काठमाडौं । म्यानमारमा शुक्रबार गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या एक हजार ६ सय भन्दा बढी रहेको छ ।
मानव अधिकारवादी राहत संस्था ओसिएचएका अनुसार न्यापितह, याङ्गुन र मान्डल्यको बीचमा सडक पनि भत्किएका कारण अझ बढी समस्या भएको छ। स्वास्थ्यकर्मीलाई टेन्टसहित अन्य धेरै मेडिकल सप्लायर्सको आवश्यकता समेत देखिएको छ।
धेरै जना अहिले पनि उद्धार कार्यमा सक्रिय नै छन्। सामग्रीको अभाव, सञ्चार नेटवर्कमा समस्या तथा खराब बाटोको कारण उद्धार कार्यमा कठिनाइ उत्पन्न भइरहेको छ।
दोस्रो ठुलो सहर माल्डल्यबाट १२ तले घरमा एक महिलाको पुरिएको ३० घण्टापछि उद्धार भएको छ। त्यस स्थानमा अझै ९० जना पुरिएका जनाइएको छ। उद्धारकर्ताले किन्डर गार्डेन रहेको घर भत्किदा १२ जना बालबालिकाको शव फेला पारेका छन्।

