‘भेटिने, देखिने र चिनेको सरकार’ स्थानीय तह हो : नगर–प्रमुख महर्जन

अन्तरवार्ता समाचार

तारकेश्वर नगरपालिकाका नगर प्रमुख हुन् कृष्ण हरि महर्जन । नेपाली कांग्रेसबाट नगर प्रमुखमा निर्वाचित महर्जन काठमाडौंका स्थानीयवासिन्दा हुन् । सधैं जनताको कामप्रति दत्तचित्त भएर लागिपर्ने उनी कर्मठ नेता, स्पष्ट वक्ताको रुपमा परिचित छन् । राजनीतिसँगै समाजसेवामा रुचि राख्ने महर्जन ‘कोखदेखि शोकसम्म’ नामक नागरिकमैत्री कार्यक्रम ल्याएर देशैभरको ७५३ वटा पालिकामध्येमा उदाहरणीय नगर प्रमुख बन्न सफल भएका छन् । उनै नगर प्रमुख महर्जनसँग स्थानीय तह सम्बन्धी केन्द्रित रहेर तामाकोशी शन्देशको लागि कालिका महतले गरेको कुराकानीको सम्पादित अंश :

नगरपालिकाको भर्खरै सम्पन्न १६औं हिउँदे नगरसभाबाट के/कस्ता जनतामैत्री योजनाहरु पारित गर्नुभएको छ ?
तारकेश्वर नगरपालिकाको भर्खरै १६औं नगर सभा सम्पन्न भएको छ । त्यो सभाले नगरवासीको लागि केही सुधारका कार्यक्रमहरु पारित गरेको छ । उक्त कार्यक्रमहरु छिट्टै कार्यान्वयको पक्षमा जान्छ । केही नीतिकार्यक्रममा समायोजन गर्ने कुराहरु अग्रभागमा जान्छन् । खासगरी तारकेश्वर नगरपालिकाले नगरवासीलाई प्रत्यक्ष रुपमा ‘घर–घरमा सिंहदरबार’ को अनुभूति दिनको लागि चाहे दुःखमा होस् चाहे सुखमा त्यसको लागि नगरपालिका साथमा छ भन्ने हिसाबले ‘कोखदेखि शोकसम्म’मा नामक एजेन्डा ल्याएका छौं । त्यसमा नगरवासीमा खुसीयाली छाएको छ ।

यो कार्यक्रमले नगरवासीमा सुख दुःखमा हामीसँग नगरपालिका छ भन्ने अनुभूति दिलाउँछ । ‘कोखदेखि शोकसम्म’ भन्ने कार्यक्रम अनुसार बच्चा जन्मँदा खुसियालीमा घर–घरमा पुग्ने हिसाबले ५ हजार रुपैयाँ दिने र ८० वर्षमाथिका जेष्ठ नागरिकहरुलाई मासिक २ हजार दिने सूचना सम्प्रेषण गरिएको छ । त्यसको लागि नगरवासीमा पत्राचार पनि गरेका छौं । त्योसँगै ‘कोखदेखि शोकसम्म’ भन्ने अवधारण अनुसार यस नगरपालिकाभित्र स्थायी बसोवास गर्ने प्रत्येक नागरिको घरमा शोक परेको खण्डमा घरमै गएर समावेदना दिने र पीडाको घडीमा १० हजार रुपैयाँ आर्थिक सहयोग दिने निर्णय गरेका छौं । नगरपालिकाले सञ्चालन गर्न लागेका यी तीनवटै कार्यक्रम आगामी बैशाख महिनादेखि कार्यान्वयनमा लाने योजना बनाएका छौं । कार्यक्रम कार्यान्वयन छिटो होस भनेर प्रक्रिया सुरु गरिसकिएको छ । ‘कसैको घरमा जन्म वा मृत्यू भयो भने त्यसको जानकारी वडा कार्यालयहरुलाई हुन्छ ।

यस्तै, प्रत्यक वडालाई ८० वर्ष पुगेका जेष्ठ नागरिकको विवरण तत्काल उपलब्ध गराउन सूचना जारी गरेका छौं । यी कार्यक्रमहरु २०८२ बैशाखदेखि नै लागु गराउन लागेका छौं । यी कार्यक्रमहरु ल्याइरहँदा नगारवासीहरुमा खुसियाली छाएको छ भने कतिपयबाट यस्तो सुविधा गरीव र निमुखा वर्गलाई मात्र लक्षित गरेर दिेने कि भन्ने सुझावहरु पनि आइरहेका छन् । भने कतिपयबाट करीवलाई मात्रै हो भन्ने भनाइहरु आइरहेका छन् । गरीव धनिभन्दा सम्मानपूर्वक सम्पूर्ण नागरिकलाई सहयोग गर्ने नीतिअन्तर्गत कार्यक्रम अगाडि बढाउने निर्णय गरिएको छ । तारकेश्वर नगरपालिकाले ल्याएको ‘कोखदेखि शोकसम्म’ कार्यक्रमले राम्रो फिडब्याक पाइरहेको महसुस गरेका छौं । यो कार्यक्रम ल्याउनेमा देशभरका ७५३ पालिकामै तारकेश्वर पहिलो नगरपालिका हो । त्यसरी पनि लागु गर्ने हिसाबले हामीहरु अगाडि बढिरहेका छौं । नगरसमितिले यो दिने निर्णय गरेको त्यही अनुसार अगाडि बढेका छौं ।

नयाँ कार्यक्रम त ल्याउनुभयो त्यसको लागि बजेटको व्यवस्थापन कसरी गर्नुहुन्छ ?
यी तीनवटै कार्यक्रमको लागि बजेटको अभाव त्यति छैन । त्योसँगै हामीसँग आन्तरिक स्रोत पनि बन्ने नै छ । ८० वर्षमाथिका नागरिकहरु ८० देखि ११० सम्मको संख्यामा होलान् । ती प्रत्येक जेष्ठ नागरिकलाई मासिक २ हजारको दरले दिँदै गर्दा ५ देखि १० लाखसम्मको कुरा भयो । अर्को कोखमा भएको र शोकमा परेका अथवा जन्म र मृत्यु भएका नागरिकलाई सहयोग गर्ने हकमा आवश्यक बजेट विनियोजन गरेर लागु गर्ने छौं ।

जो ६८ वर्षदेखि सामाजिक सुरक्षा भत्ता पाउँदै आएका जेष्ठ नागरिक छन् उनीहरुले ८० वर्ष नाघिसकेपछि नगरपालिकाबाट २ हजार थप पाउने हुन् ?
त्यो ६८ वर्ष उमेर पुगेका प्रत्येक जेष्ठ नागरिकहरुले सरकारबाट दिँदै आएको सामाजिक सुरक्षा भत्ता छुट्टै हो । तारकेश्वर नगरपालिकाले ८० वर्षमाथिका जेष्ठ नागरिकलाई मासिक रुपमा २ हजार सम्मान स्वरुप दिने भत्ता छुट्टै हो । त्यो सरकारले दिँदै आएको जेष्ठ नागरिक भत्ता भयो । यो नगरपालिकाले सम्मान स्वरुप दिने भत्ता हो ।

अधिकांश स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुले जनताको हितमा काम गरेनन्, सर्वसाधारणलाई सुविधा दिनुभन्दा मिलेमतोमा कमाउधन्दा चलाए भन्ने गुनासाहरु आइरहँदा तपाईँ चाहीं कसरी यतिराम्रो जनमुखी कार्यक्रम ल्याउन सफल हुनुभयो ?
डेमोक्रेटिक हिसावले सम्पूर्ण नगरवासीबीच स्थानीय सरकारको अनुभूति हुने गरी काम गरौ भनेर यो अवधारणा ल्याएका छौं । म अहिले बिहान तपाईँसँगै कुराकानी गरिरहँदा पनि यस तारकेश्वर नगरपालिकाको वडा नम्बर ४, ५ र ३ का वडावासीहरुसँगै छु । यस्तो खाले सामाजिक उत्तरदायित्वको काममा समावेसिताको हिसाबले सबैको सहभागिता र उत्तरदायित्व हुनुपर्छ । यहाँ भौतिक संरचना र विकास निर्माणको कुरा मात्रै होइन । यो समाजलाई नगरपालिकाले के दियो ? भन्ने विषयलाई मध्येनजर गरेर हामीले यो कार्यक्रम अगाडि ल्याएका हौं । सोही अनुरुप काम गर्ने उद्देश्यले नगरपालिका अन्तर्गतका वडावासी आमा, बुबा, दाजुभाइ दिदीबहिनीबीच हातेमालो गर्दै आगाडि बढेका छौं । यस्ता कार्यक्रमहरु सफल बनाउने काम नगरवासीको पनि हो, हामी त्यसै गरी काम गरिराखेका छौं ।

यतिबेला अधिकांश स्थानीय तहमा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतबीच विचार नमिल्दा विकास निर्माणका काम रोकिनुका साथै कर्मचारीले तलब पनि खान पाएका छैनन् भन्ने गुनासो आइरहेको छ तपाईंको नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत अभाव भएन ?
प्रमुख प्रशासकीय अधिकृतले व्यवस्थापन गर्ने कुरा हो । तपाईंले भनेजस्तो जनप्रतिनिधि र कर्मचारीबीच विचार नमिलेको कारण विकास निर्माणदेखि सर्वसाधारणको काम रोकिएको अवस्था छैन । र, जनप्रतिनिधि र कर्मचारीबीच कुनै खटपट भएको अवस्था पनि छैन । त्योसँगै यस नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत लगायत कर्मचारी अभाव भएको अवस्था पनि छैन । काम गर्दा देखिएका सानातिना समस्याहरु आपसी समझदारीमा समाधान गरेर अगाडि बढेको अवस्था छ । अहिलेसम्म कर्मचारी अभाव छैन, अभाव भएको खण्डमा हामी प्रदेश सरकारसँग माग गरेर परिपूर्ति गर्छौं ।
केही पालिकाहरुमा त प्रमुख प्रशासकीय अधिकृत अभावले कर्मचारीले तलब पनि खान पाएका छैनन् भनिन्छ नि कसरी त्यस्तो भयो ?
अन्य पालिकाको समस्या मलाई थाहा छैन । त्यसको समाधान उहाँहरुले नै गर्नुहुन्छ होला । तपाईंले तारकेश्वरको कुरा गरिरहनुभएको छ, मेरो नगरपालिकामा त्यस्तो समस्या छैन ।

जनस्वास्थ्यको बारेमा कस्तो योजना ल्याउनुभएको छ ?
स्वास्थ्यको हिसाबले हामीले डाइलोसिस सेवाको सुरुआत गरेका छौं । नगरवासीको स्वास्थ्यलाई ख्याल गरेर विभिन्न कार्यक्रमका साथ अगाडि बढिरहेका छौं । नगरस्तरीय हस्पिटल बनाउन लागिपरेका छौं । त्यसको लागिको लागि स्थानीय स्वास्थ्य नीति बनाएर अगाडि बढिरहेको अवस्था छ ।

नगरवासीले सुशासनको अनुभूति गरेको पाउनुभएको छ ?
सुशासनको हिसावले तारकेश्वर नगरपालिका काठमाडौंकै पहिलो हो । त्यसमा म ठोकुवा नै गरेर भन्न सक्छु । तपाईंले पनि त्यो पाउनुहुने छ । यहाँ सुशासन छ कि छैन भन्ने कुरा खोज्नुभयो भने काठमाडौं जिल्लाकै पहिलो नगरपालिका भएको तपाईंले पाउनुहुने छ । त्यसको बारेमा नगरवासीसँग बुझ्नुभयो भने छर्लङ्ग हुन्छ ।

विकास निर्माणमा बाटो, बिजुली, खानेपानीेमध्ये केमा खड्किएको पाउनुहुन्छ ?
विकास निर्माणको बारेमा भन्नुपर्दा स्थानीयवासीहरुले धेरै कुराको अपेक्षा गरेका हुन्छ । साधन स्रोतहरु सीमित रहेका हुन्छन् । त्यसको बाबजुद भूगोल र जनताको आवश्यकतालाई मध्येनजर गरेर हामीले विकासका कार्यक्रमलाई अगाडि बढाएका छौं ।

जनताले अनुभूति गर्ने नजिकको सरकार स्थानीय तह हो ?
हो । ‘भेटिने, देखिने र चिनेको सरकार’ स्थानीय तह हो । नागरिकहरुलाई भैपरी आउने आपत विपतलगायत जस्तोसुकै समस्या पर्दा तुरुन्तै भेटिने सरकार स्थानीय तह हो । त्यसैले स्थानीय तह घरको सरकार हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *