काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीबीच आज ह्वाइटहाउसमा भेटवार्ता हुँदै छ ।
ओभल अफिसमा बेलायतका प्रधानमन्त्री किर स्टार्मरसँग भेटवार्ता भएपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले स्थानीय समय अनुसार शुक्रबार बिहान ११ बजे ह्वाइटहाउसमा युक्रेनका राष्ट्रपति जेलेन्स्कीसँग भेटवार्ता हुने जानकारी दिएका हुन् ।
यो भेटवार्ता अमेरिका र युक्रेनबीच खनिजसँग सम्बन्धी विषयमा केन्द्रित हुने भएको छ । यसअघि अमेरिका र युक्रेनबीच खनिजसँग सम्बन्धी सहमति भएको थियो ।
यसअघि जेलेन्स्कीलाई ‘तानाशाह’ भनेका ट्रम्पले आज आफ्नो अभिव्यक्ति फेर्दै पत्रकारहरुको प्रश्नमा जेलेन्स्कीको प्रशंसा गरेका छन् ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीको पाँच वर्षे कार्यकाल गत मे महिनामा सकिएको थियो । तर रुससँग जारी युद्धका कारण चुनाव हुन सकेन । अहिले ‘मार्शल ल’ मार्फत् सरकार सञ्चालन भइरहेको छ । भेटवार्तापछि अमेरिकालाई युक्रेनका महत्वपूर्ण खनिज आपूर्तिका लागि पहुँच दिने सम्बन्धी दस्तावेजमा दुई देशका प्रतिनिधिहरुबीच हस्ताक्षर हुने कार्यक्रम रहेकोछ ।
रुस र युक्रेन बीचको हालको युद्ध सन् २०२२ फेब्रुअरी २४ देखि जारी छ । रुसले आक्रमण सुरु गरेपछि युक्रेनले पनि जवाफ फर्काएको थियो ।