प्रतिपक्ष कमजोर हुँदा सत्तापक्ष रजगज

राजनीति समाचार

काठमाडौं । राजनीतिक दलका नेताहरुको अदूरदर्शीताको कारण नेपाल ‘ग्रे’ लिस्टमा पर्न वाध्य भएको छ । २०४६ सालमा प्रजातन्त्र पुनस्थापना भएपछि २०४७ सालमा बनेको संविधानलाई विश्वले उत्कृष्ट मानेको थियो । नेपालमा २०४७ सालको संविधान लागु भएपछि बैंक तथा वित्तीय संस्थादेखि विद्यालय, सहकारी, फाइनान्स लगायत विभिन्न संघसंस्थाहरु स्थापना गर्ने बाटो खुला भएको थियो । त्यसपछि बैंक, वित्तीय संस्था र विद्यालयहरुसँगै उद्योगधन्दाहरु सञ्चालनमा आएका थिए ।

विश्वले उत्कृष्ट भने तापनि नेपालका केही राजनीतिक दलहरुले स्वीकारेका थिएनन् । २०५१ मा त्यो संविधानविरुद्ध नेकपा माओवादीले जनयुद्ध सुरु ग-यो । माओवादीले जुनयुद्ध सुरु गरेपछि विभिन्न बैंक, वित्तीय संस्थादेखि उद्योगधन्दा, व्यापार व्यवसायमाथि आक्रमण गर्न थाल्यो । दिनप्रतिदिन माओवादी आक्रमण बढ्दै गएपछि उद्योगी, व्यवसायीहरुले विस्तारै उद्योगधन्दा बन्द गर्दै जान थाले ।

सरकारी स्वामित्वमा रहेका उद्योगधन्दाहरु पनि माओवादीको तारो बन्न पुगे । माओवादीले पटक–पटक चन्दा माग्ने, भौतिक संरचनामाथि क्षति पु-याउने, कर्मचारीमाथि क्रमण गर्ने गर्दा सरकारी स्वामित्वका उद्योग, धन्दा र संस्थानहरु घाटामा जान थाले । त्योसँगै माओवादीले विभिन्न बैंक तथा वित्तीय संस्थामाथि आक्रमण गरी पैसा लुट्ने काम गर्दै आयो । त्यो बैंकबाट लुटेको पैसाको आडमा जनप्रतिनिधि, कर्मचारी र सुरक्षा निकायमाथि आक्रमण गर्नं थाल्यो ।

त्यसपछि सरकारी स्वामित्वमा रहेका उद्योगधन्दादेखि निजी रुपमा सञ्चालित उद्योगधन्दा पनि बन्द हुँदै गए । त्यसपछि नेपालमा बेरोजगारीको समस्या झन् बढ्दै गयो । त्यसको असर अहिलेसम्म परिरहेको छ । माओवादी शान्तिवार्तामा आईसपछि पटक–पटक सरकारको नेतृत्व गर्न पुग्यो । सामान्यवादको नारा लिएर जनयुद्धमा होमिएको माओवादी संस्दहँदै सरकारमा छिरेपनि देश र जनताको पक्षमा काम नगरी व्यक्तिगत सम्पत्ति जोड्न व्यस्त भयो । कांग्रेस र एमालेको सिको गर्दै माओवादी पनि पटक–पटक सत्तामा जाने, व्यक्तिगत सम्पत्ति जोड्ने, भ्रष्टाचार गर्ने र नातागोता र आफन्तलाई अवसर दिने काममा तल्लीन हुन पुग्यो ।

त्यसकारणले गर्दा भ्रष्टाचार, विकृति, विसंगति र बेथितिले मुलुक दिनप्रतिदिन ओरालो लाग्दै गएको छ । हुँदाहुँदा अहिले ठूला दुई दल एमाले र कांग्रेस सत्तामा गएर राज्यदोहन गरिराखेका छन् । बहुदलीय व्यवस्थाहुँदै गणतन्त्रसम्म आइपुग्दा संसदमा प्रतिपक्षको आवाज कमजोर भएको छ । प्रतिपक्ष कमजोर भएकै कारण देशमा भ्रष्टाचार बढिरहेको छ । नेताहरु व्यक्तिगत स्वार्थमा लागेपछि सर्वसाधारण जनताहरु दिनप्रतिदिन राजनीतिक पार्टीबाट टाढिँदै गएका छन् । त्यसले गर्दा स्वतन्त्रहरु बढ्दै गएका छन् । पुराना दलका नेताहरु आफ्नै कार्यकर्तादेखि डराउन थालेका छन् । जनतासँगै स्वतन्त्रहरुको स्वर ठूलो हुन थालेपछि ठूला दलहरु तिलमिलाउन थालेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *