काठमाडौं । संघमा कांग्रेस र एमालेको गठनबन्धन सरकार भएपछि प्रदेश र स्थानीय तहमा पनि गठबन्धनकै आधारमा सरकार सञ्चालन गरिँदै आइएको छ । संघमा गठबन्धन भएपछि प्रदेशमा त हुने नै भयो । तर, पछिल्लो समय राजनीतिक प्रतिशोधका आधारमा स्थानीय तहमा पनि केन्द्रीय सत्ता गठबन्धनको असर परिरहेको छ ।
जनप्रतिनिधिमा केन्द्रीय गठबन्धनको असर परेसँगै कर्मचारीहरुमा पनि त्यो असर देखिएको छ । सरकारमा कांग्रेस र एमाले गठबन्धन भएसँगै पार्टीनिकट विभिन्न संघसंगठनमा पनि कांग्रेस र एमाले गठबन्धन गरेर अगाडि बढ्न थालेका छन् । कांग्रेस र एमाले गठबन्धनबाटै नेपाल पत्रकार महासंघको निर्वाचन सम्पन्न गरिएको छ भने आगामी चैत्र २० हुन लागेको नेपाल बार एशोसिएसनको निर्वाचनमा पनि कांग्रेस र एमालेले गठबन्धन गरेर अहिलेदेखि चुनावी प्रचारप्रशार गरिराखेका छन् ।
यो मेसोलाई हेर्दा आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पनि दुई ठूला दल कांग्रेस र एमालेले गठबन्धन नगर्लान् भन्न सकिँदैन । यदि जुनसुकै संघसंगठनको निर्वाचनमा दुई ठूला पार्टी एमाले र कांग्रेस गठबन्धन गरेर निर्वाचन लड्ने हो भने छुट्टाछुट्टै पार्टी किन चाहियो ? होइन भने गठबन्धन गरेर सरकार चलाए तापनि पार्टी संगठनको लागि शुभेच्छुक तथा अन्य संघसंगठनहरुमा छुट्टाछुट्टै निर्वाचन लड्नुपर्ने हो । तर, त्यसो नगरी पार्टीलाई समस्या परेको खण्डमा आवाज बुलन्द गर्ने नेपाल पत्रकार महासंघ, नेपाल वार एशोसिएसन जस्ता संस्थामा पनि दल गठबन्धन गरेर चुनाव लड्नु भनेको हार मनस्थितिको उपज हो ।
होइन भने विभिन्न संघसंगठनहरुमा गठबन्धन गरेर निर्वाचन लड्दा योग्य, दक्ष र पार्टीमा लामो योगदान गरेका व्यक्तिहरु पछि पर्ने देखिन्छ । त्यसले पार्टीभित्र विद्रोह सिर्जना भई गुटबन्दी झांगिने हुन्छ । गठबन्धनको नाममा शीष नेताका आसेपासेले मात्रै अवसर पाउँदा पार्टी संगठन दिनप्रतिनिद कमजोर बन्दै जाने देखिन्छ । यस्तो क्रियाकलापले कांग्रेस र एमालेभित्र लामो समय योगदान गरेका पुराना नेता, कार्यकर्ता पनि संगठनबाट बाहिरिने अवस्था सिर्जना हुन्छ । त्योसँगै पार्टी संगठन पनि ध्वस्त हुँदै जान्छ ।

