काठमाडौं । पहिला श्रेणीबिहीन बाहेकका अन्य पदमा लोकसेवा पास गरेपछि मात्रै सरकारी जागिरमा नियुक्ति हुने चलन थियो । तर, संस्थान र विकास समितिहरुमा भने करार, अस्थायी र ज्यालादारी कर्मचारी राख्ने चलन थियो । देश संघीयतामा गएर तीन तहको सरकार सञ्चालनमा आएपछि जिम्मेवार पदमा पनि करार र अस्थायी कर्मचारी भर्ना गर्ने चलन बढ्दै गएको छ ।
धेरैजसो प्रदेश र स्थानीय तहमा करारमा कर्मचारी भर्ना गर्ने चलन बढेको छ । त्योसँगै प्रदेश र संघमा पनि प्राविधिकको नाममा अस्थायी कर्मचारी भर्ना गरेर जनप्रतिनिधिहरुले सेटिङ मिलाउने काम गर्दै आएका छन् । स्थानीय तहमा जनप्रतिनिधिले योजना, शिक्षा, स्वास्थ्य, महिला, सामाजिक सुरक्षार जेष्ठनागरिक जस्ता शाखामा अस्थायी कर्मचारी राखिएको पाइन्छ ।
यी शाखाहरुमा जनप्रतिनिधिले आफन्त, कार्यकर्ता र आसेपासेलाई जागिर खुवाउने थलो बनाएका छन् । सेवाग्राहीसँग प्रत्यक्ष सरोकार राख्ने यस्ता शाखाहरुमा विषयवस्तुमा पोख्त लोकसेवा पास गरेर आएका कर्मचारी हुनुपर्नेमा आफन्तलाई जागिर खुवाउनको लागि कामै नजानेका व्यक्ति राख्ने गरिएको पाइन्छ । जसले गर्दा सेवाग्राहीको काम अलपत्र पर्ने गरेको पाइन्छ । खासगरी संघीय सरकारले स्थानीय तहमा पर्याप्त कर्मचारी पठाउन नसकेका कारणले पनि जनप्रतिनिधिले मनोमानी ढंगले काममा अनुभव नभएका व्यक्तिलाई जागिर खुवाउने प्रवृत्ति बढेको छ । सरकारले संघीय निजामती ऐन ल्याउन नसक्दा पनि प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हुने गरेको छ । त्योसँगै जनप्रतिनिधिको पार्टीमा आस्था राख्ने कर्मचारी माग हुने गरेकाले पनि स्थानीय तहमा कर्मचारी अभाव हुने गरेको छ ।
केन्द्रमा एमाले र कांग्रेसको सरकार भएकाले एमाले र कांग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले आफ्नो पार्टी निकट कर्मचारी माग गरिराखेका छन् । त्यो ठाउँमा भएका माओवादी निकट कर्मचारी हटाएर एमाले र कांग्रेस निकट कर्मचारी माग गरिएको छ । तर, संघीय सरकारले कांग्रेस र एमाले निकट कर्मचारी पठाउन नसक्दा एमाले र कांग्रेसका जनप्रतिनिधिले केन्द्र सरकारमा कांग्रेस र एमाले गठबन्धन भएको के अर्थ भनेर असन्तुष्टि पोख्न थालेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत जुनपार्टीको जनप्रतिनिधि हुन्छ सोही पार्टी निकटको खोज्ने गरिन्छ । यता संघीय सरकारले गत विहीबार ७८ जना सहसचिवको सरुवा गरेको छ । अनुभवी र क्षमतावान सह–सहसचिवहरुलाई बरन्डामा थन्क्याएर कनिष्ट सह–सचिवहरुलाई सरुवा गरेको छ । सरकारले अधिकांश समय कर्मचारी सरुवा, बढुवा गर्नेमै बिताएको छ । कतिपय सहसचिवहरु त काम गर्ने ठाउँ नपाएको भन्दै नेता, मन्त्रीको ढोका ढकढक्याउन पुग्ने गरेका छन् ।