कांग्रेस झन् कमजोर बन्दै, भावी सभापति शशांक कि मोहन ?

राजनीति समाचार

काठमाडौं । देशकै पुरानो र ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस पहिलादेखि पदीय वरियताको विवादमा फस्दै आएको थियो । नेपालमा २०४६ सालमा प्रजातन्त्र पुःस्थापनासँगै गणतन्त्रसम्म आइपुग्दा कांग्रेसको आन्तरिक लडाइँ झन् झागिँदै गएको छ । कांग्रेसको आन्तरिक द्वन्द्वकै कारण नेपालमा लोकतन्त्र कमजोर हुँदै गएको छ । २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएदेखि नै कांग्रेसका तत्कालीन नेताहरु सर्वमान्य नेता गणेशमान सिंह, सन्त नेता कृष्ण प्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाबीच पनि वरियताको ठूलो लडाईँ चलिरहन्थ्यो ।

२०४६ साल यता तीन नेताबीच वरियताको लडाइँ सुरु भएपछि गिरिजाप्रसाद कोइरालाले पार्टी सभापति र प्रधानमन्त्री दुवै आफैले लिएर सर्वमान्य नेता गणेशमान सिंह र सन्त नेता कृष्णप्रसाद भट्टराईलाई सधैं पाखा लगाउने काम गर्दै आएका थिए । २०४६ सालको जनआन्दोलनपछि अन्तरिम सरकारको प्रधानमन्त्री गणेशमान सिंहलाई बन्न सबैंले आग्रह गरे तापनि सिंहले प्रधानमन्त्री नबनेर कृष्ण प्रसाद भट्टराईलाई बनाएका थिए । तर, २०४८ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याएपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनेका थिए ।

कोइराला प्रधानमन्त्री बनेसँगै पार्टी सभापति पनि बने । कोइरालाले पार्टी सभापति र प्रधानमन्त्री दुवै कब्जा गरेपछि सर्वमान्य नेता गणेशमान सिंह र कृष्ण प्रसाद भट्टराईलाई पाखा लगाउने काम गरेका थिए । कोइरालाले पार्टीसँगै संसदीय निर्वाचनमा समेत भट्टराईलाई हराउने काम गरे । कांग्रेसभित्र एक नेताको अस्तित्व अर्को नेताले नस्वीकार्ने रोग नयाँ होइन । त्यो रोग झागिँदै गएपछि अहिले पनि कांग्रेसभित्र वरियताको लडाईँ चलिनै रहेको छ । वरियताको लडाईँले संस्थापन पक्ष र इतर पक्षबीच टसल बढिरहेको छ ।

कांग्रेसभित्र एक पक्षको नेता उपस्थित भएको कार्यक्रममा अर्को पक्षको नेताले बहिस्कार गर्ने सम्मको हर्क हुन थालेको छ । कांग्रेसभित्रको आन्तरिक टसलले गर्दा पार्टी झन् कमजोर बन्दै गएको छ । अहिले आएर उपसभापति तथा संस्थापन पक्षका नेता पूर्ण बहादुर खड्का र इतर पक्षका नेता डा. शेखर कोइरालाबीच पदीय वरियताको लडाई चल्न थालेको छ । उता, महामन्त्री गगन कुमार थापाले छुट्टै टिम बनाएर आगामी १५ औं महाधिवेशनमा सभापति लड्ने तयारी गरिराखेका छन् ।

कांग्रेसका इतरपक्ष नेता डा. शेखर कोइराला र डा. शशांक कोइरालाबीच को सभापति लड्ने भन्ने होडवाजी भित्रभित्रै चलिरहेको छ । यता संस्थापन पक्ष र इतर पक्षको झगडा भइरहँदा सभापति शेरबहादुर देउवाले डा. शशांक कोइरालालाई समथर्न गरेको खण्डमा डा. शेखर र गगन थापा भित्तामा पुग्ने देखिन्छ । त्योसँगै संस्थापन पक्षका अन्य नेताहरुले सभापति देउवालाई ‘तपाईंको उत्तराधिकारी को ?’ भनेर प्रश्न तेस्र्याइरहेका छन् ।

कांग्रेसभित्र एकातिर नेताहरुमा वरियताको लडाईँ चलिरहेको छ भने अर्कोतिर भावी सभापति को बन्ने भन्ने लडाईँ चलिरहेको छ । सभापति देउवाले पनि संस्थापन पक्षमा आफ्नो उत्तराधिकारी भेट्टाएका छैनन् । अहिलेसम्म मौन रहेका सभापति देउवाले उस्तै परेको खण्डमा भावी सभापतिमा आफ्ना विश्वास पात्र मोहनबहादुर बस्नेतलाई अगाडि नसार्लान् भन्न सकिँदैन । किन कि बस्नेत संस्थापन र इतर दुवै पक्षलाई मिलाउन सक्ने क्षमता भएका नेता हुन् भनेर कांग्रेसका कतिपय नेताहरुले भन्ने गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *