एकनारायणकै कारण बैकुण्ठले दिए राजीनामा

राजनीति समाचार

काठमाडांै । नेपाल सरकारका दस जनाभन्दा बढी सचिवहरु उमेरहदको कारण जागिरे अवधि सकिँदै छ । त्योसँगै केही सहसचिवहरु सचिवमा बढुवा हुनको लागि रस्साकस्सी चलिरहेको छ । कर्मचारी प्रशासनमा सचिवहरुको अवभाव खड्किँदै गएको छ । कतिपय सचिवहरु त ‘बेकारमा सरकारी जागिर खाइएछ’, भनेर पछुताउने गरेको पाइन्छ । उनीहरुले गुनासो गर्ने गरेका छन् कि, ‘सरुवा, बढुवामा जेष्ठता, योग्यता र क्षमताको कदर नभइ राजनीतिक भागबन्डा र पैसाको चलखेलमा कनिष्ठहरु उच्च ओहोदामा पुग्ने गरेका छन् ।’

त्यसको गतिलो उदाहरण बनेका छन् हालका मुख्यसचिव एकनारायण अर्याल । चौथो वरियताका अर्याल वरिष्ठ तीनजनालाई पछि पार्दै मुख्यसचिव बन्न पुगेका छन् । अर्यालले आफू मुख्यसचिव बन्नको लागि पहिलादेखि नै शक्तिकेन्द्रमा विभिन्न हतखण्डा मच्चाएर खलखेल गर्दै आएका थिए । तत्कालीन मुख्यसचिव वैकण्ठ अर्याललाई स्टिकर छपाइ काण्डमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेर निलम्बनमा परेका थिए । अर्याल निलम्बनमा परेपछि मुख्यसचिव बन्नको लागि ठूलो होडवाजी चलेको थियो ।

तर, केपी ओली सरकारले वरिष्ठहरुलाई मिचेर महिलाको नाममा लिलादेवी गड्तौलालाई २९ दिने मुख्यासचिव बनाएको थियो । गडतौलाले गत भदौ १५ गते उमेरहदको कारण जागिरबाट अवकास पाएपछि मुख्यसचिव पद रिक्त भएको थियो । सो पदको लागि चारजनाको दौडधुप चलेको थियो । त्यो रेसमा तोयमनारायण ज्ञवाली, रामकृष्ण सुवेदी, दिनेश भट्टराई र एकनारायण अर्याल रहेका थिए । दौडमा रहेका वरिष्ठ तीनजनालाई पछि पार्दै विभिन्न राजनीतिक दलका नेता, पत्रकार, कर्मचारी संगठनहरुका नेता र प्रधानमन्त्री ओलीको आशिर्वादले चौथो वरियतामा रहेका एकनारायण अर्याल मुख्यसचिव बन्न सफल भए । यता एकनारायण मुख्यसचिव बनिरहँदा तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्यालले आफूविरुद्ध परेको मुद्दामा सफाइ पाएपछि स्वतह मुख्यसचिव जिम्मेवारी पाउनुपर्ने थियो र एकनारायणले राजीनामा दिनुपर्ने थियो । तर, प्रधानमन्त्री ओलीको आडमा एकनारयण नै मुख्यसचिवमा कायम रहे ।

उता, मुद्दाबाट सफाइ पाएपछि तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्यालयलाई मुख्यसचिव सरहको सेवा, सुविधा दिएर राष्ट्रिय योजना आयोगमा पठाइएको थियो । राष्ट्रिय योजना आयोगमा गएपछि पनि बैकुण्ठ अर्याललाई फेरि टेरामक्स काण्डमा फसाउन मुख्यसचिव लागेपछि बैकुण्ठ अर्याल सो पदबाट राजीनामा दिन वाध्य भएको कर्मचारीभित्र चर्चा छ । मुख्यसचिवको यस्तो खेलोफड्को देखेपछि अन्य सचिवहरु कहानेर फसिन्छ भनेर जिम्मेवारीबाट पन्छिने गरेका छन् । त्यसकारण मुख्यसचिवप्रति अन्य कर्मचारीको विश्वास गुम्दै गएको छ । मुख्यसचिवको क्रियाकलापले गर्दा कर्मचारीतन्त्रभित्र भाडभैलो हुँदै गएको छ । त्यसको मार सर्वसाधारण सेवाग्राहीले भोगिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *