गाईजात्रा तथा रोपाइँ जात्रा बौद्धमा दुई दिन मनाइने

विविध समाचार

काठमाडौं । बौद्धमा दुई दिने गाईजात्रा तथा रोपाइँ जात्रा अर्थात घोनाई जात्रा मनाइने भएको छ।

तामाङ भाषामा रोपाइँ जात्रालाई घोनाई भनिन्छ। बौद्व धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल तथा विश्व सम्पदा सूचीमा रहेको बौद्धनाथ स्तुपा परिसरमा साउन २५ र २६ गते जात्रा मनाइने भएको हो।

विशेषगरी नेवार समुदायमा वर्षेभरी मृत्यु संस्कारसँग सम्बन्धित पर्व हो यो। तामाङ समुदायमा असार महिनाको रोपाइँको काम सकेर फुर्सदिला बनेका किसानहरूले रोपाइँको प्रतीकात्मक स्वरूप झझल्को दिने गरी रोपार, बाउसे, हलीको भेषमा अभिनयसहित मनोरञ्जन गर्दै रोपाइँ जात्रा मनाउने परम्परा छ।

परम्परागत रूपमा काठमाडौं उपत्यकामा मनाइने गाईजात्रा पर्वको आफ्नै इतिहास रहि आएकोमा गाईजात्राको भोलिपल्ट मनाउने बौद्धको रोपाइँ जात्रा तिनै सांस्कृतिक जात्रा एवं पर्वहरूमध्ये छुट्टै विशेषता एवं मौलिक पहिचान बोकेको जात्रा हो।

बौद्धनाथ स्तुपा परिसरमा हुने यो जात्रा विशेषगरी नेवार र तामाङ समुदायले संयुक्त रूपमा मनाउने परम्परा रहेको छ। नेवार समुदायमा गाईजात्रा ‘सापारु’ नामले चिनिन्छ, जसले वर्षभरिमा दिवंगत भएका व्यक्तिहरूको सम्झनामा श्रद्धा प्रकट गर्ने पर्व हो। तामाङ समुदायमा रोपाइँ सकिएपछि किसानहरू फुर्सदमा रमाइलो स्वरूपमा रोपार, हली, बाउसे आदि भेषमा अभिनय गरेर घोनाई जात्रा मनाउने परम्परा रहि आएको छ।

काठमाडौं महानगरपालिका वडा नम्बर ६ का अनुसार ‘सांस्कृतिक सहर, समृद्ध महानगर’ नाराका साथ प्रत्येक वर्षझैं यस वर्षपनि जात्रा भव्य रूपमा मनाउने तयारी भईरहेको जनाएको छ । यस वर्ष वडा कार्यालयले कार्यक्रमका लागि १५ लाख रुपैयाँको बजेट विनियोजन गरेको जानकारी दिएको छ। बौद्ध क्षेत्रमा बसोबास गर्ने नेवार र तामाङ समुदायको सांस्कृतिक साझा प्रयास स्वरूप यो जात्राले छुट्टै मौलिकता बोकेको छ।

जात्रा संयोजक जयमंगल लामाका अनुसार रोपाइँ जात्राको अवसरमा बालकदेखि युवा समेटिएका रोपार, बाउसे, हली, हलगोरू, झाँकी, लाँखे, हास्यव्यङ्ग्य, घोडा नाचजस्ता १२ विधामा सांस्कृतिक प्रस्तुतिहरू हुने छन्। कार्यक्रममा स्थानीय एक दर्जनभन्दा बढी विद्यालयहरूको समेत सहभागिता हुने भएको छ।

प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, द्वितीयलाई ७ हजार, तृतीयलाई ५ हजार र सान्त्वना पुरस्कार २ हजार ५ सय नगद पुरस्कार सहित पदक, प्रमाणपत्र र ट्रफी प्रदान जानकारी दिएको छ। कार्यक्रम अन्तर्गत रोपाइँ जात्राको दिन बौद्ध स्तुपाको परिक्रमा गर्दै फूलबारी, बौद्ध गेट, पिपलबोट मार्ग हुँदै पुनः स्तुपामा परिक्रमा गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *