सहकारी ठगीसम्बन्धी पर्साको मुद्दा विलम्ब प्रति लामिछानेको असन्तुष्टि

राजनीति समाचार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगीसम्बन्धी पर्साको मुद्दा विलम्ब गरिएको भन्दै त्यसप्रति असन्तुष्ट भएका छन् ।

लामिछानेविरुद्ध पर्सा जिल्लामा सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा मुद्दा रहेको छ । मंगलबार सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै उनले यससम्बन्धी अनुसन्धान लम्ब्याइएको आरोप लब्याएर दुःख दिइरहने हतियार बनाउन खोजेको असन्तुष्टि जनाएका छन् ।

कास्की, काठमाडौं, रूपन्देही र चितवन गरी चारवटा जिल्लामा सहकारीसम्बन्धी मुद्दा दर्ता भएर पनि लामिछाने चारैतिर धरौटीमा रिहा भइसकेका छन् । तर, वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दा भने अगाडि बढ्न सकेको छैन । यो विषयमा जिल्ला अदालत पर्सामा दुई पटक मुद्दा दर्ता भइसकेको छ । तर, अगाडि बढेको छैन ।

पहिलो पटक २०८० साल असोज २३ गते र दोस्रो पटक फागुन २ गते पूरक अभियोगका रूपमा लामिछानेविरुद्ध अर्को मुद्दा दर्ता भएको थियो ।

पाँचवटा जिल्लामा लगभग सँगसँगै अनुसन्धान सुरु भए पनि चार जिल्लामा मुद्दा दायर भइसकेर लामिछाने धरौटीमा छुटिसक्दा समेत पर्सामा भने विलम्ब भएको हो ।

चार जिल्लामा लामिछाने धरौटीमा रिहा भएपछि उच्च तहबाटै पर्सा प्रहरीलाई लामिछानेविरुद्धको मुद्दामा एक दुई वटा विषयमा थप अनुसन्धान गर्नू भन्ने निर्देशन भएको र त्यसकारण मुद्दा लम्बिएको टिप्पणी हुने गरेको छ । यही बेला लामिछानेले पनि मुद्दा लम्बिएको भनेर असन्तुष्टि जनाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *