वैदेशिक रोजगार व्यवसायी संघ गुरुङको कब्जा

राजनीति समाचार

काठमाडौं । गत चैत २९ गते शुक्रवार सम्पन्न भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा नेपाली कांग्रेस निकट भुवनसिंह गुरुङको प्यानल विजयी भएको छ भने नेकपा एमाले निकट नरेश गेलालको प्यानल केही पदबाहेक पराजित भएको छ । गेलाल प्यानबाट तृतीय उपाध्यक्ष वैकुण्ठ प्रसाद पौडेल (वैभव) र कोषाध्यक्षमा धनमाया सिंजाली पदाधिकारीमा विजयी भएका छन् भने सदस्यमा दुई जना निर्वाचित भएका छन् । एक हप्ताभन्दा बढी विभिन्न होटेल, रेष्टुरेन्ट र पार्टी प्यालेसमा बेलुका ४ बजेदेखि राति ११ बजेसम्म भोजभतेरमा जुटेका दुवै प्यानलले करोडौंभन्दा बढी खर्च गरेका छन् ।

हप्ताबढी चलेको चुनावी प्रचारप्रसार र भोजभतेरमा कांग्रेस निकट भुवनसिंह गुरुङ प्यानलले सधंै दारु पार्टीको व्यवस्था गरेको थियो भने एमाले निकट नरेश गेलाल समूहले खासै दारु पार्टीको व्यवस्था गरेको थिएन । चुनाव प्रचारका क्रममा दुवै प्यानलले आसपास पारेर कार्यक्रम राखेका थिए । त्यसमा सहभागी मतदाताहरु कुन प्यानलको भोजभतेर मिठो र मदिराको व्यवस्था छ भनेर यता र उता दौडधूप गरेको देखिन्थ्यो ।

तर, प्रगतीशील प्यनलले अन्तिम दिन मात्रै दारुपानीको व्यवस्था गरेको थियो भने लोकतान्त्रिक समूहका भुवनसिंह गुरुङ प्यानलले भने उम्मेदवारी घोषणा गरेको दिनदेखि नै दारुपानीको व्यवस्था सधंै गरेको थियो । नरेश गेलाल समूहका मतदाताहरु ‘निर्वाचनको बेला त दारुपानीको व्यवस्था गरिएको छैन भने यिनले कसरी संघ चलाउन सक्छन, बरु भुवन दाइले दारुपानीको राम्रो व्यवस्था गरेका छन् हामी पनि उतै लाग्नुपर्छ कि भन्दै थिए । नभन्दै मतदाता गुरुङतिरै मोडिएको निर्वाचन परिणामले देखाएको छ । अब जुनसुकै राजनीतिक दलको भ्रातृ तथा शुभेच्छुक संघसंगठनको निर्वाचनमा पैसा, पावर र दारुको राम्रो व्यवस्था गर्न नसक्ने उम्मेदवारको गुन्जायस हुने छैन ।

जुनसुकै पार्टीभित्र पनि सिद्धान्त, निष्ठा र आदर्श हराउँदै गएको छ । पार्टीभित्र कुनै भूमिका होस् या नहोस् तर चुनावका बेला तामझाम गर्न सक्ने व्यक्तिले मात्रै निर्वाचन जित्ने परिपाटी सबै राजनीतिक पार्टीभित्र हावी भइसकेको छ । त्यो परिपाटीले गर्दा वैदेशिक रोजगारी व्यवसायीको निर्वाचनमा गुरुङ र गेलाल दुवै समूहमा कांग्रेस, एमाले, माओवादी, समाजवादीलगायत मधेसवादी दलहरुको समिश्रण थियो । तर, दुवै समूहबाट कांग्रेस निकट उम्मेदवार गुरुङ प्यानलले फाइदा लिएका छन् । वैदेशिक रोजगार व्यवसायीसंघ कांग्रेसकोे कब्जामा पुगेको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पहिलाका जस्तै विचौलियासँग मिलेमतो गरी मानव तस्करीको अखडा बनाउँछ कि व्यवसायीको हकहितमा काम गर्छ त्यो हेर्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *