानुनहरु आफै बनाएर अगाडि बढेका छौं । अप्ठ्यारो परेको अवस्थामा हामीले तत्तकाल ऐन बनाउने, कार्यविधि बनाउने, नियमावलि बनाउने गरेर नगरपालिका सञ्चालन गरेरहेका छौं । खासगरि शिक्षा क्षेत्रमा अझैपनि समस्या छ ।

० चन्द्रागिरि नगरपालिकावासी र तपाईँ जनप्रतिनिबीचको सम्बन्ध कस्तो छ ?
मैले निर्वाचनमा उठ्दा पनि पहिले यो गर्छु र त्यो गर्छु भनेर भनिन् । अहिले पनि म भन्दिन्, काम गरेपछि मात्रै भन्ने हो । प्रतिबद्धता पत्रमा पनि हामीले गर्न सक्ने कुराहरुलाई मात्र राखेका छौं । कामीले गरेको काम र काम गर्ने तरिकाबाट जनता खुसी छन् । हामीले हरेक कामहरु जनतासँग छलफल गरेर गर्ने गरेका छौं । त्यसो हुनाले चन्द्रागिरि नगरपालिकाका जनप्रतिनिधि र जनताबीचको सम्बन्ध एकदमै सुमधुर छ ।

० नागरिकका गुनासा कतिको आउँछन ्?
अरू गुनासो खासै सर्वसाधारणबाट सुनिएको छैन। नगरपालिकाको उपस्थिति हरेक टोलमा पुगेको छ। वडावडाबाटै हामीले नागरिकका माग सम्बोधन गरेका छौँ। विकास सबै टोलमा पुगेको छ। गुनासो एउटै छ, कलंकी–नागढुंगा सडकमा पाएको सास्ती। धुलो, धुवाँ, ट्राफिक समस्याले पिरोलेको छ जनतालाई ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *