चैत-वैशाखको समयमा नेपालमा हावाहुरी धेरै चल्ने गर्दछ । गर्मी मौसमको सुरुवात हुन लागेको खण्डमा हावाहुरीेले आगलागीको समस्या पनि उस्तै निम्त्याउने गर्दछ । तराईमा हावाहुरी र आगलागीले हरेक वर्ष ठूलो धनजनको क्षति पु¥याउने गरेको छ । पहाडी भूभागमा डढेलोले ठूलो क्षेत्रफलको वन तथा वन्य जन्तुहरुमाथि असर गरेको पाइन्छ ।
यस्ता आगलागी र डढेलोले धनजनको क्षति पु¥याउनुका साथै वातावरणमा पनि असर परेको हुन्छ । यस्तो प्राकृत्तिक विपत्तिको अवस्थामा नागरिकलाई सुसूचित गर्ने जिम्मेवारी सरकारको हो । त्यसैगरी यसबाट भैपरी आइनपर्ने कठिन अवस्थाको सामना गर्न सरकार पूर्वतयारी अवस्थामा रहन आवश्यक छ । हावाहुरीले खर, टिनले छाएका घरहरुको छाना उडाउने, पुराना रुखहरु ढाल्नेजस्ता जोखिम सिर्जना गर्दछ ।
यसले गर्दा धनको क्षति हुनुका साथसाथै मानिस र जनावरहरुले पनि ज्यान गुमाउने गरेको पाइन्छ । तसर्थ सरकारले पूर्वतयारीका रुपमा जोखिम हेरेर राहत वितरणका लागि पूर्वतयारी बस्ने, हावाहुरीको समयमा पुराना, कच्ची र टिन तथा खरले छाएको घरमा सकेसम्म नबस्न आग्रह गर्ने, पुराना ढल्न सक्ने जोखिमयुक्त रुख तथा बोटहरु कटान गर्नेजस्तो काम गर्न आवश्यक देखिन्छ ।
त्यसैगरी, हावाहुरीसँगसँगै आगलागीको जोखिम र यसले पु¥याउने क्षति अझ बढी देखिन्छ । विशेषगरी तराई भूभागमा आगलागीका घटना बढी हुने गर्दछन् । धान, गहुँको उत्पादन हुने र परालहरु संकलित गरिने हुँदा स–साना आगोका झिल्काले समेत परालहरुमाआगो सल्कने भय त्यतिकै हुन्छ । यसैकारण तराईका भू–भागको क्षेत्रमा हावाहुरीको समयमा बढी आगलागी हुने गर्दछ । त्यसैले यस्ता चिजहरुलाई सकेसम्म घरभन्दा टाढा राख्न आग्रह गर्नुपर्दछ । पालिकाहरुमा दमकल र एम्बुलेन्सको व्यवस्था गर्नु आवश्यक देखिन्छ ।
आगलागी हुनसक्ने अवस्था र जोखिमका बारेमा सर्वसाधारणलाई जानकारी गराउनुपर्दछ । सहरी क्षेत्रमा पनि आगलागीको जोखिम उत्तिकै हुने भएकाले दमकल छिर्न मिल्नेगरी बाटोघाटो तयार गर्ने वा गल्ली तथा चोकहरुमा वारुणयन्त्रहरुको व्यवस्था गर्नुपर्दछ । हावाहुरीले हरेक वर्ष ठूलो धनजनको क्षति गर्ने भएकाले सर्वसाधारणलाई यसको जोखिम, प्रभाव र सतर्क रहने उपायबारे सूचित गर्नुका साथै सरकारले पनि आवश्यक सामाग्री उपलब्ध गराउने, दमकल तथा एम्बुलेन्सको व्यवस्था गर्ने र सर्वसाधारणलाई जोखिममुक्त रहन आग्रह गर्नुपर्ने हुन्छ ।

