सहरी मन्त्रीको अनेक धन्दा

राजनीति समाचार

काठमाडौं । चर्चा र परिचर्चा थियो,प्रमिला बज्राचार्य वा सर्जुकुमार वैद्यको तर बाजी मारे,गोपाल सिग्देलले । आफू निकटका व्यक्तिलाई सचिवमा लैजाने खेलोमेलोमा थिए । हालैमात्र ५० लाख खर्चेर आफ्नो कार्यकक्ष अत्याधुनिक बनाएका उनै उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले नयाँ सचिव भित्र्याएका छन् ।

जसरी रमेश लेखकलाई क्रस चेक गर्नका लागि गोकर्णमणि दुवाडीलाई सेटिङ्ग मिलाएर गृहमा पु-याइएको छ, त्यसरी नै गोपाल सिग्देल सचिव बनेर शहरी मन्त्रालय पुगेका छन् । विशेष गरेर कालिका कन्ट्रक्सन, रसुवा कन्ट्रक्सन,शर्मा कन्ट्रक्सनसँग जोडिएर मन्त्री सिंहले काम गर्दै आएका छन् । । यस्तो धन्दामा यसमा शर्मा एण्ड कम्पनीका रमेश शर्मा, कालिका कन्स्ट्रक्सनका विक्रम पाण्डे, स्वच्छन्द निर्माण सेवाका जयराम लामिछाने, लामा कन्स्ट्रक्सनका जीपछिरिङ लामा, रसुवा कन्स्ट्रक्सनका मोहन आचार्य, तँुदी कन्स्ट्रक्सनका ऋषि सुवेदीहरु संलग्न छन् । अहिले पनि नेपालका ठूल्ठूला ठेक्कापट्टामा उनीहरुकै सिण्डिकेट चल्दै आएको छ । यसमा मन्त्री प्रकाशमान सिंहको संलग्नता रहेको छ ।

धरान–चतरा र गल्छी–मैलुङ सडक ठेक्कापछि सिन्डिकेट प्रारम्भ भएको कर्मचारीहरु बताउँछन् । यस्तै हुलाकी सडक, डोलिडारका जिल्ला सदरमुकाम जोड्ने सडक, मध्यपहाडी सडक, भवन विभागका तराईका १८ वटा नगरपालिकाका थुप्रै सडक, ढल निर्माणको प्याकेज र ठेक्का गरी झण्डै ५५ अर्वको ठेक्का तिनै ६ ठेकेदारको पोल्टामा पारिएको थियो । अहिले पनि सडक तथा शहरीका ठेक्काहरु मा ठूला ठेकेदारलाई मात्र मिल्ने गरी ठेक्काको प्याकेजिङ भइरहेको छ । नेपालका ६ ठूला ठेकेदारलाई मात्र पोस्ने गरी अनुभव, वार्षिक कारोबार राखेर तिनैलाई ठेक्का दिलाइदै आएको छ । बोलपत्र आह्वान हुँदा ती ६ ठेकेदारबाहेक अरु प्रवेशै गर्न नमिल्ने गरी मापदण्ड राखिने र उनीहरुलाई पोसेर ठेक्काको २ देखि ३ प्रतिशत रकम बुझ्ने काममा सक्रिय रहेको आरोप छ ।

एक निर्माण व्यवसायीका अनुसार,यसरी म्याचफिक्सिङ्गमा सघाए वापत ठेकेदारले कर्मचारीलाई पनि चलिआएको कमिशन भन्दा बढी रकम दिन्छन् । सोही कारण ठेकेदारले आफू अनुकुलको कर्मचारीलाई बढी बजेट भएको ठाउँमा लैजाने गरेका छन् । सचिव बढुवापछि भौतिक पूर्वाधार मन्त्रालय र ऊर्जा मन्त्रालयको नेतृत्व गरिरहेका सचिव सिग्देल दुई निर्माण ब्यवसायीको सहयोगमा सहरी मन्त्रालयमा सचिवमा आउन सफल भएको स्रोत बताउँछ । ती दुई निर्माण ब्यवसायीका कम्पनीमा सिग्देलको साझेदारी रहेको भौतिकका कर्मचारीहरु बताउँछन् । तिनै साझेदार ठेकेदारहरुकै जोडबलमा सिग्देल अहिले शहरी पुगेको हो भन्दैछन्,कर्मचारी ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *