राजश्व छलीमा तलदेखि माथिसम्म सेटिङ

राजनीति समाचार

काठमाडौं । एमाले र कांग्रेसको गठबन्धनमा बनेको दुईतिहाई हाराहारी बहुमतको सरकारले देशको अर्थतन्त्र चलायमान बनाउन नसकेको आरोप लागिरहेको छ । सरकारले पनि भन्सार, राजश्व र कर कार्यालयमा राजश्व उठाउनको लागि पुरानो सरकारले नियुक्ति गरेका कर्मचारीलाई हटाएर नयाँ कर्मचारी पठाएको छ । सरकारले नयाँ जोश जागर सहितका कर्मचारी पठाउँदा पनि राजश्व अनुसन्धान विभाग, भन्सार विभाग र आन्तरिक राजश्व विभागले पुरानै शैलीमा काम गरिरहेको छ । नयाँ कर्मचारीबाट पनि पुरानै शैलीमा काम भएपछि राजश्व संकलनमा झन् कमी आउने देखिएको छ । प्रधानमन्त्री मातहतमा रहेको राजश्व अनुसन्धान विभागले पनि प्रर्याप्त मात्रमा राजश्व उठाउन सकेको छैन । त्यस्तै अर्थमन्त्रालय अन्तर्गत पर्ने भन्सार विभाग र आन्तरिक राजश्व विभागले पनि आसातित राजश्व उठाउन सकेको छैन ।

उद्योगी र व्यापारीले भन्सार र राजश्व छली गरेर अवैध रुपमा ट्रकका ट्रक सामान राजधानी भित्र्याउँदा पनि मालबहाक ट्रकमा दुई÷चार बोरा सामान ल्याएको देखाएर राजश्व छली गरिराखेका छन् । उद्योगी व्यापारीहरुले ल्याएको सामानमा दुई, चार बोराको राजश्व तिर्ने ठूलो मात्रामा राजश्व छली गर्ने गर्दै आएका छन् । उद्योगी, व्यापारीहरुले राजश्व मात्रै छली गरेका छैनन् विभिन्न अखाद्य सामग्री मिसावट गरेर विक्रीवितरण गर्दा सर्वसाधारणको स्वास्थ्यमाथि खेलवाड भइरहेको छ । खासगरी बढी राजश्व छली हुनेमा जुत्ता, मोबाइल, सुन, कपडा, काजु, पेस्ता, मरिच, प्याज, खेलाउना, कस्मेटिक लगायतका सामग्री पर्दछन् । यस्ता सामानमा राजश्व छली गर्न उद्योगी, व्यापारी र कर्मचारीसँगै राजनीतिक दलका नेता र सुरक्षाकर्मीहरुसमेत संलग्न हुने गरेको पाइन्छ ।

राजश्व छलीमा तलदेखि माथिसम्म सेटिङ चल्ने कारणले गर्दा सरकारले भनेजस्तो राजश्व उठाउन सकेको छैन । एकातिर यो यस्तो अवस्था छ भने अर्कोतिर विदेशी दाताले दिएको सहयोग पनि कटौती हुन थालेपछि देश दिनप्रतिदिन आर्थिक संकटमा फस्दै गएको छ । आर्थिक अभावकै कारण अधिकांश विकास निर्माणका कामदेखि सर्वसाधारणको दैनिकीसमेत ठप्प हुने अवस्था सिर्जना भएको छ । त्यसले गर्दा अधिकांश निर्माण व्यवसायीहरुले भुक्तानी पाएका छैनन् । निर्माण व्यवसायीले भुक्तानी नपाएकै कारण निर्माण क्षेत्रमा काम गर्ने मजदूरले पारिश्रमिक पाएका छैनन् । मजदूरहरुले पारिश्रमिक नपाउँदा बजारमा पैसाको अभाव खड्किँदै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *