वन्यजन्तुको आक्रमणबाट ६ महिनामा १० जनाको मृत्यु

विविध समाचार

काठमाडौं । वन्यजन्तुको आक्रमणमा परी चालु आर्थिक वर्षमा १० जनाको मृत्यु भएको छ । गत साउन यता चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गैँडा, हात्ती र बाघको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो ।

निकुञ्जका अनुसार गैँडाको आक्रमणबाट आठ जना, हात्ती र बाघको आक्रमणबाट एक–एक जनाको मृत्यु भएको हो । यस आर्थिक वर्षमा जङ्गली जनावारका कारण १४ जना घाइते भएका छन् । गैँडाको आक्रमणबाट १२ जना, हात्तीको आक्रमणबाट दुई जना घाइते भएका छन् ।

निकुञ्जले मृतकका परिवारलाई १० लाख र घाइतेको उपचारका लागि दुई लाख रुपैँयासम्म सरकारी अस्पतालको उपचार खर्च व्यहोर्ने गरेको छ । हालसम ९४ लाख ६१ हजार नौ सय ३१ राहतस्वरुप प्रदान गरिएको जनाइएको छ । राहतस्वरुप प्रदान गरिएको रकम अन्नबाली र घरटहरामा समेत उपयोग भएको छ ।

मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण हुन नसक्दा बर्सेनि जङ्गली जनावारको आक्रमणका कारण अकालमा मृत्यु वरण गर्नुपरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा अनधिकृत रूपमा प्रवेश गर्दा पनि यस्ता घटना हुने गरेका छन् । घाँस दाउरा काट्न, माछा मार्न, निगुरो टिप्न ती क्षेत्र प्रवेश गर्दा जनावारले आक्रमण गर्ने गरेको पाइएको छ । निकुञ्जले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि मेस जाली भर्ने, तारबार लगाउने, विद्युतीय तारबार गर्ने, पक्की पर्खाल लगाउने र वन्यजन्तु बस्ती पस्दा उद्धार र व्यवस्थापनलगायत काम गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *